एमाले नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित

काठमाडौं : नेकपा एमालेले पार्टी हित र विधान विपरीत काम गरेको भन्दै नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ। स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि एमालेले पाण्डे र भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो । चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति बैठकले माधव कुमार नेपाल, भीम रावल , सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टी हित विपरित काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सोही अनुसार चैत ८ गते महासचिव ईश्वर पोखरेलले चारैजनालाई स्पष्टीकरणको पत्र थमाएका थिए। यसअघि अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । ओलीले सोधेको स्पस्टीकरणमा नेपालले उल्टै ‘तपाईँमाथि कारबाही किन नगर्ने ‘भनेर ओलीलाई नै स्पस्टीकरण सोधेपछि ओली र नेपालबीचको सम्बन्ध थप बिग्रिदै गएको छ। पाण्डे र भुसालले मंगलबारमात्रै स्पष्टीकरण बुझाएका थिए । पछिल्लो समय पार्टीभित्र विवादले तीव्र रुप लिएपछि अध्यक्ष ओलीले नेताहरुलाई कारबाही सुरु गरेका छन्।
प्रतिक्रिया