हेलचेक्र्याइँले ह्वात्तै बढ्यो कोरोना संक्रमण

हेलचेक्र्याइँले ह्वात्तै बढ्यो कोरोना संक्रमण

काठमाडौं : हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो।लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन ज्येष्ठ नागरिकको ज्यान गएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रूपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक/एक जना संक्रमितको मृत्यु भएको हो।

कोरोना संक्रमणका साथै अन्य दीर्घरोगसमेत रहेको अस्पतालले जनाएको छ। यस्तै, कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा ८ जनाको मृत्यु भएको र ५ जनाको मृत्यु विवरण अद्यावधिक गरिएको जनाएको छ।चैत तेस्रो सातासम्म दैनिक संक्रमितको संख्या औसत डेढ सय हाराहारी थियो। तर, सोमबार ५ सय ५९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। जसमध्ये २४ वर्षमुनिका संक्रमितको संख्या १८ छ। मन्त्रालयका प्रवक्ता  डा. जागेश्वर गौतमले संक्रमणदर वृद्धि भइरहेका कारण भीडभाड एवं जमघट गर्नु घातक हुने बताए। ‘संक्रमणको अवस्थालाई आकलन गरेरै २५ जनाभन्दा बढी व्यक्ति जमघट तथा भेला हुने कार्यक्रम सबै बन्द  गर्नुपर्छ भन्ने नै हाम्रो प्रस्ताव हो’, प्रवक्ता डा. गौतमले भने।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा यूके भेरियन्टको बढ्दो अवस्थालाई आकलन गर्दै १० बुँदे सुझाव कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा पेस गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको सर्भिलेन्समा काठमाडौं, पोखरालगायत स्थान र केही विद्यालयमा संक्रमण बढ्दो क्रममा रहेकाले तीन सातासम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको छ।त्यस्तै, बढी भीडभाड र जोखिम बढ्ने स्थान (सपिङ मल, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल र मन्दिरलगायत धार्मिक स्थल)मा मापदण्ड पालनामा कडाइ गर्ने वा बन्द गर्नुपर्ने सुझावसमेत मन्त्रालयले दिएको छ। अहिले मुलुकभर ३ हजार ३ सय ६ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले संक्रमण पुष्टि हुनेमा कोरोना भाइरस एस जिन नेगेटिभ भेरियन्टको मात्रा बढ्दो रहेको बताए। ‘पहिले ५० वर्षमाथिका संक्रमित बढी थिए। ५० वर्षमुनिका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता हुनुपर्ने हो। तर, यही उमेरमा संक्रमण बढ्दो छ’, निर्देशक डा. पौडेलले भने।काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लामा संक्रमण बढ्दो देखिएको छ। अन्य प्रदेशको तुलनामा बाग्मती र लुम्बिनीमा संक्रमण बढेको छ। पछिल्लो चौबिस घण्टामा बागमतीमा २ सय ३५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा सबैभन्दा बढी १ सय ५९ जना संक्रमित थपिएका हुन्।  त्यस्तै, ललितपुरमा ४४, भक्तपुर र चितवनमा ८/८ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

लुम्बिनी प्रदेशमा एकै दिन १ सय २२ संक्रमित थपिएका छन्। भारतीय सीमासँग जोडिएका जिल्लामा संक्रमित बढी पाइएका छन्।  बाँकेका ४१ र रुपन्देहीका २९,  दाङका  २४, बर्दिया र कपिलवस्तुका ७/७ जनामा कोरोना पुष्टि भएको हो।गत २४ घण्टामा प्रदेश १ मा ३२, प्रदेश २ मा ४४, गण्डकीमा ३६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा ६ जना छन्।

भारतमा रोजगारी गरेर बसेकाहरू घर फर्किन थालेकाले संक्रमितको संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले बताए। ‘कुन जिल्लाबाट भारतमा रोजगारीका लागि गएका छन् भन्ने रेकर्ड केलाएर कम्तीमा एउटा नाकाबाट स्वदेश छिर्न पाउने व्यवस्था बनाउनुपर्छ। रोजगारीका लागि बिदेसिएकाहरू यकिन गरी एक वा सोभन्दा बढी नाका खुला राखेर तत्कालै व्यवस्थित  र  निगरानी  गर्नुपर्छ’, डा. प्याकुरेलले भने। सरकारले केही नाका सिल गर्ने र निश्चित नाका मात्र खुला घोषणा गर्नुपर्ने डा. प्याकुरेलको सुझाव छ।

भारतमा पछिल्लो चौबिस घण्टामा १ लाख ६८ हजार संक्रमित थपिएका छन्। कतिपय स्थानमा रात्रिकालीन कफ्र्यु लगाए पनि संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले छिट्टै लकडाउन घोषणा गरिने जानकारी पत्रकार सम्मेलनमा दिएका छन्। महाराष्ट्रमा मात्रै दिनहुँ ५० हजार भन्दा बढी संक्रमित थपिने गरेका छन्। भारतबाट स्वदेश फर्केका व्यक्तिमा पछिल्लो चौबिस घण्टाभित्र गरिएको एन्टिजेन परीक्षणका क्रममा कञ्चनपुरको त्रिनगरमा ५४ र गड्डाचौकीमा ७ तथा मोरङको रानीमा र बाँकेको जमुनाह नाकामा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया