फरक ‘हर्कत’ देखाउँदै कोरोना !

फरक ‘हर्कत’ देखाउँदै कोरोना !

काठमाडौँ : कोरोनाको विश्लेषण गर्दा युरोप तथा अमेरिकामा कोरोनाको उतारचडावले निरन्तरता पाइरहेको देखिन्छ । यो विश्वकै वैज्ञानिकहरुका लागि चाखलाग्दो, अनुमान विपरीत तर चिन्ताको विषय हो । नेपालमा झन्डै दुई दशक निरन्तर संक्रामक रोगहरुलाई नजिकबाट नियालिराख्दा हाल कोरोनाले देखाइरहेका गुणहरु भने अन्यभन्दा निकै फरक छन् ।फरक भन्नाले छोटो समयमा उमेर समूह परिवर्तन गर्ने, नयाँ नयाँ लक्षणहरु देखिने/थपिने, तीव्रता तथा घातकतामा फरक देखाउने, पीसीआर परीक्षणमा चुनौती (जीनहरु अदृश्य हुने) दिने र आफ्नै स्वरुपलाई (जीनलाई) निरन्तर परिवर्तन गर्ने आदीलाई भन्न खोजिएको हो। केहि दिनयता बालबालिका विशेषत: विद्यार्थीहरुमा कोरोना फैलिँदै गएको जानकारीहरु सार्वजनिक हुँदै आइरहेको छ । अभिभावकहरुमा पनि त्रास छ । हाल विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्ने बहसले प्रमुखता पाएको देखिन्छ । कुनैपनि ठाउँमा मानिसहरुको जमघट हुन्छ भने त्यो कोरोना फैलनका लागि उपयुक्त वातावरण मानिन्छ । यसैलाई आधार मानेर हेर्दा शिक्षण संस्थाहरुमा जनस्वास्थको मापदण्डहरु अपनाउन असफल वा कमजोरी भएमा कोरोना एक विद्यार्थीबाट अर्कोमा सर्न सक्ने जोखिम रहन्छ । र संक्रमण अन्तत: परिवारका अरु सदस्यहरुसम्म पुग्ने सम्भावना रहन्छ । हाल कोरोना बालबालिकामा फैलिएको हो वा फैलिने वातावरणको कारण बढेको हो भन्ने यकिन भएको छैन । यदि कोरोना पहिलो लहरमा भन्दा हाल बालबालिकामा संक्रमण बढी देखिन थालेको हो भने विद्यालय नजाने बालबालिका के कति संक्रमित भएका छन् अध्ययन गर्न जरुरी छ । किनभने कोरोना हाल समुदाय स्तरमा रहेको हुनाले अभिभावक मार्फत बालबालिकामा संक्रमण भइरहेको पनि हुनसक्छ ।

गत वर्ष कोरोना संक्रमण उकालो लाग्दै गर्दा शिक्षण संस्थाहरु बन्द थिए । तसर्थ शिक्षण संस्था जाने र नजानेबीच संक्रमणको आक्रमकता छुट्याउन सकिएको थिएन । यदि शिक्षण संस्थामा जाने र नजानेबीच संक्रमण फैलिरहेको दर उस्तै देखिए हालको कोरोना भाइरस अघिल्लो लहरभन्दा आक्रामक नै भएको अनुमान गर्न सकिनेछ । यस्तो नयाँ “हर्कत” देखिँदा भाइरसमा स्वरुप परिवर्तन भएको अनुमान गर्न सकिन्छ । झन्डै तीन महिना अगाडि नेपालमा यूके भेरियन्टको कोरोना भाइरस प्रवेश भएको पाइए पनि हालसम्म समुदायमा यसको प्रभावको बारेमा भने अधिकारिक जानकारी छैन । यूके भेरियन्ट बालबालिकामा आक्रामक देखिएको भए पनि मृत्युदर भने बढी नहुने अनुसन्धानहरुले देखाएका छन् । यद्यपी नेपालमा संक्रमित बालबालिकामा कस्तो नतिजा देखिन्छ आगामी दिनहरुमा सार्वजनिक हुने नै छ । पीसीआरमा “एस जीन” नेगेटिभ देखिने क्रम बढेकोले यूके भेरियन्ट व्यापक फैलिरहेको अनुमान गरिएको छ । तर यसको निर्क्यौल जेनोमिक सिक्वेन्सिङ गरेपछि मात्र गर्न सकिन्छ ।

सुरुवाती समयमा ज्वरो आउने, स्वासप्रस्वासमा अवरोध देखिए तथा खोकी लागेमा कोरोनाको लक्षण हुनेसक्ने मानिन्थ्यो । र कसैलाई त्यस्ता लक्षण देखिए स्वस्थाकर्मीसँग परामर्श वा उपचारको लागि अनुरोध गरिन्थ्यो । तर, नेपालमा पहिलो लकडाउन अगाडिसम्म झन्डै ९९ प्रतिशत संक्रमितहरुमा लक्षण नै देखिएन । त्यस्तो अवस्थालाई मैले “साइलेन्ट कोरोना” को उपनाम दिएको थिएँ । वास्तवमा, सो समयमा नेपालमा “साइलेन्ट कोरोना” भाइरस संक्रमितबाट नै संक्रमण फैलिएको थियो । लामो समयपछि विशेषत: पहिलो लकडाउनपछि मात्र लक्षणहरु देखिन सुरु भएको थियो । अचानक लक्षणसहितको कोरोना संक्रमित देखिँदा भाइरसको स्वरुपमा परिवर्तन भएको आशंका मैले गरेको थिएँ । हाल ढिलाइ भएपनि भाइरसले गुण परिवर्तन गरे/नगरेको पत्ता लगाउने जेनोमिक सिक्वेन्सिङ प्रविधिको आवश्यकता महसुस गरी जडान गर्ने प्रक्रियामा रहेको देखिन्छ । यो प्रविधि २१ औं शताब्दीमा देखिन सक्ने नयाँ नयाँ संक्रमणहरुको अध्ययन/जानकारी, अनुसन्धान तथा नियन्त्रणको रणनीति बनाउन सहयोगी हुनेछ ।

कोरोनाको पहिलो लहर तीव्र हुँदै जाँदा संक्रमितहरुमा स्वाद तथा गन्ध थाहा नपाउने थप लक्षणहरु देखा परेका थिए । वास्तवमा, यी लक्षणहरु (स्वाद र गन्ध थाहा नपाउने) फ्लू तथा अरु भाइरल रुघाखोकीबाट छुट्याउन महत्वपूर्ण हुने गरेको थियो । किनभने कोरोना, फ्लू तथा अरु भाइरल रुघाखोकीको लक्षणहरु एक अर्कासँग धेरै हदसम्म मिल्दोजुल्दो हुने गर्दछ । पछिल्लो समय संक्रमित बालबालिकामा वान्ता हुने समस्या देखिने गरेको बताइएको छ । यद्यपी यस्तो समस्या र कोरोना भाइरसबीचको सम्बन्धका बारेमा अनुसन्धान हुन जरुरी हुन्छ । त्यस्तै, बालबालिकामा पछिल्लो पटक “मल्टी इन्फ्लामेटोरी सिन्ड्रोम” स्वास्थ्य समस्याको कारण धेरै अस्पताल भर्ना भइरहेका खबरहरु आइरहेका छन् । जुन कोरोनाको सुरुवाती समयमा देखिएको थिएन । कोभिड-१९ को उपचार पश्चात धेरैलाई स्वास्थ समस्या सकियो होला भन्ने लागेको थियो । तर यसको ठिक विपरित केहीमा भने निरन्तर स्वास्थ समस्याले गाजी नै रहेको देखियो । यसलाई “लंग कोभिड”को नाम दिइएको छ ।

विश्वमा कोरोना भाइरसका नयाँ भेरियन्टहरु देखिने क्रम जारी छ । जुन प्राकृतिक र स्वाभाविक पनि हो । तर केहि भेरियन्टहरु भने अघिल्लो भाइरस भन्दा तीव्र गतिमा फैलिने वा घातक हुने वा रोग प्रतिरोधात्मक प्रणालीलाई छल्न सक्ने क्षमता क्रमिक रुपमा विकास गरेका देखिन्छन् । जुन प्रमुख चासो र चिन्ताको विषय हो । यस्तो अवस्थामा भाइरस पत्ता लगाउन कठिन हुने, उपचारमा समस्या देखिने, र अझ महत्वपूर्ण कुरा भनेको हाल उपलब्ध खोपहरुको प्रभावकारितालाई समेत चुनौती दिनसक्ने देखिन्छ । हाल वैज्ञानिकहरुको लागि पनि कोरोनाको स्वरुपमा निरन्तर परिवर्तन देखिनु नै टाउको दुखाइको कारण भइरहेको छ । नेपालमा पनि कोरोना भाइरसको चक्र एक वर्षदेखि निरन्तर देखिरहँदा स्वरुप अथवा जीनमा परिवर्तन भइरहेको हुनुपर्दछ । अर्थात् “नेपाली भेरियन्ट” को कोरोना भाइरस विकास नभएको होला भनेर भन्न सकिने अवस्था देखिँदैन वा अहिले नभएको रहेछ भने पनि आगामी दिनहरुमा नदेखिएला भन्न सकिँदैन । तथापी भाइरसमा देखिने स्वरुप परिवर्तनको अवस्था थाहा पाउन बेला बेलामा जेनोम सिक्वेन्सिङ गरिरहनुपर्छ ।

हाल कोरोना संक्रमणको कारणले अस्पताल भर्ना हुने उमेर समूहमा पनि परिवर्तन आएको देखिन्छ । बालबालिका मात्र होइन युवाहरु पनि संक्रमित भई अस्पताल भर्ना हुने गरेको दैनिक तथ्यांकको बढ्दो संख्याले पनि देखाउँदछ । जति अस्पताल भर्ना हुनेको संख्या बढ्छ, त्यति नै मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहने गर्छ । हाल ल्याइएका खोपको प्राथमिकतामा युवाहरु सबैभन्दा पुछारमा परेको देखिन्छ । थप खोप ल्याउने मिति यकिन नहुँदा अन्योल बढेको छ । त्यसैले पनि कोरोनाको दोस्रो लहरको चपेटामा धेरैजना पर्ने देखिन्छ । कोरोनाको पहिलो लहरमा युवा समूह संक्रमित हुने गरेका थिए । तर मुख्यतः जेष्ठ नागरिक र दीर्घरोगीहरु अस्पताल बढी भर्ना र सो समूहमै मृतकको संख्या बढी थियो । हाल समुदायमा ठूलो संख्याले खोप लगाउन नपाएकाले दोस्रो लहरमा पनि जेष्ठ नागरिक तथा दीर्घरोगीहरु कोरोनाको जोखिममा धेरै टाढा भने छैनन् । अन्तमा, गएको वर्ष कोरोनासँग भएको युद्धबाट सिकेका अनुभवहरु हाल दोस्रो लहर संघारमै आइपुग्दा तुरुन्तै व्यवहारमा लागू गर्नुपर्दछ । तर कोरोना भाइरस मानिसभन्दा एक कदम अगाडि देखिन्छ । भाइरसले नौलो ‘हर्कतहरु’ देखाउने क्रम जारी राखेको छ । तसर्थ विगतमा नियन्त्रणका लागि गरेका विभिन्न प्रयासहरु बाहेक थप नौलो तथा अप्रत्यासित चुनौतीको सामना गर्न सतर्क र तयार हुन जरुरी देखिन्छ । कान्तिपुरबाट साभार गरिएकाे ।

डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

प्रतिक्रिया