दैलेखमा भारतबाट आएका एक जना सहित ४ जनामा कोरोना पुष्टि

दैलेखमा भारतबाट आएका एक जना सहित ४ जनामा कोरोना पुष्टि

दैलेख : दैलेखमा पछिल्लो दुई दिनमा चार जना संक्रमित भेटिएका छन् । कोरोना संक्रमण दर उच्च रहेको छिमेकी मुलक भारतबाट आएका एक जना पुरुष सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो सातामात्रै भारतको गुजरातबाट दैलेख आईपुगेको भैरबी गाउँपालिकाका ३० बर्षीया पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनलाई दैलेख सदरमुकामस्थित दैलेख अस्पतालको आइसोलेसनमा राखेर उपचार भईरहेको छ । ‘ती पुरुषलाई बिहिवार अक्सिजन दिएर उपचार गरिएको थियो, निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले भने ‘आज भने स्वास्थ्यमा सुधार आएको छ ।’
यस्तै काठमाडौंबाट दैलेख आएका नारायण नगरपालिकाका एक जनामा संक्रमण देखिएको रेग्मीले बताए । त्यसैगरी चामुण्डाविन्द्रासैनी नगरपालिकाका दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । चारै जनाको एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रेग्मीले बताए । कुनै बेला कोरोनाको रेड जोन बनेको दैलेखमा पुन कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सेवा कार्यालय दैलेखले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भिडभाड नगर्न र सुरक्षित रहन आग्रह गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय दैलेखले २५ जना भन्दा बढि व्यक्तिहरु भेला जम्मा हुने गरी अनावश्यक रुपमा मेला, महोत्सब तथा भोज भतेर लगाएतका गतिविधि नगर्न भनेको छ । प्रशासनले विकास निर्माणका गतिविधि सञ्चालन हुने स्थल, बसपार्क, बजार क्षेत्र लगाएत भीडभाड हुने स्थानमा स्वास्थ्य सुरक्षा सर्तकता सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिसकेको छ ।

प्रतिक्रिया