राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्‍वासको मत लिने

राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्‍वासको मत लिने

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । बजेट अधिवेशन बोलाउनुपर्ने भए पनि आफूलाई प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट पार्न प्रधानमन्त्रीले आवश्यक ठानेको भनेर सिफारिस आएकाले राष्ट्रपतिले प्रतिनिधिसभाको मात्रै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

‘नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०७८/१/१९ को सिफारिसमा सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठान्नु भएकोले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबारका दिन अपरान्ह १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नु भएको छ,’ घिमिरेले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले आफूमाथिको अन्योलता हटाएरमात्रै अघि बढ्नुपर्ने धारणा राखेको सहरी विकासमन्त्री प्रभु साहले बताए । संसद्को विश्वासको मत लिएपछि बजेट अधिवेशन आह्वान गर्ने निर्णय लिइने उनको भनाइ थियो ।

प्रतिक्रिया