माओवादीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझायो

माओवादीले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा बुझायो

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बिहान संसद सचिवालयमा पत्र बुझाउँदै  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। माओवादीले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन्। यसअघि मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।  संविधान मिचेर प्रधानमन्त्री ओली निरंकुश बाटोमा लागेको माओवादी केन्द्रले बताएको छ।

२०७४ फागुन ३ गते प्रधानमन्त्री ओलीलाई माओवादीले समर्थन दिएको थियो। संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन्।

प्रतिक्रिया