स्वास्थ्य मन्त्रालयले भन्यो : हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैन

स्वास्थ्य मन्त्रालयले भन्यो : हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैन

काठमाडौं : कमिसनको चक्करले कोरोनाको खोप अड्किएको विषयले सिंगो मुलुक नै तरंगित भइरहेका बेला यसको जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालय ‘पानीमाथिको ओभानो’ बन्दै कर्मचारीबाट खण्डन विज्ञप्ति आएको छ। 

कोरोना संक्रमणको महामारीले मुलुक आक्रान्त भएर नागरिकहरू छटपटाइरहेका बेला सरकार भने खोप खरिदको कमिसन किचलोमा अल्झिएको छ। नागरिकको जीवनसँग जोडिएको यति संवेदनसिल विषयमा भइरहेको खेलवाड र राजनीतिक तहको अकर्मण्यताको चर्को आलोचनासहित सबैतिरबाट प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले शुक्रबार एउटा विज्ञप्ति निकालेर यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संलग्न नरहेको स्पस्ट पारेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई कुनै अपजस नआउने गरी यस्तो विज्ञप्ति तयार गर्न लगाइएको हो।

विज्ञप्तिमा भनिएको छ,कोभिडशिल्ड खोप खरिदका सम्बन्धमा स्वास्थ्यसेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारमा सत्यता नरहेको जानकारी गराइन्छ।’

राष्ट्रिय चासो र र चिन्ताको यति संवेदनसिल विषयमा प्रधानमन्त्री र स्वास्थ्यमन्त्री संलग्न नरहेको दाबीसहितको यो विज्ञप्ति आफैमा हास्यासपद देखिन्छ। खोप खरिदमा भएको कमिसन चक्करबारे छानबिन गरेर खोप छिटो ल्याउन युद्धस्तरमा पहल गर्नुको सट्टा कर्मचारीलाई विज्ञप्ति निकालेर लाज छोप्ने प्रयास भएको छ।

नेपालले भारतको सिरम इन्स्टिच्युटबाट फागुनको पहिलो हप्ता नै २० लाख खोप खरिद गरेको थियो।  १० लाख खोप आइसकेको छ। पैशा दिइसकेको १० लाख खोप आउन बाँकी छ। थप ५० लाख खोप खरिद गर्नका लागि एक महिना पहिले नै अघि बढाएको फाइल पनि अहिले रोकिएको छ। कमिसनको किचलोले रकम भुक्तानी भइसकेको १० लाख खोप आउन सकेको छैन भने थप ५० लाख खोप ल्याउने प्रक्रिया पनि अल्झिएको छ।  ६० लाख खोप समयमै आइपुगेको भए धेरै नागरिकको ज्यान जोगिने अवस्था हुने विज्ञहरूले बताएका छन्। बिचौलियाले कमिसनको लफडा निकालेर भुक्तानी भइसकेको खोप पनि अड्काइदिएका छन्। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले भारतको सिरम इन्स्टिच्युटमा आगलागी भएको र क्षमता विस्तारमा अवरोध भएकोले रकम भुक्तानी भइसकेको  १० लाख आउन ढिलाइ भएको र थप ५० लाख खोप ल्याउने अवस्था हाल नरहेको स्पस्ट पारेका छन्। 

‘बाँकी खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम इन्सिच्यूसट इन्डियाले नेपाललाई ओप आपूर्ति गर्नु आफ्नो प्राथमिक रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन’, गौतमले जारी गरेको विज्ञप्तिमा थप भनिएको छ, ‘अन्य कम्पनीका खोपहरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको र पाउने क्रममा रहेको छ। नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनीतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको छ।’

सरकारी स्तरबाट भएको खरिदमा पनि स्थानीय कमिसन एजेन्ट हुकम डिस्ट्रिब्यूटर्स एण्ड लजिस्टिक्सले कमिसनको माग्दै खरिद प्रक्रिया भाँड्ने प्रयास गरेका थिए। कमिसनको लफडा निकालेर कोरोनाको खोप अड्काउनेमा प्रधानमन्त्री निकट दुई व्यापारी विजय दुगड र सुरज वैद्यको नाम जोडिएको छ। उच्च राजनीतिक दबाबमा स्वास्थ्य सेवा विभागले  विवादित हुकमलाई नै कोरोनाविरुद्धको खोप ल्याएर बेच्ने अनुमति दिएको खुलासा भएको छ। 

स्वास्थ्यमन्त्री हृयदेश त्रिपाठीले समेत कमिसनको किचलोले गर्दा खोप आउन नसकेको मिडियासँग स्वीकारिसकेका छन्। यो विषयलाई लिएर स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीबीच समेत सम्बन्ध चिसिएको छ।

प्रधानमन्त्री निकटका व्यापारीले दस लाखको खोपमा कमिसनको लफडा निकालेपछि स्वास्थ्यमन्त्रीले खोप खरिदका थप फाइलसमेत अड्काइदिएका छन्।  यसबीचमा रुसले ८० लाख स्पुतनिक–भी नामको खोप नेपाललाई बेच्न तयार भएको जानकारी दिइसकेको छ भने  बेलायतले  २० लाख मात्रा खोप दिने प्रतिवद्धता जनाइसकेको छ। कमिसनको यो लफडाले गर्दा यसबारेमा सरकारस्तरबाट गम्भीर पहल भएको छैन। 

अहिलेसम्म झन्डै ४ लाखले मात्र दुवै डोज खोप लगाएका छन्। पहिलो डोज लगाएको १२ साताभित्र दोस्रो डोज लगाइसक्नुपर्ने भए पनि फागुन २३ पछि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो मात्रा लगाउन पाएका छैनन्। 

यस्तो छ स्वास्थ्य मन्त्रालयको विज्ञप्ति 

प्रतिक्रिया