यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीसँग नैतिक अधिकार छैन : दाहाल

यो सदन र यी सांसदसँग विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीसँग नैतिक अधिकार छैन : दाहाल

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहालले प्रतिनिधिसभासँग ‘विश्वासको मत माग्ने नैतिक अधिकार रहेको छ ?’ भनेर प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव राखेपछि सोमबार बोल्दै दाहालले सोधे, ‘प्रधानमन्त्रीजी, यो सदनसँग, यी माननीयसँग विश्वासको मत माग्ने तपाईंलाई नैतिक अधिकार छ र ?’

प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ विश्वासको मत लिएर आएका हुन् कि भन्ने आशंका पनि व्यक्त गरेका थिए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा पनि प्रतिनिधिसभा फेरि विघटन गर्ने अभिव्यक्ति दिएको बताए ।विगतमा प्रतिनिधिसभा विघटन गर्ने बुझेर माओवादीले समर्थन जारी राखेको दाहालको भनाइ थियो ।

अहिले विश्वासको मत लिने कुरा स्वाभाविक, प्राकृतिक नलागेको र नाटकीय लागेको दाहालले बताए । नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत माग्नका लागि अधिवेशन बोलाएकोले आशंका लागेको उनको भनाइ थियो ।.बजेट अधिवेशन बोलाउनुपर्ने बेलामा यो अधिवेशन बोलाएर कतै संवैधानिक प्रक्रिया छल्न खोजेको हो कि भन्ने आशंका लागेको दाहालको भनाइ थियो । उनले संविधानमा यसरी अधिवेशन बोलाउने व्यवस्था नरहेको भनाइ राखे । प्रधानमन्त्रीले अपनाएको प्रक्रिया लोकतान्त्रिक र संविधानसम्मत नरहेको उनले भनाइ राखे ।

प्रतिक्रिया