समय नतोकिएको कैदी

        सजना सुनार   |   प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८     ::: 130 पटक पढिएको   |  
सजना सुनार

कुनै दिन त्यो थियो, जतिबेला बिहान भएको थाहा हुन्थेन। दिनभरिको काम र व्यस्त दिनचर्याले साँझ भएको पनि पत्तै हुँदैन थियो। दिन अलि लामो भएदिए हुन्थ्यो भन्ने दिनहरू उफ…! एकदिन कटाउन पनि हजारौं पटक हातको घडी हेर्नुपर्ने !

आइतबारदेखि शुक्रबारसम्मको काम सकिँदा त्यही बचेको शुक्रबारे आधा दिन र शनिबारको एकदिन कत्ति प्यारो हुन्थ्यो। त्यसैमा यो गर्छु, त्यो गर्छु भनी थाँती राखेका काम पूरा नभए पनि त्यो समय आफ्नो लागि हो जस्तो लाग्थ्यो।

बिडम्बना, अहिले चाहे शनिबार, चाहे आइतबार, चार दिवारभित्रको जेल जीवनजस्तै गरी कटिरहेको छ। एक कैदी जेलबाट रिहाइ हुने दिने कुरेझैं भइरहेको छ। कैदीलाई पनि समय तोकिएको हुन्छ। तर, अहिले म कैदीको समय तोकिएको छैन। उसै म सामाजिक सञ्जालको अनेकथरी पोस्ट र फोटोहरूले मनै अतासिएर आउँछ। अनी उही पुरानो दिन प्यारो लाग्छ। 

म कैदी जस्ता धेरै कैदीहरू फरक फरक ठाउँमा कैद भइरहेका छन्। वैशाखको लगनले जुराएको नवजोडी र मायालु जोडीहरूलाई सधैं यस्तै कैदी भइरहूँ जस्तो लागेको होला। यो वैशाखले लगन नजुराएको मायालु जोडीलाई जेल तोडौं-तोडौं भएको होला।

घर-परिवारसँग बस्नुभएकालाई सामान्य नै लागेको होला। तर, जागिरे जीवन र विद्यार्थी जीवनले भाडाको कोठामा कैद भएका ती कैदीहरू कत्ति अतासिन्छन्, आफ्नो आफन्तसँग सँगै बस्नलाई कत्ति छट्पटिन्छन् भन्ने अनुमान म आफैंले महसुस गरेको उकुसमुकुस र छट्पहाटले गर्न सक्छु।

भलै हामी अहिले कोरोना महामारीको दोस्रो लहरमा छौं। अहिले सबैको मन र मष्तिस्कमा आतंक मच्चिरहेको छ। नमच्चियोस् पनि कसरी? आफ्नै छिमेकी, घर र सामाजिक सञ्जालमा कोरोना संक्रमित र पराजित हुने व्यक्तिको दर दिनानुदिन बढिरहेको देखिन्छ।

कसैले आफ्नो घरको प्यारो सदस्य गुमाएका छन्, कसैले जीवन साथी, आफन्त र साथीभाइ गुमाएका छन्। कोही जीवनको अन्तिम घडीमा एक सर्को अक्सिजनले आधा बाँचेका छन्। कोही भेन्टिलेटर र अक्सिजन नपाएरै तड्पिरहेका छन्। 

कोरोनाको लक्षण एकातिर छ। तर अहिले अधिकांश किशोरकिशोरी, युवा तथा वृद्धवृद्धालाई टाउको दुख्ने, शरीर गल्ने, अनावश्यक विचार उत्पन्न हुने सानो-सानो कुरामा रिस उठ्ने र चिट्चिट्हाटपन हुने जस्ता समस्या बढिरहेको देखिन्छ।

हुन त अहिले हामी सबै असामान्य अवस्थामा छौं। असामान्य अवस्थामा हाम्रो शरीरले देखाएको यी सामान्य प्रतिक्रिया हुन्। तर, यिनै प्रतिक्रिया हामी कति दिन झेल्दैछौं? दुई दिन, एक हप्ता, दुई हप्ता वा सोभन्दा बढी।

हामीमा देखिएका यस्ता प्रतिक्रियाले कतै हाम्रो दैनिक क्रियाकलाप या परिवार, आफन्त र साथीभाइसँगको सम्बन्धमा प्रभाव पो पार्दैछ कि? यो कुराको विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

सामाजिक सञ्जालमा अहिले दुई किसिमको विचार देखिन्छ। एक, सकारात्मक सन्देश मात्र फैलाऔं। आत्मबल बढाऔं। कोरोना संक्रमणबाट मुक्त भएको वा निको भएको समाचार मात्र बनाऔं। र, सामाजिक सञ्जालमा कोरोनाबाट संक्रमित, पराजित र श्रद्धाञ्जली जस्ता पोस्ट नगरौं।

अर्को पक्ष, संक्रमित हुँदा शिघ्र स्वास्थ्य लाभको कामना र मृत्यु हुँदा श्रद्धाञ्जली दिनेको जमात पनि कम छैन। मैले यो दुइटै पक्षलाई सही या गलत भन्न खोजेको होइन।

अहिले यसै पनि हामी एकअर्काको भौतिक दुरीमा छौं। मनको कुरा सुनाउने अत्यास लाग्दा घुम्न जाने, रमाइलो गर्ने, साथीभाई भेट्ने सबै असम्भव भएको अवस्थामा सामाजिक सञ्जाल दुःखसुख साट्ने थलो बनेको छ जहाँ एक पोस्टले मन हलुको भएको महसुस गर्न सक्छन्।

यो महामारीको समयमा पनि निषेधाज्ञा पालना नगर्ने, मास्क नलाई लापरबाही गर्ने व्यक्तिहरू पनि देखिन्छन्। कोरोनाबाट संक्रमण र पराजित भयको सूचना र समाचारले त्यस्ता व्यक्तिलाई सजग बनाएको छ र सजगता अपनाउन प्रेरित गरेको छ। 

यस अर्थमा सामाजिक सञ्जालमा पोस्ट गर्नु, पत्रकारले समाचार लेख्नु सही नै हो। अर्को जमात जो सकारात्मक र ऊर्जावान पोस्ट र समाचार पढ्न र हेर्न चाहन्छन्, मनोबल उच्च राख्न चाहन्छन्। उनीहरूको विचार पनि सही नै हो। यद्यपि अहिलेको अवस्थामा शारीरिक स्वास्थ्य सँगसँगै मनोसामाजिक अवस्था र मानसिक रूपमा स्वस्थ रहन उत्तिकै आवश्यक छ। 

अब लागौं, म जस्ता भाडाको कोठामा थन्किएका कैदीहरू तर्फ। आजभोलि मोबाइलमा ब्यालेन्स सकिएको पन थाहै हुँदैन। धन्न भौतिक शरीर जहाँ भए पनि घर परिवारको आवाज सुन्न पाइन्छ। इन्टरनेटले साथ दियो भने भिडिओ कलमा अनुहार हेर्न पनि पाइन्छ।

तर पनि मनको एक कुनामा सधैं चिन्ता रहिरहन्छ। घरको कुनै एक सदस्यलाई केही भयो भने के गर्ने? खर्च कसरी जुटाउने? भेन्टिलेटर र अक्सिजन पाइएला कि नपाइला? सँगसँगै निषेधाज्ञामा घरसम्म कसरी पुगिएला?

घर कैदी, भाडाको कोठाको कैदी, मायालुसँगका कैदी, मायालु बिनाका कैदी या कोरोना कैदी, जो जहाँ जस्तो भए पनि सबैले आफ्ना आफन्त लगायत स्वयंको शारीरिक, मनोसामाजिक र मानसिक स्वास्थ्यको ख्याल गर्न जरुरी छ।

यो विषम परिस्थितिमा आफूले आफैंलाई तनाव रोगमुक्त बनाउन प्रयास गर्नुपर्नेछ। यदि तनाव र दिग्दारीपन भइरहेको छ भने आफूलाई मनपर्ने काम गरौं। मनपर्ने प्रिय व्यक्तिसँग कुराकानी गरौं। शारीरिक तथा मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना, पूर्ण र आरामदायी निद्रा, नियमित शारीरिक व्यायम गर्न जरुरी छ।

यो समयमा बालबालिकालाई त्रसित वातावरणबाट मुक्त बनाउन सिर्जनात्मक काममा व्यस्त गराऔं। बालबालिका लगायत जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई यदि कोरोना सम्बन्धी समाचारले त्रसित बनाउँछ भने त्यस्ता समाचारबाट टाढै रहौं। सूचना र जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमबाट दैनिक एक पटक मात्र समाचार हेरौं वा सुनौं।

यो विषम अवस्थामा मनोसामाजिक प्राथमिक उपचार हामी सबैलाई आवश्यक छ। त्यसका लागि पनि तपाईं हामी नै संवाहक बनौं। तपाईं हामी सबै मिलेर पराजित र घाइते नभई यस महामारीबाट जीत हासिल गरौं। सबैमा शुभकामना। 



Leave a comment

Your email address will not be published.


*