कर्णाली प्रदेश अस्पताललाई संघ मातहत लैजान मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिने

कर्णाली प्रदेश अस्पताललाई संघ मातहत लैजान मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिने

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालित कर्णाली प्रदेश अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन प्रस्ताव गरिएको छ । सोमबार बसेको स्वास्थ्य आपतकालीन व्यवस्थापन कार्य सञ्चालन केन्द्रको बैठकले प्रदेश अस्पताललाई संघअन्तर्गत ल्याउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुर्खेत प्रादेशिक अस्पताल संघअन्तर्गत बनाउने निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने,’ विज्ञप्तिको पहिलो बुदाँमा उल्लेख छ ।उक्त अस्पताल झण्डै तीन वर्षदेखि कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको छ । तर, प्रदेश सरकारले अस्पताल व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेपछि केन्द्र मातहत लिनु परेको स्वास्थ्य राज्यमन्त्री नवराज रावतको दाबी छ ।

‘एउटा प्रदेशको, एउटा अस्पताल अनिवार्य रुपमा केन्द्रमार्फत सञ्चालन हुनुपर्ने कानूनी व्यवस्था छ । पछिल्लो समय प्रदेश अस्पतालको व्यवस्थापनमा विभिन्न खालको तिकडम देखियो,’ राज्यमन्त्री रावतले भने, ‘जसले गर्दा ढिलोचाँडो प्रदेश अस्पताल केन्द्र मातहत जान्छ ।’

अबको दुई हप्ताभित्र प्रदेश अस्पताललाई केन्द्र सरकारले आफू मातहत  सञचालन गर्ने राज्यमन्त्री रावतको दाबी छ । राज्यमन्त्री रावत सुर्खेतकै जनप्रतिनिधि हुन् । उनी सुरुवातदेखि नै प्रदेश अस्पताललाई केन्द्र मातहत नै राख्नुपर्ने बताउँदै आएका थिए ।वैशाख ३१ गते अस्पतालले अक्सिजन अभावका कारण थप संक्रमित भर्ना लिन नसक्ने सूचना जारी गरेको थियो ।

जिल्ला अस्पतालको रुपमा स्थापनाकालदेखि नै स्वास्थ्य सेवा सञ्चालन गरेको अस्पतालले २०६२ सालदेखि क्षेत्रीय अस्पतालको स्वीकृति पाएको थियो । २०७५ कात्तिक १३ गते औपचारिक रुपमा अस्पताल प्रदेश सरकार मातहतमा आएको थियो । यो अस्पताल प्रदेश सरकार मातहतको सबैभन्दा ठूलो अस्पताल हो । प्रदेशको अर्को ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला केन्द्र सरकार  मातहत नै छ ।

प्रतिक्रिया