बाहिर हल्ला गरिएजस्तो संविधान छलेर सत्ता कब्जा गर्ने कुनै उद्देश्य छैन : ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले बाहिर हल्ला गरिएजस्तो संविधान छलेर सत्ता कब्जा गर्ने कुनै उद्देश्य नभएको स्पस्ट पारेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। उनले मुलुकलाई निकास दिनका लागि आफूले अघि बढाएको कदमको गलत व्याख्या गर्दै भ्रम फैलाउन खोजिएको आरोप लगाए। उनले भने, ‘मैले त वैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त गरेको हुँ। यहाँ कहाँनिर षडयन्त्र भयो त ? मलाई हटाएर विकल्प दिनुस् भन्दा कसरी षडयन्त्र हुन्छ ?
प्रधानमन्त्री ओलीले भने, ‘वैकल्पिक सरकार बनाउनुस्। म रचानात्मक सहयोग गर्छु। सहयोगी, संयमित र शान्त भूमिकामा प्रस्तुत हुनेछ हाम्रो दल। मलाई पनि समर्थन पनि नसक्ने अनि आफूहरू पनि सरकार बनाउन नसक्ने अनि षडयन्त्र भयो मात्रै भन्ने ? ओलीले अहिलेको अवस्था आउनुमा विपक्षीहरू नै जिम्मेबार रहेको बताए। उनले समयमै अविश्वास प्रस्ताव ल्याएर वैकल्पिक सरकार बनाको भए अहिलेको अवस्था सिर्जना हुने थिएन भने।
ओलीले राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न दलहरूलाई आग्रह गरेका छन्। उनले भनेका छन्, ‘म सबै दलहरूसँग आग्रह गर्छु। राष्ट्रिय सहमतिको सरकार बनाऔं अनि मुलुकका संकट र समस्यालाई मिलेर समाधान गरौं। मेरो आग्रह यहीं हो।’
ओलीले देउवालाई फोन गरेर वैकल्पिक सरकार बनाउन र त्यो संभव नभएर राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आग्रह गरेको बताए। उनले भने, ‘ मैले आजै बिहान पनि देउवालाई फोन गरेर वैकल्पिक सरकार बनाउनुस्, हामी पुरै सहयोग गर्छौं।सहयोगी, संयमित र शान्त भूमिकामा प्रस्तुत हुनेछ हाम्रो दल। त्यो संभव नभए मिलेर राष्ट्रिय सहमतिको सरकार बनाऔं भनेको छु।’
सत्ताको अस्वस्थ खेलको चक्रब्यूहमा मुलुक अल्झिनुपर्ने अवस्थालाई अन्त्य गर्न आफूले यस्तो कदम चालेको बताएका छन्। उनले भने, ‘सरकार चलाउन सक्ने अवस्था पनि छैन। नयाँ सरकार बन्ने अवस्था पनि छैन। यही जटिल अवस्थामा घुमिरहनुपर्ने अवस्थालाई ध्यानमा राखेर विकल्प दिन खोजिएको हो।’
ताजा जनादेश नै उत्तम विकल्प हुने ठानेर आफूले संसद विघटन गरेको दाबि गरे। संसद पुनर्स्थापना भएको दुई महिनासम्म विपक्षीले अविश्वास प्रस्ताव ल्याउन नसकेको बताए। ओलीको भनाइ थियो, ‘विपक्षीहरूले वैकल्पिक सरकार बनाउन सकेनन्। न त संसदले कुनै पनि निकास दिनसक्यो। अनि विश्वासको मत माग्न खोज्दा त्यो पनि संभव भएन।’
प्रतिक्रिया