राउटेलाई राज्यको मूलधारमा ल्याऔँ

        सन्तोषी शाह   |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८     ::: 477 पटक पढिएको   |  

सन्तोषी शाह – विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व समुदायमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठुलो असर पारिरहेको छ । कति जनाले आमाबुवा, छोराछोरी, श्रीमान, श्रीमती, भाइबहिनी, दाई भाउजु, मामा माइजु, काका काकी, बाजे बज्यै, दिदीवहिनी, अंकल आन्टी, फुपु फुपाजु, साथीभाई, आफ्ना नाता कुटुम्व, इष्टमित्र गुमाउनु परेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन सामाजिक संजालमा केवल संवेदना, शिघ्र स्वास्थ्य लाभको कामना गरेको कलिलो उमेरका तस्बिर टाँसिएको मात्र देखिन्छ । यसले घनी गरिब, सानो ठुलो, लैंगिक विभेदका आघारमा विभेद गरेको छैन् । कसले कति बेला संसार छोड्ने थाहा छैन ।

प्रत्येक दिन मानिसहरुलाई के खबर सुन्ने हो थाहा छैन् । अहिलेको प्रविधीको कारण संसार सानो भएको छ । यसबाट देशविदेशको खबर छिटोभन्दा छिटो प्राप्त हुन्छ । मानिसहरु यसले गर्दा कोरोनाको कारणले त्रसित भएका छन् । कोही अस्पतालको बेडमा छट्पटाइरहेका छन् । कोही आफ्नो स्वास्थ्य अवस्था निरन्तर फलोअप र चेक गर्ने काम गरिरहेका छन् ।

लोपोउन्मुख, फिरन्ते जीवन बिताइरहेका राउटे जाति अहिले सुर्खेत जिल्लाको गुर्भाकोट वडा नं ११ आपसोती जनैघाटस्थित भेरी नदि किनारमा बसोबास गरिरहेका छन् । उनिहरुको एक सय ४५ (पुरुष ७४ महिला ७१ ) जनसंख्या छ । एउटा पालको भरमा जंगलमा जीवन बिताइरहे ति राउटे समुदायलाई कोरोना भाइरसको फैलिएको अवस्थाका बारेमा के थाहा ? उनीहरुलाई केवल कोभिड भनेको ठुला मान्छेहरुलाई लाग्ने हो । जमिनदारको छोराछोरीलाई लाग्छ । हामीलाई के लाग्छ भन्ने उहाँहरुको घारणा छ । त्यो किनारमा उहाँहरुको दिनचर्या खाली एक पालमा बितेको छ । उनिहरु हामी जस्ते सर्ट पाइन्ट वा कुर्ता सुरुवाल वा यस्तै यस्तै कपडा लगाउँदैनन् । साना साना बालबालिकाहरु देखि लिएर ठुला मानिसहरुले जीउमा केवल पातलो कपडा बाँधेर बस्नुभएको छ । मानिसहरुलाई पनि गन्नु हुँदैन भन्ने राउटे जाति विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका बारेमा कुनै मतलब छैन् ।

यो महामारीको बेलामा उहाँको आवश्यकता भनेको केबल खानलाई खाद्यान्न दिनु प¥यो, लगाउनलाई लुगा दिनु प¥यो, नेपाल सरकारले निरन्तर सामाजिक सुरक्षा भत्ता दिनुप¥यो । यत्ति भए पुग्छ । सामाजिक सुरक्षा भत्ता कसरी आउँछ यसको बारेमा पनि ज्ञान छैन । उहाँहरुले काठका साम्रगीहरु बनाएर आफ्नो दिनचर्या बिताइरहनु भएको छ । उक्त काठको सामग्री गाउँमा बेचेर खाद्यान्नको जोहो गरिरहनु भएको छ ।

बालबालिका शिक्षा स्वास्थ्यको बारेमा कुनै चासो रहेको छैन् । आफ्नो समुदायमा तीनवटा ठकुरी रास्कोटी, स्वबंशी, कल्याल भएको दाबी गर्ने राउटे जातीले आफ्नो समुदाय भित्रको इस्टमित्रसँग विहे गर्ने चलन रहेको छ । जुन ठाउँमा राउटेको बसोबास रहेको छ त्यो ठाउँमा आफ्नो समुदाय भित्रको कोही मानिस मरेमा फेरी अर्को ठाउँमा बसाई सरेर जाने चलन राउटेमा छ । समुदायमा हरेक काम संचालन गर्न एउटा मुखिया तोकेको हुन्छ । त्यसैका आघारमा कामहरु संचालन हुन्छन । यीनिहरुको बोली र बचन एकहोरो हुन्छ जे बोल्यो त्यो कार्यान्वयन गर्नुपर्दछ । जस्तै आफुसँग भएको साम्रगी बिक्रि गर्दा जुन मुल्य बोलेको हुन्छ, लिने मान्छेले त्यही मुल्य दिन आवश्यक हुन्छ ।

राउटे समुदायमा बालविवाह र अनमेल विवाह बढि प्रचलनमा रहेको छ ।आफ्नै संस्कृत र परम्परा बोकेका यी राउटे जातिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको बारेमा केहि मतलब छैन केबल उनीहलाई सहयोग गर्नेहरुले खान पुगे र लाउन पुगे भयो भन्ने मात्र चाहाना छ । न उनलाई कोरोनाको बारेमा थाहा छ न बाहिरी संसार र अहिलेको विकासको बारेमा केही थाहा छैन । न उनलाई ठुला महलको चासो छ न देशको राजनितीक, आर्थिक, सामाजिक विकासको बारेमा केहि थाहा छ । उनी पनि यो देशको नागरिक हुन अब पछाडि पारिएका नागरिकहरुको राज्यको मुलघारमा ल्याउनका लागि आफ्नो आफ्नो तबरबाट महत्वपूर्ण भुमिका खेल्नुपर्छ ।

जंगलमा नै जीवन विताउने राउटेको जीवनशैलीमा सुघारका लागि राज्य र संघसंस्थाबाट विभिन्न खालका प्रयासहरु भइरहेका छन् । सामाजिक सुरक्षा भत्ताको लागि गुराँस गाउँपालिकाबाट परिचय पत्र प्रदान भईसकेको छ । त्यसका आधारमा सुरक्षा भत्ता उपलब्ध गर्ने कार्य भएको छ । उनीहरुको सचेतनाका लागि संघसंस्थाबाट विभिन्न कार्यक्रमहरु संचालन गरिएका छन् । यसको पैरवीको लागि सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको पनि महत्वपूर्ण भुमिका खेलेको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस यस बेला राउटे समुदायको जोखिमता लाई हेरेर गुराँस गाउँपालिका र सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखको समन्वयमा ११ जना राउटे समुदायका मानिसहरु कोरोना परिक्षण गरिएको थियो । उनीहरुलाई खाद्यान्न सहित स्वास्थ्य सामग्रीहरु सेनिटाइजर मास्क वितरण गरिएको छ ।

फिरन्ते जीवन विताएका राउटेमा पहिले भन्दा अहिले केहि परिवर्तन देखिएको छ । समाजमा बस्ने बाहिरको मान्छे देखेमा डराउने राउटेहरु अहिले अरु मानिसहरुसँग कुराकानी गर्ने बोल्न डर नमान्ने सहयोगी हातहरुसँग आफ्ना कुराहरु राख्न सक्ने भएका छन् । कहिल्यै पनि पुरै शरिर ढाकिने गरी कपडा नलाउने राउटेहरु अहिले लुगा लगाउने बानिको विकास गरिरहेका छन् । पैसा छोए पाप लाग्छ भन्ने राउटेहरु अहिले आफुले निर्माण गरेको साम्रगी मुल्य तोकेर लिने भएका छन् । मुखियाले बाहिरका मानिसहरुको मोबाइल नम्बर राख्ने र व्यवस्थापन गर्ने गरेका छन् । संसारमा गरे भने के हुँदैन भने झै विकास पनि निरन्तर चलिरहने प्रक्रिया राउटेलाई राज्यको मुलघारमा ल्याउनका लागि तपशिलका प्रयासहरु गर्नुपर्दछ ।

शिक्षामा पहुँच : संसारमा जुन स्थानमा जन्मेपनि बालबालिका नै बालक जन्मने बेला कोरा कागज भएर जन्मिन्छ । त्यो कोरा कागजमा कस्तो प्रकारको चित्र कोर्ने भन्ने कुरा त्यो आमाबुवा र राज्यको दायित्व हुन्छ । यसको लागि राउटे समुदायमा रहेका बालबालिकालाई त्यस समुदायको अगुवा राखेर अनौपचारिक शिक्षा दिनुपर्दछ । राज्यले अन्य बालबालिकाको शिक्षामा पहुँच जस्तै जुन ठाउँमा राउटे समुदाय रहेको छ त्यस ठाउँमा नै शिक्षक राखेर उनीहरुलाई कसरी शिक्षा दिन सकिन्छ । त्यसको बारेमा योजना बनाएर कार्यान्वयन गर्नुपर्छ । उनीहरु पनि यस देशको नागरिक हुन्, अरु जस्तै अधिकार उनीहरुको पनि रहेको हुन्छ । राउटे समुदायको बालबालिका पढ्ने मन गर्दैनन् भनेर टाढा भाग्नु हुँदैन् । कसरी बैकल्पिक शिक्षा दिन सकिन्छ यसको बारेमा सोच्न आवश्यक छ । राउटेका बालबालिका पनि छुटै बालबालिका होइनन् । उनीहरु पनि अरु बालबालिका जस्तै हुन । उनलाई पनि राज्यबाट अरु बालबालिका जस्तै बाँच्न, संरक्षण, विकास, सहभागिताको अधिकार रहेको छ ।

सामाजिकीकरण : राउटे समुदायलाई समाजमा ल्याउनका लागि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने हरेक समुह समितीमा उनीहरुको सहभागिताको लागि प्रयास गर्नुपर्दछ । जीवनउपयोगी सिपको बारेमा जानकारी गराउन आवश्यक छ ।

सिपमा आधुनिकीकरण : राउटे जातिले बनाउने काठको साम्रगीहरुलाई बजारमा टिकाउ, विकाउ र गुणस्तर बनाउनका लागि उनीहरुको सिपलाई प्राथमिकता दिएर आधुनिक डिजाइन र आकारको साम्रगी बनाउनका लागि मेसिनको सहयोग र सिप सिकाउन आवश्यक छ । उचित व्यवस्थापन, बजारको खाजी गर्ने र सम्मान गर्ने कार्य गर्नुपर्छ । यसले गर्दा उनीहरुको जीवीकोपार्जनमा सुधार हुन्छ । उनीहरुको साम्रगीले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा उचित तथा बजार मुल्य पाउन सक्छ । राउटे जातीको संस्कृति संरक्षण हुन्छ । यसको बारेमा राज्यको ध्यान आकर्षण हुनुपर्छ ।

सामाजिक सुरक्षा भत्ता उचित प्रयोग : नेपाल सरकारले राउटेका लागिसामाजिक सुरक्षा भत्ता वापत मासिक ३००० का दरले वितरण गदै आएको छ । उक्त भत्ता उनीहरुले के कामको लागि प्रयोग गरे भनेर उचित अनुगमन तथा मुल्यांकन हुन आवश्यक छ । राज्यबाट वितरण सामाजिक सुरक्षा भत्ता समयमा नै वितरण हुुनुपर्दछ ।

सामाजिक संजालको उचित प्रयोग : सामाजिक संजालमा मानिसहरुले अहिले राउटे समुदायमा गएर रमाइलोको लागि टिकटक बनाउने, पैसा तिरेर राउटेसँग फोटो खिच्ने, उनीहरुलाई मदिरा सेवन गराएर फोटो र टिकटक बनाउने गरेको पाईएको छ । यस्तो काम गर्नेलाई कारबाही गनुपर्दछ । यसको बारेमा राज्यले विशेष चासो र चिन्ताको विषयका रुपमा लिन आवश्यक छ ।

स्वास्थ्य र सरसफाई सुधार : सरसफाईको बारेमा राउटे समुदायलाई सिकाउन आवश्यक छ । सरसफाई नभएमा बालबालिकालाई विभिन्न खालका रोगहरुले संक्रमण हुन सक्ने भएकाले सरसफाईको बारेमा सिकाउन आवश्यक छ । जसले गर्दा विभिन्न रोगहरुका कारण उनीहरुले अल्पआयुमा नै मृत्यु हुनबाट जोगिनेछ । राउटे समुदायमा मदिरा र सुर्तीजन्य पदार्थ सेवन गर्ने लत बसेको छ । उनीहरुले स्वस्थ खाना खादैनन् । त्यसले गर्दा विभिन्न किसिमको रोगहरुको सिकार भईरहेका छन् । यसको लागि उचीत स्वास्थ्य चेकजाँच गर्न आवश्यक रहेको छ ।

राउटे समुदायको लागि बजेट तर्जुमा : सामाजिक सुरक्षा भत्ता बाहेक राउटेलाई राज्यको मुल घारमा ल्याउनका लागि उनीहरुको स्वास्थ्य शिक्षा, सामाजिकीकरणका लागि राउटेलाई केन्द्रित गरेर बजेट तर्जुमा र उचीत कार्यान्वयन गर्न आवश्यकता रहेको छ ।

सुरक्षा : फरक प्रकारको संस्कृती बोकेको राउटे समुदायको सुरक्षाको लागि राज्यको विशेष पहल हुनुपर्दछ । खुला ठाउँमा पालमा बसेका हुन्छन् । त्यँहा कुनै सुरक्षा हुँदैन् । महिला बालबालिकाहरुलाई नजिकको गाउँ सहरबाट यौन हिंसा र दुव्र्यवहार हुनसक्छ । यसको लागि प्रहरी परिचालनको आवश्यकता देखिन्छ । बाहिरको जंगली जनावरले आक्रमण गर्न सक्छ । यसको बारेमा पनि विशेष ध्यान दिनुपर्दछ ।
समन्वय ः लोपोन्मुख जाती राउटेको संरक्षणको लागि स्थानिय, प्रदेश र संघीय सरकार, संघ संस्था, सरोकारवाला सबैको साझा सवाल भएकोले समन्वय र सहकार्य गरेर अघाडी बढनुपर्दछ ।
अन्त्यमा मानिसको गणना गर्नुहुदैन भन्ने राउटे समुदायप्रति सबैको चिन्ता र चासो हुन आवश्यक छ । केवल यो समुदायमा गएर रमाइलोको लागि टिकटक र फोटो खिच्ने काम मात्र नगरौँ । राज्यको मुलघारमा ल्याउनका लागि सबैले आफ्नो तर्फबाट प्रयास गरौँ । तब हामी नेपाली र नेपालको इतिहास रहनेछ । भोली होइन आजबाट सुरुवात गरौँ ।

 

 



2 Comments on राउटेलाई राज्यको मूलधारमा ल्याऔँ

  1. Bhim Bahadur pal // June 1, 2021 at 9:43 pm // Reply

    समसामयिक लेख आयो ??

  2. Hira Singh Thapa // June 2, 2021 at 7:44 pm // Reply

    अत्यन्त समसामयिक धन्यवाद सन्ताेषि

Leave a comment

Your email address will not be published.


*