मन्त्रिपरिषद् विस्तार : खगराजलाई गृह, बादल पत्नी नैनकला सञ्चार मन्त्री

मन्त्रिपरिषद् विस्तार : खगराजलाई गृह, बादल पत्नी नैनकला सञ्चार मन्त्री

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७८/१/३१ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधान बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ । सञ्चारमन्त्री नियुक्त थापा पूर्व गृहमन्त्री रामबहादुर थापाकी पत्नी हुन् । त्यसैगरी, आशाकुमारी वि.क.लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ । २०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बनेका थिए ।

को हुन् गृहमन्त्री खगराज अधिकारी 

एमालेको दोस्रो पुस्ताका परिचित नेता हुन् खगराज अधिकारी । विद्यार्थी राजनीतिबाट उदाएका अधिकारी २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व लिएका अधिकारीको राजनीतिक जग विद्यार्थी जीवन नै हो । जिम्मेवारीको हिसाबले अधिकारी २०५१ सालमा एमाले संसदीय दलको सचेतक बनेका थिए । संसदीय दलको जिम्मेवारीको हिसाबले हेर्दा २०७४ सालमा उनी छोटो समय प्रमुख सचेतक भए । अधिकारी मन्त्री बनिसकेका छन् । उनले सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए । पछिल्लो समय प्रधानमन्त्री ओलीले उनलाई गृहमन्त्री बनाएका हुन् ।

बादल पत्नीलाई सञ्चार मन्त्रालय

ओली सरकारमा पूर्वमाओवादी खेमाबाट दुई मन्त्री बनेका छन् । पूर्वमाओवादी नेताले पुनः आफै मन्त्री बन्ने कसरत गरे पनि सर्वोच्चको निर्णयले त्यो बाटो बन्द गरिदिएपछि ओलीले पूर्वमाओवादी खेमाबाट बादल पत्नी नैनकला थापा र ज्वालाकुमारी साहलाई मन्त्री बनेका हुन् ।  बुटवलमा जन्मीएकी बादल पत्नी नैनकला राजनीतिक इतरकी व्यक्ति भने होइनन् । महिला संगठनको नेतृत्व गर्दै आएकी नैनकला २०३५ सालपछि नै विद्यार्थी राजनीतिमा सहभागी भएकी थिइन् । नेकपा (चौम), अनेमसंघ, एकीकृत अनेमसंघ, राष्ट्रिय महिला आयोग, माओवादी केन्को केन्द्रीय सल्लाहकार बनेकी थापाले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा विज्ञको रुपमा कामसमेत गरेकी छन् ।

प्रतिक्रिया