राष्ट्रपतिबाट संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त

राष्ट्रपतिबाट संवैधानिक आयोगमा २० पदाधिकारी नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगका २० पदाधिकारीकाे नियुक्ति गरेकी छन् । बिहीबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा २० पदाधिकारी नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महिला आयोगसहित संवैधानिक निकायमा २० पदाधिकारीको नियुक्ती गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संवैधानिक परिषद्ले वैशाख २७ गते गरेको सिफारिस अनुसार २० पदाधिकारीको नियुक्ती भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त भएका छन् भने आयोगको सदस्यमा माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकमारी महतो नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठलाई नियुक्त गरेकी छन् ।

त्यसैगरी निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर जबरा नियुक्त भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा विपिनराज निरौला, राष्ट्रिय महिला आयोगमा जया घिमिरे, राष्ट्रिय महिला आयोगमा सावित्राकुमारी शर्मा, राष्ट्रिय दलित आयोगमा सुन्दर पुर्कुटी सदस्यको रुपमा नियुक्त भएका छन् ।

राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सेना नियुक्त भएका छन् भने सदस्यमा पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्री नियुक्त भएका छन् । त्यसैगरी आदिवासी जनजाति आयोगमा सूर्यबहादुर गुरुङ सदस्यको रुपमा नियिुक्त भएका छन् भने मधेसी आयोगमा आभाकुमारी, थारु आयोग सदस्यमा उमाशंकर प्रसाद चौधरी र शान्ति मोदी नियुक्त भएका छन्।  मुस्लिम आयोगको सदस्यमा भने मोहम्मद समशुल हक नियुक्त भएका छन् ।

प्रतिक्रिया