एमाले केन्द्रीय कमिटीको १३ औं बैठक, ओलीले भने ‘पार्टी एक हुन नदिने खेल भइरहेको छ’

एमाले केन्द्रीय कमिटीको १३ औं बैठक, ओलीले भने ‘पार्टी एक हुन नदिने खेल भइरहेको छ’

काठमाडाैं : नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा जारी छ । एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ बैठक डाकेको हो ।

बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी छैन । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको हिजोको भेलाले यथास्थितिमा केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । सबै कमिटीलाई २०७५ जेठ २ गते अघिको अवस्थामा क्रियाशील गराउन महाधिवेशन आयोजक कमिटीको निर्णयले अवरोध पुर्याएको नेपाल पक्षको निष्कर्ष छ ।

बालुवाटारमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाबजुद पार्टीलाई एक हुन नदिने खेल भइरहेको बताएका छन् । बैठकलाई सम्बोधन गर्दै ओलीले अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।

ओलीले भने, ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ एमालेकै नामका व्यक्तिहरू गएको लाजमर्दो अवस्था छ । हजार प्रयासका बाबजुद पार्टीलाई एक हुन दिइएको छैन, हामीले कुरा बुझ्नुपर्छ ।’

ओलीले सर्वोच्च अदालतका पछिल्ला अदेशप्रति समेत असन्तुष्टि व्यक्त गर्दै यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चुनावी आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् गठन भएको र त्यसविरुद्ध परेको रिट अदालतले खारेज गरेको नजिर रहेको बताए ।

उनले भने, ‘हिजो आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ । तर, अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो । दलका सदस्यलाई अनुशासनको कारवाही गर्न पाइँदैन भनियो । के हुँदैछ बुझ्नुपर्छ ।’

प्रतिक्रिया