८ लाख भेरोसेल खोप : पहिलो प्राथमिकता जेष्ठ नागरिक

८ लाख भेरोसेल खोप : पहिलो प्राथमिकता जेष्ठ नागरिक

काठमाडौं : सरकार चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ । सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । सम्झौताअनुसार पहिलो लट खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत खोप ल्याइने स्वास्थ्य सेवा विभागको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

शुक्रबार काठमाडौं आइपुगेको ८ लाख खोपमध्ये केही पोखरा र हेटौंडा पठाइएको छ भने सडक अवरुद्ध भएका कारण बुटवल भने पठाउन सकिएको छैन । बाँकी खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चिस्यान भण्डारणमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । ‘खोपको सबै विवरण कम्प्युटरमा इन्ट्री गर्ने काम सकिनासाथ प्रदेशस्थित भण्डारण स्थलहरुमा पठाउँछौं,’ उनले भने ।

मन्त्रालयका अधिकारीहरुका अनुसार टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् । हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् । यदि खोप राख्ने स्थान अभाव भएमा निजी वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्ने मन्त्रालयको योजना छ ।

कहिलेदेखि लगाइन्छ खोप ?

चीनबाट खोप आपूर्ति भएपछि कहिलेदेखि लगाउने भन्ने निर्णय भइसकेको छैन ।डा. गौतमले छिटोभन्दा छिटो लगाइने बताउँछन् । ‘कोभिड–१९ खोप कार्यान्वयन राष्ट्रिय योजनाले तयार पारेको योजना अनुसार प्राथमिकीकरण निर्धारण हुन्छ,’ डा. गौतमले भने, ‘सोही योजनाको आधारमा उमेर समूह छनोट गरेर नागरिकलाई खोप लगाउँछौं ।’

अघिल्लो पटक पनि खोप आपूर्ति भएको एक साताभित्रै बैतडी, ताप्लेजुङ लगायतका जिल्लासम्म पुर्याएर खोप लगाएको उनले सुनाए । चीनबाट खोप आपूर्ति हुने क्रम जारी नै रहेको भन्दै डा. गौतमले खोपको उपलब्धता हेरेर खोप लगाउने उमेर समूह निर्धारण गरिने बताए । ‘६०–६४ वर्ष उमेर समूहका जेष्ठ नागरिक पनि खोप लगाउन बाँकी छन् । पहिलो प्राथमिकता उहाँहरुलाई नै हुन्छ,’ डा. गौतमले भने, ‘त्यसपछि खोपको मात्रा र उमेर समूहको संख्या हेरेर खोप लगाउने उमेर समूह निर्धारण गर्छौं ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल पनि ६०–६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई प्राथमिकता दिएर खोप लगाइने बताउँछन् ।यो उमेर समूहका केही नागरिक खोप लगाउन बाँकी रहेका कारण पहिलो प्राथमिकतामा राखेर उनीहरुलाई खोप दिइने उनले बताए । डा. पौडेलले भने, ‘खोप लगाउन ६०–६४ वर्ष उमेर समूह पहिलो प्राथमिकतामा छन् । त्यसपछि ५५–६० वर्षकालाई र अन्य समूहलाई दिन्छौं । तर अन्य समूहबारे भने निर्णय भइसकेको छैन ।’

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । डा. गौतमका अनुसारसरकारले १५ वर्षदेखि माथि उमेर समूहका नागरिकलाई खोप लगाउने लक्ष्य राखेको थियो । २८ प्रतिशत जनसंख्या १५ वर्षभन्दा मुनीको छन् ।तर १५ वर्षदेखि १८ वर्षमुनि उमेर समूहका नागरिकलाई खोपको उपलब्धता हुन नसकेकाले १८ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई खोप लगाउने लक्ष्य राखेको डा. गौतमले बताए ।

कतिले लगाए खोप ?

नेपालमा शुक्रबारसम्म साढे ५० लाख बढी हजार डोज कोरोना खोप भित्रिएको छ ।चीनले अनुदानमा १८ लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो । यसैगरी नेपालले भारतसँग खरिद सम्झौता गरेकोमध्ये १० लाख र अनुदानमा ११ लाख कोभिशिल्ड खोपको मात्रा प्राप्त गरेको थियो । भारतसँग खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप आउन बाँकी नै छ । यस्तै कोभ्याक्स कार्यक्रममार्फत कोभिशिल्डको ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो ।

शुक्रबारसम्म ३ प्रतिशतभन्दा बढी नागरिकले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् ।मन्त्रालयको तथ्यांक अनुसार कोभिशिल्ड र भेरोसेल गरी दुवै डोज खोप लगाउनेको संख्या ९ लाख ६४ हजार ५०८ छ । जुन कुल जनसंख्याको ३.२२ प्रतिशत हो । पहिलो डोज मात्रै लगाउनेको संख्या १६ लाख ४७ हजार २९९ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया