दक्षताका लागि टिभेट

          |   प्रकाशित मितिः बिहिबार, असार ३१, २०७८     ::: 27 पटक पढिएको   |  

विश्व युवा दक्षता दिवस

विनोद बडाल

सन् २०१४ को नोभेम्बरमा बसेको संयुक्त राष्ट्रसङ्घको साधारणसभाले हरेक वर्ष जुलाई १५ लाई विश्व युवा दक्षता दिवस (वल्र्ड युथ स्किल्स डे)का रूपमा मनाउने निर्णय गरेपछि प्रत्येक वर्ष यस अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिन्छ । यो दिवस मनाउनुको मूल उद्देश्य युवा जनशक्तिलाई सीपमार्फत रोजगार, सम्मानित काम र उद्यमशील बनाउनु हो । परिवर्तनको संवाहक आजका युवा नै भोलिका कर्णधार हुने भएकाले यस्ता दिवसको महत्व झन् बढेको छ । युवा सामाजिक परिवर्तन, आर्थिक विकास र प्राविधिक नवीनताका एक निर्धारक हुन् । कोभिड–१९ को महामारीका कारण शिक्षा, स्वास्थ्य र रोजगारीको हक गुमाएका ‘अभागी’ पुस्ता अर्थात् आजका युवा वास्तविक जोखिममा रहेका छन् ।
विकासोन्मुख देशका युवालाई आर्थिक र सामाजिक विकासको केन्द्रमा राख्नका लागि उनीहरूलाई बहुआयामिक रूपमा सशक्त बनाउनु आवश्यक छ । यसका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई ‘रामवाण’का रूपमा लिन सकिन्छ । अहिले विश्वका युवाले सम्मानित रोजगारी पाउन, भविष्यमा वृत्तिविकास र उन्नतिपथका लागि उचित शिक्षा वा तालिम प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने चिन्ता छ ।
युवामा विशेषगरी तीन किसिमका अवसर हुन्छन् । पहिलो शिक्षा, दोस्रो रोजगारी र तेस्रो तालिम । यी तीनवटै अवसरबाट वञ्चित युवालाई ‘निट’ (नट इन एजुकेसन, इम्प्लोइमेन्ट एन्ड ट्रेनिङ) भनिन्छ । विश्वमा प्रतिपाँचजना युवामध्ये एकजना ‘निट’ अर्थात् शिक्षा, रोजगार र तालिम केही पनि पाएका छैनन् । हाल विश्वभर ‘निट’मा रहेको सङ्ख्या ३० करोडभन्दा बढी रहेको अनुमान छ । यो सङ्ख्या सन् २०१९ मा २६ करोड ७० लाख र सन् २०१६ मा २५ करोड ९० लाखजति रहेको पाइन्छ ।
कोभिड महामारी सुुरू भएयता १८ देखि २९ वर्ष उमेर समूहका प्रति छजना युवामध्ये एकजनाले रोजगारी गुमाएको र वयस्कभन्दा युवा बेरोजगार हुने सम्भावना तीन गुणा बढी रहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको तथ्याङ्क छ । जसमध्ये युवती बेरोजगार हुने सम्भावना बढी छ । युवाको प्रारम्भिक श्रमबजार प्रवेशमा न्यून अनुभव रहनुका कारण यसप्रकारको समस्या वर्षौंसम्म रहन सक्छ । युवा केवल बेरोजगारमात्र होइन, रोजगारीमा संलग्न भएकाको पनि असुरक्षा र काममा व्यापक असमानता रहेको छ । पाएको रोजगारी पनि गुमेको, भएकाको पनि पारिश्रमिकमा व्यापक कटौती भएको वा अस्थायी काममा चित्त बुझाउनुपरेको छ । प्रत्येक पाँचजना युवा श्रमिकमध्ये दुईजना प्रतिदिन तीन डलरभन्दा कम आयमा श्रम गर्न बाध्य छन् । यो समस्या अल्पविकसित र मध्यम आय भएका देशमा सबैभन्दा बढी छ । यसप्रकारको समस्या समाधानका लागि पनि युवामा सीपयुक्त तालिमको टड्कारो आवश्यकता देखिन्छ ।
प्रविधिमा आएको परिवर्तन र कामको प्रकृतिअनुसार युवा दिनप्रतिदिन बेरोजगार हुँदै जानेक्रम बढ्दो गतिमा रहेकाले यसलाई कम गर्नका लागि संयुक्त राष्ट्रसङ्घ र अन्य सङ्गठनले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट)मा जोड दिएका छन् । टिभेटले युवालाई दक्ष एवम् सीपयुक्त बनाई श्रमबजारमा आवश्यक विभिन्न प्राविधिक जनशक्ति तयार गर्छ । यसले रोजगारीको राम्रो अवसर प्रदान गरी श्रमिकको आयमा वृद्धि, कामप्रतिको सन्तुष्टि, कार्यमा सरलता, लचिलोपन र गतिशीलता प्रदान गर्दै जीवनपर्यन्त सिकाइ (लाइफ लङ लर्निङ)को प्रवद्र्वन गर्छ, जसले व्यक्तिको ज्ञान, सीप, दक्षता, प्रेरणा, मनोवृत्ति र आत्मसम्मानमा सकारात्मक प्रभाव पार्छ ।
‘वल्र्ड युथ स्किल्स डे’ले विश्व अर्थतन्त्रमा व्याप्त बेरोजगारी वा बेरोजगारीको बढ्दो प्रवृत्तिलाई सम्बोधन गरी समाधानका उपाय खोज्न सहयोग गर्छ । कोभिड–१९ को महामारीबीचमा शिक्षा र तालिम प्रणाली अझै केही समय पुरानै लयमा फर्कने सम्भावना छैन । यस महामारीबाट सिर्जित लकडाउन र निषेधाज्ञाका कारण सबै प्रकारका शिक्षण संस्था बन्द भएबाट विशेषगरी आधारभूत र माध्यमिक तहका साधारण र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा ठूलो असर एवम् जोखिम बढाएको छ । युनेस्कोले गरेको एक अध्ययनअनुसार विश्वका लगभग ७० प्रतिशत शिक्षण संस्था बन्द भएका छन् । गत मार्च २०२० देखि जुन २०२१ बीचमा ४१ हप्ताभन्दा बढी समय विद्यालय पूर्ण वा आंशिक रूपमा बन्द भए । यसबाट करिब १६ करोड विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । अझै पनि १९ देशका विद्यालय पूर्ण रूपमा बन्द छन् ।
यसैगरी युनेस्को, अन्तर्राष्ट्रिय श्रम सङ्गठन र विश्व बैङ्कले संयुक्त रूपमा टिभेटप्रदायक संस्थामा गरेको एक अध्ययन प्रतिवेदनअनुसार लकडाउनको समयमा अनलाइन वा दूरशिक्षा र तालिममात्र एक विकल्प भए पनि यसको कार्यान्वयनमा कठिनाइ भएको छ । भौगोलिक विकटता, स्रोत साधन व्यवस्थापन, पाठ्यक्रम अनुकूलन, प्रशिक्षार्थी र प्रशिक्षकको तत्परता, विद्युत् र इन्टरनेटको पहुँच, मोबाइल, ल्यापटप र सूचना प्रविधिको सुविधा र उपलब्धता, विद्यार्थीको मूल्याङ्कन र प्रमाणीकरण प्रक्रियाका कारण पठनपाठन प्रक्रिया सहज हुन नसकेका कारण सिकाइ त्यति प्रभावकारी भएको पाइँदैन ।
एकातिर भूमण्डलीकरणको प्रभाव, विज्ञान र प्रविधिको विकासका कारण विश्वभर मानिसका असीमित आवश्यकता बढ्दै छन् । अर्कोतिर संरचनात्मक बेरोजगारीले विश्वव्यापी अर्थतन्त्रमा गिरावट आई समावेशी र समृद्ध समाज निर्माण एवम् साझा दिगो विकासको लक्ष्य हासिल गर्न पनि असहज बनाएको छ । विभिन्न उपभोग्य वस्तु र सेवाको अत्यधिक माग दिनप्रतिदिन बढ्दो छ । यसले विश्वव्यापी रूपमा दक्ष जनशक्तिको बढ्दो आवश्यकतालाई स्पष्ट पार्छ । युवा शक्तिको सीप विकास गर्नु उनीहरूको सशक्तीकरणको माध्यम हो भने युवालक्षित कार्यक्रम सञ्चालन गर्नु आधारभूत र अपरिहार्य हुन्छ । यसका लागि प्रत्येक राष्ट्र, समुदाय र व्यक्तिले जिम्मेवारीसाथ आफू, आफ्नो समाज र देश विकासका लागि प्रयास गर्नुपर्छ । व्यक्ति, परिवार, समाज र देश विकास भएमात्र समृद्ध राष्ट्र सम्भव छ ।
विश्व युवा दक्षता दिवसजस्ता कार्यक्रमले युवा, टिभेटप्रदायक सङ्घ संस्था, रोजगारदाता, ट्रेड युुनियन तथा विकास साझेदारबीच समन्वय र सहकार्यको अवसर प्रदान गर्छन् । टिभेटले युवा, वयस्क र रोजगारीका लागि आवश्यक सीप विकास गर्न मद्दत गर्छ भने सम्मानित काम र उद्यमशीलता, समान, समावेशी र दिगो आर्थिक वृद्धिलाई प्रोत्साहित गर्छ । यसै दिवसको अवसरलाई सदुपयोग गर्दै सङ्क्रमणकाललाई सहयोग पु‍¥याउने तथा आर्थिक, प्राविधिक, सामाजिक, साँस्कृतिक, वातावरणीयजस्ता बहुआयामिक विषय सम्बोधन गर्न सकिन्छ । यसले युवालाई कामको संसारमा टिकाउन आवश्यक पर्ने सीप प्रदान गर्न प्रोत्साहित गर्छ । कम्पनी र समुदायलाई दक्ष जनशक्ति तयार गर्न, बजारको मागअनुरूप सीप हस्तान्तरण गर्न, ज्याला तथा स्तर अभिवृद्धि गर्न पनि मद्दत गर्छ । आजका युवालाई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको महŒवबारेमा सचेतना जगाई श्रमबजारका माग सम्बोधन गर्नेगरी आवश्यक सीपयुक्त जनशक्ति विकास गर्न सकेमा मात्र यो दिवसले वास्तवमै सार्थकता पाउनेछ ।
(लेखक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का निर्देशक हुनुहुन्छ ।)



Leave a comment

Your email address will not be published.


*