सरकारको प्राथमिकतामा खोप : प्रधानमन्त्री देउवा

सरकारको प्राथमिकतामा खोप : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोपमा भएको बताएका छन्। ‘सरकारको पहिलो प्राथमिकता खोप हो। दोस्रो प्राथमिकता पनि खोप र तेस्रो प्राथमिकता खोप नै हो’, प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘अहिलेलाई विकासभन्दा पनि नागरिकको जीवनरक्षा महत्वपूर्ण हो।’

प्रधानमन्त्री देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठकमा उपस्थित नभएकोमा असन्तुष्टि जनाए। उनले ओली संसद आएको भए आफूलाई खुसी लाग्ने बताए। देउवाले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेकामा एक्लै जस नलिन नेकपा एमालेलाई आग्रह गरे। प्रतिनिधिसभामा सबै सांसदले एकमतले नक्सा पारित गरेको भन्दै कसैले पनि एक्लै जस लिन नहुने बताए। प्रधानमन्त्री देउवाले मधेसको मुद्दामा आफू छलफल गर्न तयार रहेको पनि बताए। ‘मधेसको मुद्दामा छलफल गर्न म तयार छु। उनीहरूलाई कसरी अधिकार प्रत्यारोपण गर्ने भन्ने विषयमा सबैसँग छलफल गरेर अघि बढौं’, उनले भने।

उनले सबैको त्याग, तपस्या र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए। ‘नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिककाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले भने।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेलाई सत्ताबाहिर बसेर ढाँठछल नगर्न चेतावनी दिए। ‘राष्ट्रपति कार्यालयमा अस्वाभाविक परिघटना भए। त्यहाँ प्रधानमन्त्री नियुक्तिमा प्रयोग भएको भाषा संविधानको मर्म र भावनाविपरीत थियो। शपथ ग्रहण रोकिएको थियो। हरेक पटक हामी शान्ति प्रक्रियामा आएपछि पनि आउने र जाने प्रधानमन्त्री साइड बाइ साइड कुर्सीमा बस्ने परम्परा थियो। शपथपछि कुर्सी साटिन्थ्यो। तर, अहिले शेरबहादुर देउवाका सन्दर्भमा देखिएन। निवर्तमान प्रधानमन्त्री उपस्थित हुनुभएन। कोभित्र लोकतान्त्रिक संस्कार छ ? भिन्न मतलाई स्वीकार गर्न सक्ने क्षमता कोसँग छ ?’, दाहालले प्रश्न गरे, ‘त्यो सबै नैतिकता र संस्कारको प्रश्न हो भन्ने ठान्छु।’

प्रचण्डले नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीको अभिव्यक्तिप्रति चित्त दुखेको बताए। ज्ञवालीले युद्ध जित्न नसकेर हारेर आएर लोकतन्त्र मानेका होइनौं भनेको भन्दै उनले चित्त दुखाएका हुन्। ‘मलाई र शान्ति सम्झौताका सहयात्री सबैलाई चित्त दुख्ने कुरा तपाईंले गर्नुभयो। तपाईं एमालेको तिनै नेतामध्ये होइन, जो माओवादी आन्दोलनका नेताहरूसँग संविधानसभा गणतन्त्रमा सहमति गरौं भन्ने ? टाउको काट्नेमा तपाईं हुनुहुन्थ्यो नि होइन ?’, प्रचण्डले भने, ‘माओवादीले लोकतन्त्रको पक्ष लिन हुन्न भन्न खोजेको हो ? हामीले हारेको, तपाईंहरूले जितेको हो ? यसले नेपालको शान्ति प्रक्रियालाई दिगो बनाउँछ ?’

उनले माओवादी आन्दोलनलाई केही होइन भन्ने नसोच्न पनि चेतावनी दिए। ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रूपान्तरणतिर ल्याइएको छ। यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ। त्यो बुद्धितिर कोही पनि नजाऔं।’ उनले निवर्तमान प्रधानमन्त्री ओलीलाई व्यक्तिगत अहंकार र दम्भ नराख्न पनि आग्रह गरे। ‘व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण हुँदैन, बनेको इतिहासलाई तपाईंले व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु भएको हो भने ब्लन्डर गर्दै हुनुहुन्छ’ उनले भने, ‘यसको फल भोग्नुहुन्छ भोग्दै जानुहुन्छ।’

यसैगरी नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरे। उनले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन्। ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ। आज ५ जना श्रीमानहरूबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनु भएको छ। उतिबेला श्री ५, अहिले श्रीमान ५।’

उनले रेफ्री आफैंले गोल हानेर कुनै टिमलाई जिताए जसरी सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको जिकिर गरे। ‘रेफ्रीले आफैं गोल हानिदिनुभयो। विजेता घोषणा गरिदिनुभयो। रेफ्रीले हानेको गोलबाट उहाँ विजेता हुनुभयो। तर, प्रणाली भत्कियो शक्ति पृथकीकरण खल्बलियो’, उनले भने, ‘तर, जतिसुकै अप्रिय होस् हामी सर्वोच्च अदालतका फैसलाहरूलाई मान्छौं र स्वीकार गर्छौं।’

सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले सत्ता कसरी चल्छ भनेर अब नेपाली जनताले हेर्ने बताए। उनले सत्ताभन्दा बाहिर भए पनि अहंकार नदेखाउन एमाले नेताहरूलाई आग्रह गरे। ‘प्रतिपक्ष कस्तो चल्ला हेर्दै गरौंला, सत्ता कसरी चल्छ भन्ने अब नेपाली जनताले हेर्छन्’, उनले भने।

उनले एमाले नेताहरूलाई अहंकार नदेखाउन चेतावनी पनि दिए। ‘सत्ता बाहिर हुँदा पनि अहंकार नबोक्नुस्। प्रतिपक्ष हेरौंला, सरकार कसरी चल्छ हामी देखाउँछौं’, डा. रिजालले भने, ‘बीपीका पार्टीका मान्छे हौं। नेपालको अदालतले कठिन दिनमा पनि बाटो देखाएको छ। हिजो जनता संक्रमणमा हुँदा के–के गरियो ? इनफ इज इनफ भनेर जनता सडकमा आएका होइनन् ? खोप र औषधि खरिदमा भ्रष्टाचार हुँदैन देउवा सरकारबाट यो विश्वास दिलाउन चाहन्छौं।’

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउँदै उनी जनताको आदेशले भन्दा पनि सर्वोच्च अदालतको परमादेशले बनेको जिकिर गरे। ‘प्रधानमन्त्रीले विश्वासको मत माग्नुभयो। हामीले स्वीकार गर्यौं,’ उनले भने, ‘हामी शेरबहादुर देउवालाई विश्वासको मत दिन्छौं । तर, यो सरकार जनताको आदेशले बनेको होइन, परमादेशले बनेको सरकार हो।’ उनले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताउँदै नागरिकतासम्बन्धी अध्ययादेशमाथि गरिएको फैसलामा पनि पुनर्विचार गर्नुपर्ने बताए। ‘हामी सर्वोच्च अदालतको फैसलाको सम्मान गर्छौं तर, नागरिकता दिने अधिकार राज्यको हो। जोसँग नागरिकता छैन, उसको राष्ट्रियता के हो ? राष्ट्रियताको निर्धारण पनि अदालतले नै गर्ने हो ?’, ठाकुरले प्रश्न गरे।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको बताए। वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरू पार्टीमा पनि समस्या आएको दाबी गरे। ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो,’ उनले भने, ‘हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैंले निकास दिन सक्थ्यौं। हामी आपसमा झगडा गर्न थाल्यौं। जसले गर्दा देशको परिस्थिति बेग्लै हुन पुग्यो।’ उनले आफ्ना केही साथीहरूले पहिले बाटो भुले पनि अहिले ठीक ठाउँमा आएको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले अहिलेको शक्ति संघर्ष र सत्ता संघर्षले संविधान र व्यवस्था मात्र असफल नभई ३० वर्षदेखि नेतृत्व गर्दै आएको पुस्तासमेत असफल भएको बताए। उनले संविधानभित्रको छिद्रैछिद्रले पटक–पटक संकट आएको बताए। ‘यो केबल सत्ता संघर्षको कुरुप दृश्य हो। यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन र तटस्थ बस्छ’, उनले भने, ‘शेरबहादुर देउवाको सरकारबाट जनताले ठूलो आशा केही पनि गरेको छैन। खाली राम्रो काम गर्नुस्। अघिल्लो शासनकालमा गर्न नसकेको काम पनि गर्नुस् तर, नराम्रो काम नगर्नुस्।’

यसैगरी नेमकिपाका सांसद प्रेम सुवालले संसदको सर्वोच्चता संविधानमा उल्लेख भए पनि सर्वोच्च अदालतको फैसलाले संसदको सर्वोच्चतासँग अनुकूल नभएकाले जनताको हित नहुने भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए।

प्रतिक्रिया