बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

काठमाडौँ : सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ६ गते बुधबार बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको बताए । यसैगरी, बैठकले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नियुक्ति सिफारिस गरेका ११ जना राजदूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद् बैठकले ती जिल्ललाई असोज मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी    दिए । उनले भने,‘विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।’

खोप उत्पादक देशसँग थप खोप माग

यस्तै सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ । ‘अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्र राष्ट्रहरुलाई आह्वान गरेका छौं,’ मन्त्री कार्कीले भने ।

हाल नेपालमा भारतमा उत्पादित कोभिशिल्ड, चीनमा उत्पादित भेरोसेल र अमेरिकामा बनेको जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । भारतले ११ लाख डोज खोप अनुदानमा दिएको थियो भने नेपालले १० लाख डोज खरिद गरेको थियो । चीनले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ भने नेपालले खरिद गरेर पनि ल्याएको छ ।हालै अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत दिएको जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया