आज साउन १५, खीर खाने पर्व

आज साउन १५, खीर खाने पर्व

काठमाडौं : आज साउन १५ । यो दिनलाई खीर खाने पर्वका रुपमा पनि मनाइन्छ। खीर दूधबाट तयारी पारिन्छ। यो दिन वर्षातले थकित शरीरलाई ऊर्जा दिन खीर खाने नेपाली परम्परा छ। नेपाली चाडबाडमा थरीथरीका परिकार पाक्ने गर्छन्। नेपालीका भान्सामा दसैंमा मासुका परिकार बढी पाक्छन् भने तिहारमा सेल रोटीले सबैको मन जितेको हुन्छ। यस्तै असार १५ मा दही चिउरा खाने गरिन्छ भने साउन १५ खीर खाएर मनाइन्छ।

खीरलाई चोखो परिकारका रुपमा लिने पनि नेपाली प्रचलन छ। त्यसैले  पूजापाठ वा  श्राद्धमा खीर चढाइने गरिन्छ। चामल, दूध, नरिवल, काजू तथा मरिचको मिश्रणबाट खीर बनाइन्छ।विभिन्न मरमसलाको प्रयोग गरी खीर पकाइने हुँदा यसमा विभिन्न पौष्टिक तत्व रहेको हुन्छ। यस्तो परिकार स्वास्थ्यका लागि फाइदाजनक हुने आम धारणा छ।

खीर सबै उमेर समूहका लागि फाइदाजनक हुने पोषणविद् बताउँछन्। तर खीर पकाउँदा त्यसमा प्रयोग गरिने मसलामा विशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ।मधुमेहका बिरामीले मसलायुक्त खीर नखान विज्ञहरुको सल्लाह छ। बढी मात्रामा चिनी र मसला राखेर पकाएका खीरले बिरामीलाई फाइदा गर्दैन। बिरामीले खीर खान मन गरे कम दूध राखेर मसलायुक्त खीर खुवाउन सकिन्छ।

बढी मात्रामा दूध र कम मसलाको प्रयोग गरी पकाएको खीर बालबालिकाका लागि फाइदा हुन्छ। असार १५ भित्र खेतिपातिको काम सकेर फुर्सदिलो हुने भएकाले किसाहरुले खीर खाने गरेको भन्ने भनाइ पनि छ। तर पछिल्लो समय खीर सबैको रोजाइमा पर्ने गरेको छ। असारको झरीमा रुझेको शरीरलाई शक्ति दिन खीर खाने गरेको किसान बताउँछन्।

खीरका लागि आवश्यक सामग्री

– चामल

– दूध

– किसमिस

– काजु

– नरिवल

– मरिचको दूलो

– सुकमेल

– चिनी

यसरी पकाउनुहोस्

सबैभन्दा पहिले कतिजनालाई खीर पकाउने हो त्यहीअनुसार चामल पानीमा भिजाउने। चामललाई करिब २/३ घन्टा पानीमा भिजाउनुपर्छ। माथि तयार पारिएका मसलाहरूलाई घिउमा हल्का रातो हुनेगरी भुट्नुपर्छ। अब खीर पकाउने भाँडो चुलोमा बसाल्ने। त्यसमा आवश्यकताअनुसार घिउ राख्ने। घिउ तातिसकेपछि त्यसमा भिजाएको चामल हल्का रातो हुनेगरी भुट्ने।

चामल भुटिसकेपछि त्यसमा दूध राख्ने। आगोको आँच सानो बनाउने। पटक पटक चलाइरहने। चामल पाकिसकेपछि तयार पारेको मसला र स्वादअनुसार चिनी राख्ने। सबै मरमसला राखेर खीर राम्रोसँग चलाउने। यसरी तयार पारेको खीर आलुको अचारसँग खाँदाको मज्जा नै बेग्लै हुन्छ।

प्रतिक्रिया