शिशुको स्वस्थ जीवनका लागि स्तनपान

          |   प्रकाशित मितिः आइतवार, साउन १७, २०७८     ::: 64 पटक पढिएको   |  

गङ्गाराज अर्याल

हरेक वर्षझैँ यस वर्ष पनि विश्वका एक सय बीसभन्दा बढी मुलुकमा एक हप्तासम्म ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ । विश्वव्यापी जनचेतना अभिवृद्धि गरी स्तनपानलाई मानव अधिकारका रूपमा सम्मान, सुरक्षा एवं परिपूर्ति गरिनुपर्ने दिशातर्फ विश्व स्तनपान सप्ताह केन्द्रित छ । विश्व स्वास्थ्य सङ्घले आमा तथा नवजात शिशु स्याहारमा लाग्न सम्पूर्ण सङ्घसंस्थालाई आह्वान गरेको छ ।

स्तनपानको ऐतिहासिक पृष्ठभूमि
जन्मनासाथ एक घण्टाभित्रै शिशुलाई आमाको नाङ्गो छातीमा टाँसेर दूध (स्तन) चुसाउन सुरु गरी २४सै घण्टा शिशुको चाहनाअनुसार अरू कुनै पनि पदार्थ नमिसाई छ महिनासम्म प्रचुर मात्रामा र कम्तीमा दुई वर्षसम्म नछुटाई दूध चुसाउनु नै स्तनपान हो । शिशुका लागि सर्वोत्तम पोषक तìवका रूपमा रहेको स्तनपानले मातृ–शिशुका कतिपय स्वास्थ्य समस्याको जोखिमलाई घटाउँछ । विश्वभरिका शिशु÷बालबालिका तथा आमाको स्वास्थ्यलाई दृष्टिगत गरी प्रभावकारी स्तनपानबाट शिशुको सुरक्षा, शारीरिक तथा मानसिक वृद्धि–विकास र स्वास्थ्यको सुधारलाई महसुस गरेर सन् १९९० मा स्तनपानलाई विश्वव्यापी अभियानका रूपमा प्रवद्र्धन गर्ने घोषणा गरियो । त्यसैअनुरूप १९९१ मा विश्वस्तरीय स्तनपान प्रवद्र्धन समूह (वल्र्ड एलाइन्स फर ब्रेस्टफिडिङ एसोसिएसन)को स्थापना गरियो ।

विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय बालकोषलगायत सरकारी, गैरसरकारी सङ्गठनको आह्वानमा सन् १९९२ देखि मातृ–शिशुको स्वस्थकर जीवनका लागि स्वास्थ्य संस्था, महिला तथा कार्यस्थल, आमाको दूधलाई प्रतिस्थापन गर्ने दुग्धपदार्थ, सामुदायिक सहयोग, पारिस्थितिक वातावरण, आर्थिक अवस्था, वैज्ञानिक, शैक्षिक क्षेत्र तथा मानवाधिकार क्षेत्रबाट सघाउ पु-याई स्तनपानलाई अभियानकै रूपमा हरेक वर्ष अगस्त महिनाको १–७ तारिखसम्म ‘विश्व स्तनपान सप्ताह’ मनाउन सुरु गरिएको हो । सन् २०१६ देखि दिगो विकास लक्ष्यसँग आबद्ध भएको र सन् २०१८ मा विश्व स्वास्थ्य साधारण सभाद्वारा विश्व स्तनपान सप्ताहलाई स्तनपान प्रवद्र्धनको रणनीतिका रूपमा स्वीकृत गरेको हो ।

विश्वभरिका ४३ प्रतिशत शिशुले मात्र जन्मेको एक घण्टाभित्र आमाको स्तनपान गर्दछन् भने ४१ प्रतिशतले मात्र छ महिनासम्म प्रचुर मात्रामा स्तनपान गर्न पाएका छन् । जम्मा ७० प्रतिशत आमाले एक घण्टाभित्र तथा तीमध्ये ४५ प्रतिशतले मात्र दुई वर्षसम्म स्तनपान गराउँछन् । स्वास्थ्य सेवा विभागको २०७५/७६ को प्रतिवेदनअनुसार नेपालका ३३ प्रतिशत शिशुले मात्र प्रचुर मात्रामा स्तनपान गर्न पाउँछन् । भर्खर जन्मेका शिशु ११ प्रतिशतभन्दा बढी, ११ महिनासम्मका ३ प्रतिशत र १२ देखि २३ महिनासम्मका झन्डै ६ प्रतिशत शिशु कम तौल (दुई किलो ५०० ग्रामभन्दा कम) भएका जन्मन्छन् । ४६ प्रतिशत प्रजनन उमेरका गर्भवतीमा रक्तअल्पता पाइएको छ भने झन्डै ४४ प्रतिशतजति १५ देखि १९ वर्ष उमेरका किशोरीमा रक्तअल्पता पाइएको छ ।

विश्व स्तनपान सप्ताहको लक्ष्य
सन् २०२५ सम्म जन्मेदेखि छ महिनासम्मका कम्तीमा ५० प्रतिशत शिशुले प्रचुर मात्रामा स्तनपान गर्न पाउने लक्ष्य राखिएको छ । स्तनपानको सुरक्षाको महìवका बारेमा जनमानसलाई जानकारी गराउने तथा स्तनपानलाई सघाउ पु-याउन जनस्वास्थ्यको प्रमुख जिम्मेवारी बोध गराउने, स्तनपानलाई सुरक्षा, सहयोग एवं प्रवद्र्धन गर्ने काममा जनस्वास्थ्य प्रणालीको सुधार गर्ने उद्देश्यअनुरूप कार्य गरिएको छ ।

स्तनपानको महत्त्व
सुत्केरी हुनासाथ स्तनबाट निस्कने पहेँलो, बाक्लो बिगौती दूधमा शिशुका लागि सम्पूर्ण वृद्धि विकासमा आवश्यक कार्बोहाइडे«ट, प्रोटिन, बोसो, भिटामिन तथा खनिजजस्ता पौष्टिक पदार्थ सही मात्रामा पाइन्छन् । आमाको दूध शिशुका लागि अत्यन्त सफा, स्वच्छ, पोषणयुक्त र रोग प्रतिरोधक क्षमता भएको पूर्ण खाना हो । यसले शिशुलाई विभिन्न कीटाणु तथा जीवाणुको सङ्क्रमण, मधुमेह–२ एवं कतिपय अवस्थामा क्यान्सर हुनबाट बचाउँछ । सजिलै पच्ने, केही पनि मिसाउन नपर्ने र शिशुको चाहनामा जुनसुकै बेला ख्वाउन सकिने र शरीरको राम्रो वृद्धि विकास हुने हुँदा आमाको दूधलाई
अमृतसमान मानिन्छ ।

स्तनपान शिशुको पहिलो खोप
शिशुको अधिकतम वृद्धि विकास जन्मेको छ महिनासम्ममा भइसकेको हुन्छ । त्यसकारण शिशु जन्मनासाथ सकेसम्म छिटो एक घण्टाभित्र सुरु गरी छ महिनासम्म लगातार स्तनपान गराएमा आमाको दूधमा पाइने कोलस्ट्रम (बिगौती)मा विभिन्न रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) हुने हुँदा स्तनपान गरेका शिशुलाई घातक सङ्क्रामक रोगका साथै केही क्यान्सरसमेतले आक्रमण गर्न सक्दैनन् । प्रचुर मात्रामा स्तनपान गराइरहेकी आमालाई गर्भान्तर गर्न परिवार नियोजनका साधन प्रयोग गर्नै पर्दैन । किनभने स्तनपान गराएका आमालाई छ महिनासम्म ९८ प्रतिशत प्राकृतिक तवरले गर्भान्तर गर्ने अवसर प्राप्त हुन्छ । स्तनपान गराउने सुत्केरी आमालाई स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र मनोरोगको सम्भावना न्यून हुन्छ ।

स्तनपानको सही तरिका
प्रायःजसो नवसुत्केरीले स्तनपान गराउने सही तरिकाको ख्यालै नगरेको पाइन्छ । यसो गर्दा शिशुले अघाउञ्जेल दूध खान पाउँदैन । स्तनको मुन्टो धसिएको र सानो हुन सक्छ । त्यसो भएमा आफैँले तेल लगाई मालिस गरेमा बिस्तारै सामान्य अवस्थामा ल्याउन सकिन्छ । यति गर्दा नआएमा नजिकका स्वास्थ्यकर्मीलाई देखाउनु पर्दछ । स्तनपान गराउँदा स्तनको मुन्टो (निप्पल) वरिपरिको कालो भाग शिशुको मुखभित्र पसेको हुनुपर्छ । तब मात्र शिशुले अघाउञ्जेल दूध चुस्न पाएको यकिन हुन्छ । आमाका हातका औँलाले दूधको मुन्टो थिची सजिलोसँग स्तनपान गराउनुपर्दछ । किनभने स्तनले शिशुको नाक थिचेमा राम्ररी दूध चुस्न सक्दैन र कहिलेकाहीँ श्वास फेर्न नसकी मृत्युसमेत हुनसक्छ ।

सुरुको पहिलो दूध पातलो हुन्छ । एकछिन चुसेपछि मात्र बाक्लो दूध आउँछ । त्यसैले आरामसाथ बसेर एक पटकमा एकातिर कम्तीमा १५ मिनटसम्म चुसाई पालैपालोसँग दूध चुसाउनुपर्दछ । कामको बोझ वा लाजले गर्दा हतारमा केही मिनेट चुसाएर छोड्दा बाक्लो दूध खान पाउँदैन र अघाउँदैन । त्यसैले दुवै स्तन राम्ररी चुसाएपछि घोप्टो पारी शिशुलाई छातीमा टाँसेर पिठ्युमा थपथपाउनु पर्छ । यसो गर्दा शिशुले डकार्छ र बान्ता गर्ने डर पनि हुँदैन ।

स्तनपानमा देखिएका समस्या
नेपालका महिलाको साक्षरता दरमा कमी, चेतनाको कमी, परिवार, समाजमा स्तनपानसम्बन्धी रुढीवादी परम्पराले स्तनपानमा कुसंस्कारले जरो गाडेको छ । केवल ५६ प्रतिशत गर्भावतीले कम्तीमा चार पटक गर्भ परीक्षण गराउने, धेरैजसो पहिलो सुत्केरीलाई स्तनपानको महìवबारे ज्ञानको कमी, सुत्केरी भएपछि साल ननिस्केसम्म स्तनपानको सट्टा घिउ, मह, चिनी, सख्खर ख्वाउने अवधारणा, स्तनपान गराउँदा दूध कम आएमा अरूलाई बोलाई चुसाउन लगाउने, परिवारबाट स्तनपानभन्दा काममै जोड दिने, कम दूध आएमा पनि नियमित नचुसाउने, दिनमा तीन वा चार पटक मात्र र एकातिरको स्तन मात्र चुसाउने, आरामसाथ बसेर स्तनपान गराउनुपर्ने चेतनाको कमीले ठूलो समस्या उत्पन्न भएको छ भने बढ्दो र बिग्रदाे सहरीकरण, सुत्केरीपछिको परीक्षण नगराउनाले समस्या देखिन्छ । अर्कोतिर बजारमा स्तनपानलाई प्रतिस्थापन गर्ने सेरेलेक, ल्याक्टोजिन जस्ता हानिकारक दुग्धपदार्थको प्रचार एवं सहजै उपलब्धताका कारणले पनि प्रभावकारी स्तनपानमा अवरोध उत्पन्न हुन्छ । गत एक वर्षअघि सुरु भएको कोभिड–१९ महामारीका कारण पोषिलो खानाको कमी, आमा तथा शिशुमा सङ्क्रमणको जोखिम, निषेधाज्ञा आदिबाट स्तनपानमैत्री वातावरणको कमीले प्रभावकारी स्तनपान गराउन नसकी अल्पकालीन र दीर्घकालीन समस्या उत्पन्न हुने देखिन्छ ।

स्तनपान प्रवर्धनमा सरकारी कदम
सरकारले नवजात शिशु, मातृ–शिशु स्वास्थ्य, प्रचुर मात्रामा स्तनपानलाई प्रोत्साहन, सुरक्षा, सहयोग गर्न आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानुन बनाए पनि कार्यान्वयन पक्ष अत्यन्त फितलो छ । पोषण कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय बालकोष र अमेरिकी सहयोग नियोगले सहयोगी संस्था देखिन्छन्, सुआहारा कार्यक्रमद्वारा ‘सुनौला हजार दिन’ लागू भएको तीन वर्ष पुगे पनि शिशुको पोषणको अवस्था बर्सेनि खस्केर कुपोषितको सङ्ख्या बढ्दो छ । यस्ता देखावटी पोषण कार्यक्रममा सरकारले प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गरी आवश्यक सुधार ल्याउन सकेको छैन । सरकारी संयन्त्र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साक्षी बनेको छ ।

राज्यका स्वास्थ्यकर्मीलगायत सङ्घसंस्थामार्फत समुदायस्तरसम्म सही किसिमबाट स्तनपान गराउन गर्भवती, सुत्केरी आमालाई व्यापक रूपमा शिक्षा र सीप सिकाइनुपर्छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने झन्डै ६० प्रतिशत आमालाई घर पठाउँदा शिशुलाई छ महिनासम्म प्रचुर मात्रामा, एक पटकमा कम्तीमा १५/१५ मिनेट गरी ३० मिनेटसम्म र मागेसम्म जतिबेला पनि स्तनपानको प्रवद्र्धन गर्नुपर्छ । गर्भावस्थादेखि नै घरपरिवारबाट आवश्यक पोषिलो खाना र सुत्केरीपछि स्तनपान गराउन पूर्ण सहयोग गर्नुपर्छ । जन्मनासाथ आमाको नाङ्गो छातीमा आमा र शिशुको छालासँग टाँसिएर मात्र स्तनपान गराउनु अत्यन्त आवश्यक र वाञ्छनीय हुन्छ ।

यसरी स्तनपान गराउँदा कुनै बाधा, अवरोध उत्पन्न भएमा पनि सामना गरेरै स्तनपान गराइनुपर्छ । सकेसम्म आमा र शिशुलाई धेरै समयसम्म एकै ठाउँ राख्नुपर्छ । आपत्कालीन स्वास्थ्य समस्या नदेखिएसम्म नवाजात शिशुलाई आमाको दूधबाहेक अन्य कुनै दुग्धजन्य पदार्थ ख्वाउनु हुँदैन । स्तनपानबाहेक दूधको बोतल, शिशुलाई शान्त पार्ने पेय वा अन्य दुग्धजन्य पदार्थ कदापि ख्वाउनु हुँदैन । हरेक वर्षको एकपटक अर्थात् अगस्ट महिनाको १ देखि ७ तारिखसम्म प्रवद्र्धन गरिने स्तनपान सप्ताहलाई हाम्रोजस्तो मुलुकमा वर्षमा कम्तीमा चार सप्ताह प्रवद्र्धन गरिनुपर्छ । स्तनपान प्रवद्र्धनमा समुदायस्तरसम्मका नागरिक समाज, औपचारिक/अनौपचारिक नेताहरू, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, किशोरकिशोरी, स्थानीय सङ्घसंस्थालाई सहभागी गराई अभियानका रूपमा स्तनपान प्रवद्र्धनको आयोजना गरिनुपर्छ । हरेक समुदायस्तरसम्ममा कार्यक्रम गरेर व्यापक रूपमा चेतना अभिवृद्धि गरिनुपर्छ । यसो गरेमा मात्र हामी, हाम्रा सरोकारवालालाई स्तनपानको प्रभावकारी प्रवद्र्धन, संरक्षण तथा सहयोगको दायित्वबोध हुनसक्छ र गर्भवती एवं सुत्केरी आमा सही र यथेष्ट समय स्तनपान गराउन सक्षम हुन्छन् । गाेरखापत्र



Leave a comment

Your email address will not be published.


*