कोरोनाले ९९९४ को मृत्यु

कोरोनाले ९९९४ को मृत्यु

काठमाडौँ : कोरोना संक्रमणबाट १४ महिनामा मुलुकभित्र झन्डै १० हजार जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म ७ लाख ७३ हजार ८ सय ६० जनालाई संक्रमण पुष्टि भएकामा ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ हजार ६ सय ४० जना पुरुष छन् ।

मृत्युदर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने दर भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी हो । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलंकामा १.४ रहेको छ । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यसयता ६ हजार ९ सय ८० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । एकै दिन सबैभन्दा धेरै जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाबाट मृत्यु हुनेमा ६० वर्षभन्दा माथिका ५ हजार ३ सय ७३ जना छन् । ‘पहिलो लहरमा ६० वर्षभन्दा बढी उमेर समूहका वृद्धवृद्धाले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा युवाले पनि ज्यान गुमाए,’ उनले भने । ९ वर्षभन्दा मुनिका ४५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुने दर पनि बालबालिकामा ८ प्रतिशत हाराहारी छ । बिहीबार देशभरका संक्रमितमध्ये ८.९६ प्रतिशत २० वर्षभन्दा कम उमेरका छन् । १० वर्षभन्दा मुनिका मात्रै ८७ जना संक्रमित भएका छन् । वैशाख २७ मा २० वर्ष मुनिका ८ प्रतिशत मात्र संक्रमित थिए ।

तेस्रो लहरमा बालबालिका अझ बढी संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसको तयारीका लागि १ सय ८० भेन्टिलेटरसहितको २ सय ७५ आईसीयू बेड थप गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

‘कोरोनाकै कारण १० हजारको मृत्यु हुनु दुर्भाग्य हो, यसलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ प्रवक्ता डा. पौडेलले भने, ‘आगामी दिनमा मृत्युदर घटाउन के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ । अस्पतालमा आवश्यक पर्ने उपकरण खरिद गर्न बजेट पनि पठाइसकेका छौं ।’ जोखिम त्यतिकै रहेकाले अस्पतालको सेवा विस्तार र खोप पुर्याउने प्रयास जारी रहेको उनले बताए ।

मन्त्रालयले आउँदो ५ महिनामा करिब २ लाख संक्रमित थपिने प्रक्षेपण गरेको छ । प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बिहीबार भएको छलफलमा स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना रहेको बताए । ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्न सक्ने प्रक्षेपणमा उल्लेख छ ।

साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १ सय ८३ संक्रमित थपिन सक्ने मन्त्रालयको आकलन छ । कान्तिपुर

प्रतिक्रिया