मुख्यमन्त्री केसीले पाए विश्वासको मत

मुख्यमन्त्री केसीले पाए विश्वासको मत

बुटवल : लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उनी माओवादी केन्द्रका संसदीय दलका नेता हुन् ।

प्रदेशसभामा रहेका ८० सदस्यमध्ये ४२ जनाले उनलाई विश्वासको मत दिए । विपक्षमा भने कुनै पनि मत परेन । केसीलाई नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जनता समाजवादीका ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिह्नबाट चुनाव लडेका विवादास्पद अजय शाही र विमला वलीले उनको पक्षमा मतदान गरेका हुन् । प्रतिपक्षको रुपमा प्रदेशसभामा सहभागी भएकी तारा जीसीले पनि मुख्यमन्त्रीका पक्षमा मतदान गरेकी छन् । सभामा सहभागी भएकी उपसभामुख कृष्णी थारु भने तटस्थ रहिन् ।

प्रमुख प्रतिपक्ष दलले चौथो बैठक पनि बहिस्कार गरेको छ । प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सचिवालयले विपक्षी दलको माग सुनुवाइ नभएकाले बैठकमा सहभागी नभएको बताए । विपक्षी एमालेका ३७ सदस्य छन् ।

सवा ४ बजे सुरू भएको नवौं अधिवेशनको चौथो बैठकमा सभामुख घर्तीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम केसीले मुख्यमन्त्रीमा विश्वासको मत लिने प्रक्रिया अघि बढाएका थिए । केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया