नेपालमा कोरोनाविरुद्ध खोप ट्रायल गर्न अनुमति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपालमा कोरोनाविरुद्ध खोप ट्रायल गर्न अनुमति प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्ध खोपको ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएको नेपाल सरकारका कानुनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बैठकपछि जानकारी दिए । कोरोनाको खोपसँगै बैठकले हैजाविरुद्धको खोपको पनि परीक्षण गर्न अनुमति दिने निर्णय गरेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीका अनुसार परिषदले इथिकल स्वीकृति प्रदान गरेको चीनमा निर्मित वालभ्याक्स खोपलाई मन्त्रिपरिषदले परीक्षण गर्न अनुमति प्रदान गरेको हो । उनका अनुसार चिनियाँ कम्पनीले नेपालमा देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा खोपको परीक्षण गर्ने छ।

‘हामीले इथिकल स्वीकृति दिएपछि परीक्षणको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो । यो एमआरएनए खोप भएपनि सामान्य फ्रिजकै तापक्रममा राख्न मिल्छ,’ उनले भने, ‘नेपालमा ३००० जनामा यसको परीक्षण गरिने छ । त्यसको सबै व्यवस्थापकीय काम देउराली जनताले नै हेर्ने छ ।’

उनका अनुसार यो खोपको तेस्रो तहको परीक्षण हो । ‘खोपको ट्रायलपछि चिनियाँ कम्पनीले नेपालमै उत्पादन समेत गर्ने तयारी गरेकोले पनि हामी यसमा सकारात्मक भएका हौं,’ उनले भने, ‘यसअघिको मन्त्रिपरिषद बैठकले नेपालमा खोप उत्पादनका लागि आवश्यक कार्यविधि पनि पारित गरिसकेको छ ।’

कोरोनाको एमआरएनए खोपसँगै मन्त्रिपरिषदले परीक्षण अनुमति दिएको हैजाको खोपको ट्रायल भने दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले गर्न लागेको हो । इन्स्टिच्युटले यसअघि पनि नेपालमा धेरैवटा खोपको ट्रायल गराइसकेको छ । केही समय अघि कोरोना खोपकै पनि ट्रायलका लागि इन्स्टिच्युटले प्रयास गरेको थियो ।

प्रतिक्रिया