आज विश्व आत्महत्या रोकथाम दिवस

          |   प्रकाशित मितिः शुक्रबार, भदौ २५, २०७८     ::: 218 पटक पढिएको   |  

आत्महत्या रोकथामका लागि देशव्यापी परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने खाँचो चिकित्सकहरुले औंल्याएका छन् ।

दैलेख : आज विश्व आत्महत्या रोकथाम दिवस । ‘कार्यमार्फत आशाको सिर्जना’ नारासहित यो दिवस नेपालसहित आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । आत्महत्या रोकथामको क्षेत्रमा काम गरिरहेको संस्था कोशिस नेपालले गरेको अध्ययन अनुसार नेपालका सातवटा प्रदेशहरुमध्ये सबैभन्दा धेरै आत्महत्या प्रदेश १ मा हुने गरेको छ । दोस्रो धेरै आत्महत्या लुम्बिनी प्रदेशमा हुने गर्दछ ।

आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा विष सेवन गरेर, आगो लगाएर, झुण्डिएर, औजार हातहतियार प्रयोग गरे, हाम फालेर, करेन्ट लागेर र डुबेर ७ हजार १ सय ४१ जनाले आत्महत्या गरेको तथ्याकमा देखिन्छ ।गत वर्ष सबैभन्दा धेरै प्रदेश १ मा १ हजार ५ सय १८ जनाले र लुम्बिनी प्रदेशमा १ हजार ३ सय ८३ जनाले आत्महत्या गरेका छन् ।

यस्तै प्रदेश २ मा ९ सय ५९ जना, बाग्मती प्रदेशमा १ हजार ३२ जना, गण्डकी प्रदेशमा ६ सय ४४ जना, कर्णाली प्रदेश ३ सय ६५ जना र सुदूरपश्चिम प्रदेशमा ६ सय ८८ जनाले आत्महत्या गरेका छन् । विश्वमा आठ लाख जनाले बर्सेनि आत्महत्या गर्ने गरेको मानसिक रोग विशेषज्ञ डा. सन्तोष पोखरेल बताउँछन् । प्रति ४० सेकेण्डको अन्तरमा एक जनाले आत्महत्या गर्ने यो तथ्यांकबाट पुष्टि हुन्छ ।

यो जनस्वास्थ्यको प्रमुख समस्या भएको हुँदा बेलैमा उचित परामर्श दिनसके आत्महत्याबाट हुने मृत्युदर रोक्न सकिने अर्का मानसिक रोग विशेषज्ञ डा. विक्रम काफ्ले बताउँछन् ।

प्रहरीको रेकर्ड र अपराधको वर्गमा आत्महत्यालाई राख्नु गम्भीर भूल हुने चिकित्सकहरु बताउँछन् । आत्महत्यालाई जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा स्वीकार गरेर राज्यले नै रोकथामका लागि देशव्यापी परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने खाँचो चिकित्सकहरुले औंल्याएका छन् । सामाजिक, जैविक र वंशाणुगत कारणले आत्महत्या हुने गरेकाले परिवारमा अभिभावक र सन्तानबीच सम्वादको खाँचो रहेको डा. काफ्ले बताउँछन् ।

आत्महत्याको घटनालाई सनसनी बनाउन आत्महत्याका तरिका सिकाउने ढंगले फोटो, भिडियो राखेर समाचार बनाउने परिपाटीलाई कडाइका साथ रोक्नुपर्नेमा आत्महत्याको क्षेत्रमा काम गर्दै आएकी यशोदा बगालेको सुझाव छ । यसका लागि आफूहरुले प्रेस काउन्सिल नेपालसँग समन्वय गर्ने उनले बताइन् ।



Leave a comment

Your email address will not be published.


*