रजस्वला बदलिँदो बहस

          |   प्रकाशित मितिः शनिबार, भदौ २६, २०७८     ::: 54 पटक पढिएको   |  

आज ऋषिपञ्चमी । तिथि अनुसार भाद्र शुक्ल पञ्चमी । हिन्दु धर्ममा आस्था र विश्वास राख्ने महिलाहरू विभिन्न स्थानमा रहेका सप्तऋषिका मन्दिरमा एक्लै वा समूहमा आबद्ध भएर अरुन्धतीसहित सप्तऋषिको पूजाअर्चना गर्दैछन् । यस दिन सप्तऋषिको पूजा गरेमा रजश्वला (महिनावारी) हुँदाको समयमा जानेर वा नजानेर भएका छुवाछूतको दोषबाट मुक्त हुन सकिन्छ भन्ने विश्वास रहिआएको छ । अर्को अर्थमा भन्दा महिनावारी हुँदा छुवाछूत गरेको पापकट्टीका रूपमा पनि यस पर्वलाई मनाउने गरिएको छ । यद्यपि यो पर्वलाई यतिमा मात्र सीमित नराखी चरित्रदेवीका रूपमा रहेकी अरुन्धतीबाट धेरै कुरा सिक्न सकिने यसका मर्मज्ञहरूको मत पनि छ ।

सामान्यतया स्वस्थ बालिका १० वर्ष पुगेपछि कुनै पनि समयमा रजस्वला हुन्छिन् । बालिका १० देखि १५ वर्ष हुँदा पहिलो पटक रजस्वला हुनु स्वास्थ्यको दृष्टिकोणमा राम्रो मानिन्छ । अझ डा. सुषमा लामाका अनुसार त उमेर पुगेपछि गर्भधारण गर्न सक्षम भएको सङ्केत पनि हो यो । रजस्वला नै नहुने व्यक्तिले सन्तान उत्पादन गर्न वा वंश विस्तार गर्न सक्दैनन् । हो यही रजस्वलासँग जोडेर ऋषिपञ्चमी पर्व मनाइन्छ । यसबारे विभिन्न प्रसङ्ग पुराणहरूमा उल्लेख गरिएको पनि पाइन्छ । अहिलेको समयमा यस्ता विषयको पछि लाग्न नहुने भन्दै यसको विरोध गर्नेहरू पनि छन् ।

रजस्वला हुनु पाप हो ?
‘महिला रजस्वला हुनु नितान्त प्राकृतिक विषय हो’, सहप्राध्यापक डा. प्रियम्वदा काफ्ले भन्नुहुन्छ, ‘महिला रजस्वला हुन्छिन् र त सन्तान उत्पादन गर्न सक्षम हुन्छिन् । वंश अगाडि बढाउन सक्छिन् । त्यसैले रजस्वला हुनु न त कुनै लाजमर्दो विषय हो न त कुनै पापको प्रसङ्ग हो ।’
हिन्दु धर्मशास्त्रले रजस्वलाको चार दिन (कतै पाँच दिन, पश्चिम नेपालतिर सात दिनसम्म) महिलाले भातभान्छा छुन हुँदैन । पूजापाठ र धार्मिक कार्यमा सहभागी हुन हुँदैन । यज्ञोपवीत अर्थात् जनै धारण गरेका पुरुष दाजुभाइ, छोरा, पति वा अन्य कोहीलाई छुन हुँदैन भनेर बन्देज लगाएको छ । यो बन्देज विशेषगरी ब्राह्मण र क्षेत्री परिवारमा रहिआएको छ ।
अझ नेपालका सुदूरपश्चिम क्षेत्रमा त महिनावारी भएको पाँचदेखि सात दिनसम्म घरदेखि पर छुट्टै वासस्थान बनाएर राख्ने चलन छ । जसलाई छाउपडी भनिन्छ । यस्तो अवस्थामा घरभित्र बस्न, बस्तुभाउ छुन मात्र होइन, नुन र दहीदूधजस्ता पोसिला खानेकुरा खानसमेत हुँदैन । यस्तो सामाजिक र पारिवारिक व्यवहारले महिलालाई सकारात्मक विभेदका साथै पीडित पनि बनाएको भन्दै त्यसको उन्मूलनका लागि पछिल्ला केही वर्षदेखि निकै ठूलो अभियान चल्दै आएको छ । चर्को टीकाटिप्पणी र विरोध पनि हुने गरेको हो ।
जति बेला समाज अशिक्षित थियो । महिलाले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनसमेत जानेका थिएनन् । शरीर ढाक्ने कपडा पनि पर्याप्त थिएन । त्यस्तो समयमा महिनावारी हुँदा चारदेखि सात दिनसम्म शरीरबाट बाहिरिने विकारयुक्त रगत अरूले नदेखून्, जहीँतहीँ नखसोस् भन्ने हिसाबले महिलालाई अलग राख्ने परम्परा चलेको हुनसक्छ । यो महिलाकै सुविधाका लागि पनि राम्रै होला । समयक्रममा पुरुषप्रधान समाजले यस्ता बन्देजलाई थप बाध्यकारी बनाउन खोज्यो । अनि पाप र धर्मसँग यो विषय जोडियो । रजस्वला भएका बखत छोइछाइ भएमा पाप लाग्ने र त्यो पापलाई ऋषिपञ्चमीमा पूजा गर्दा पखाल्न सकिने उपाय पनि पुराणहरूमा सुझाइयो ।

राधा चालिसे

के भन्छ त पुराणले ?
भविष्योत्तर पुराणमा उल्लिखित ऋषि पञ्चमीको कथाअनुसार महाराज युधिष्ठिरले भगवान् श्रीकृष्णसँग पापलाई चाँडै नाश गर्ने व्रतको बारेमा जान्ने इच्छा जाहेर गरे । युधिष्ठिरको इच्छा मेटाउन श्रीकृष्णले ऋषिपञ्चमीको कथा सुनाउनुभएको भनी यस पुराणमा उल्लिखित छ ।

कथाअनुसार इन्द्रले वृत्रासुरलाई मार्दा ब्रह्महत्या लागेको थियो । इन्द्र लज्जित भएर ब्रह्माजीकहाँ प्रायश्चित्तका निम्ति पुगे । त्यसबेला ब्रह्माजीले देवतासहित भएर ध्यान गरी चाँडै नै प्रायश्चित्त गरेर इन्द्रको शुद्धि गरे । इन्द्रले गरेको ब्रह्महत्यालाई ब्रह्माजीले चार भाग लगाइदिए । पहिलो अग्निको प्रचण्ड ज्वालामा, दोस्रो नदीको बर्षातमा आउने बाढीमा, तेस्रो पर्वतमा र चौथो स्त्रीको रजमा । यही प्रसङ्गका आधारमा स्त्री रजस्वला हुनुलाई पापको अंशको रूपमा व्याख्या गरिएको देखिन्छ । त्यसैले महिनाको चार दिन महिला अस्पृश्य (छुन नहुने) हुन्छिन् भनिँदै आएको पाइन्छ । यो अवस्थामा महिलाले कहीँकतै वा कसैलाई स्पर्श गर्नुहुँदैन र त्यस्तो स्पर्श भएमा पाप लाग्छ भन्ने मान्यता रही आएको छ ।

पुराणमा उल्लेख भएकै एक अर्को प्रसङ्गमा महिलाले रजस्वला भएको बेला पूर्णरूपमा नबार्दा मृत्युपछि पतिले गोरुको जुनी पाएको र महिलाले कुकुर्नीको जुनी पाएर आफ्नै सन्तानको घरमा अत्यन्तै कष्टकर जीवन व्यतित गर्नुपरेको चर्चा पनि छ । त्यसैले यस पापबाट मुक्ति पाउन पनि पञ्चमीको व्रत पालना गर्नुपर्छ ।

पुराणहरूले रजस्वलालाई पाप र धर्मसँग जोडेको छ । व्रत बस्नुअघिको स्नान विधिलाई पनि निकै महŒव दिइएको छ । विधिपूर्वक गरिएको स्नानले महिलाको आयु, यश, बल, वाणी, सन्तान सुख अभिवृद्धि गर्छ भन्ने विश्वास
रहीआएको डा. प्रियम्वदा काफ्लेको भनाइ छ ।

जस्तो कि यस दिन ३६५ वटा दतिवनका टुक्राले दाँत सफा गरिन्छ । आयुर्वेदमा दतिवनको निकै ठूलो महŒव छ । जसले हाम्रो मुखको सरसफाइ गर्न मद्दत गर्छ । ३६५ भन्नुको मतलब वर्षदिनभरि नै सफा गर्न शिक्षा दिएको हो ।
यस्तै तुलसीको मठको वा अन्य पवित्र स्थानकोे माटो शरीरमा लगाएर नुहाइन्छ । शरीरमा राम्रो माटोको लेपन गर्नु विज्ञानले पनि राम्रो मानेको छ र त पश्चिमाहरू समुद्रको तट गएर बालुवाले नै भए पनि पुरिएर बस्न थालेका छन् ।

तिल वा अमलाको पिनाले कपाल नुहाउनु आफैँमा स्वस्थकर पद्धति हो । अनुहारमा रायो, सस्र्यूं, बेसार मिलाएको बुकुवा लगाउँदा छुट्टै चमक आएर छाला राम्रो बनाउने प्रमाणित कुरा हुन् । यसरी पञ्चमीस्नानले शरीर शुद्ध बनाउने, प्राकृतिक रूपमा महिलाको शरीरको सौन्दर्य बढाउने तरिका सिकाएको पनि डा. प्रियम्वदाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्नानपछि शुद्ध र भएसम्म राता राम्रा वस्त्र लगाएर शृङ्गार गरेर अरुन्धतीसहित सप्तऋषिको पूजा गरिन्छ । सप्तऋषिमा वशिष्ठ, विश्वामित्र, अत्रि, भारद्वाज, जमदग्नि, गौतम, कश्यप ऋषिको पूजा गरिन्छ । यी ऋषिहरू हाम्रा पूर्वज हुन्, जो अत्यन्तै विद्वान्, बलशाली थिए भन्ने विश्वास गरिन्छ । उनीहरूको स्मरण र पूजा तथा सम्मान गरेर जीवनलाई अगाडि बढाउने प्रतिज्ञा गर्दा नराम्रो केही हुँदैन । यो दिन साँझमा शाकाहारी वा कन्दमूलको भोजन गरिन्छ ।

नैतिक शिक्षाका आधार
कतिपय धार्मिक परम्पराले मानिसलाई अनुशासित जीवन व्यतित गर्न अभिपे्ररित गरिरहेको हुन्छ । महिनावारीकै विषयलाई लिएर हेर्दा पनि महिनाको चारदेखि सात दिनसम्म महिलालाई जेजति काम गर्नबाट बन्देज लगाइन्छ, त्यसबाट महिलाले शारीरिक रूपमा आराम पाउँछिन् । यसै पनि महिनावारी अवस्थामा महिलाले शारीरिक र मानसिक रूपमा पनि निकै असहज महसुस गरिरहेकी हुन्छिन् । उनको शरीरबाट विकारयुक्त रगत बाहिरिन्छ । यसरी विकारयुक्त रगत बगिरहेको अवस्थामा जथाभावी हिँडडुल गर्दा र विभिन्न सामान र वस्तुहरू छुँदा, खाँदा त्यसबाट निस्किने नकारात्मक ऊर्जाको दुष्प्रभाव फैलिन्छ भनेर कहीँ कतै छुन हुँदैन भनेर अलग्गै बस्नुपर्छ भनिएको होला । यतिबेला सरसफाइमा ध्यान दिन सकिएन भने त्यसले अरू वस्तुलाई पनि विकारयुक्त नै बनाउँछ भन्ने मान्यता छ ।

उहाँले यस्तो अवस्थामा अपहेलना नै गरेर महिलाले छाउगोठ जस्ता सकसपूर्ण स्थानमा होइन कि राम्रो, उज्यालो ठाउँमा आराम गर्न र परिवारबाट उचित खानपान तथा विशेष हेरचाह नपाएमा यसलाई विभेद भनेर मान्न सकिने बताउनुभयो ।
त्यस्तै, रजस्वला भएको अवस्थामा पुरुषहरूलाई छुन हुँदैन र टाढै रहनुपर्छ भन्ने परम्परा पनि आफैँमा नराम्रो होइन । यस्तो अवस्थामा शारीरिक सम्पर्क गरेमा यौनजन्य रोगले दुवैलाई सताउन सक्छ । जसबाट दुवै पक्ष पीडित हुन सक्छन् । त्यसैले पाप लाग्ने बहानामा नै भए पनि टाढा रहँदा दुवै पक्षको कल्याण हुन्छ । गरुड पुराणलगायत विभिन्न पुराणले रजस्वला भएको सात दिनभित्र गर्भ बसेमा त्यसबाट जन्मेको शिशु विभिन्न दोषयुक्त हुने व्याख्या गरेको पाइन्छ । यस्तो अवस्थामा भएको शारीरिक सम्पर्कले पुरुषको ओजोगुण समेत नष्ट हुन्छ भनिएको छ । रजस्वलाको १० दिनपछि मात्र गर्भदान गर्नु वा गर्भधारण गर्नु भनेर चिकित्सकहरूको पनि सुझाव छ ।

विगतमा पापकै डरले भए पनि समाजमा बलात्कार, व्यभिचार, परस्त्रीगमन जस्ता विषयबाट मानिसहरू टाढा रहन्थे । समाजमा यस्ता घटनाको बारेमा धेरै कम मात्र सुनिन्थ्यो । अहिले धार्मिक आस्थामा विग्रह आउँदा समाजमा यौन दुराचार बढिरहेको छ, भ्रूण हत्यालाई अधिकारको विषय बनाइएको छ । बलात्कार, व्य(िभचार, परस्त्रीगमन वा परपुरुषगमन, बालिका, महिलामाथिको कुदृष्टि र हिंसा जस्ता घटनाले समाजमा विकृति फैलिँदो छ । कडा कानुन बनाएर दण्डित त गरिएको छ तर यस्ता घटनामा कुनै कमी आउन सकेको छैन । त्यसैले हिन्दु धर्मशास्त्रमा के–कति विज्ञानसम्मत विषय छन्, त्यसको गहिरो अध्ययन र अनुसन्धान हुनुपर्छ । भित्री विषयवस्तुको ज्ञान नभई सतही कुरा गरेर विरोधमात्र गर्दा पनि राम्रा र मौलिक कुरा हराउन सक्छन् ।

फेरिँदै छ परम्परा
पछिल्लो समय शिक्षित तथा आधुनिक महिलाले रजस्वला भएको बेला छुट्टिएर बस्ने परम्परालाई नकार्न थालेका छन् तर थोरैमात्र पनि धार्मिक आस्था भएकाहरूले यसलाई छोडिहाल्न पनि सकिरहेका छैनन् । यो परम्परालाई त्याग्न नसक्नेमा पुरुषभन्दा महिला नै अगाडि छन् । कानुनले छुट दिएको विषय पनि धर्मका आधारमा हटिहाल्न नसक्दो रहेछ । पुराण तथा श्रुतिहरूमा रजस्वला भएको बेला छुवाछूत गर्दा व्यक्तिको आयु घट्ने, परिवारमा विपत्ति आउने, दीर्घरोगले सताउनेजस्ता प्रसङ्गले पनि महिलाले यो परम्परालाई त्याग्न नसकेका हुन् ।

अर्को कुरो आफ्नो थतथलोमा बसुञ्जेल महिलाले सामाजिक र पारिवारिक डरले यो प्रथा छोड्न सक्दैनन् । जब आफ्नो पुख्र्यौली थलोबाट बसाइँ सर्छन् वा अन्यत्र बसोवास गर्न जान्छन्, अनि यस्ता विषयमा सुधार आउँछ । यसको उदाहरण छाउपडीलाई पनि लिन सकिन्छ । छाउपडीमा निकै विश्वास गर्ने सुदूर पश्चिमका महिला तथा पुरुष काठमाडौँ वा अन्यत्र बसाइ सरेपछि छाउपडीमा बसेको पाइँदैन । बाहुनक्षेत्रीका कतिपय परिवार पनि अन्यत्र गएपछि यो बेला छुवाछूतमा बसेको त्यति पाइँदैन ।

तीजको प्रसङ्ग
परापूर्वकालदेखि समाजमा चल्दै आएको भाद्र शुक्ल तृतीयाको दिन भगवान् शिवको पूजा आराधनाका लागि बसिने तीजको व्रत र पञ्चमीको दिन बसिने व्रतको विषयलाई लिएर आधुनिक भनिएका महिला र महिलावादीहरूले निकै चर्को स्वरमा विरोध पनि जनाउँदै आएका छन् । उनीहरूको भनाइमा अविवाहितहरूले सुयोग्य वरको कामना गरेर वा विवाहितहरूले पतिको दीर्घायुको कामना गरेर भाद्र शुक्ल तृतीयाको दिन व्रत बस्ने परम्परा नै विभेदकारी छ । यस परम्पराले पति(लाई मालिक र पत्नीलाई दासीका रूपमा व्याख्या गरेको तर्क उनीहरूले गर्दै आएका छन् ।

के यो व्रत विभेदकारी छ त ? यसले महिलालाई पीडा नै दिएको हो त ? आत्मशान्ति सत्सङ्ग परिवार संस्थापक विदुषी शान्ता सुवेदीका अनुसार तीजको व्रत महिलाले मात्र गर्नुपर्छ भनेर पुराणहरूको मूल वेदशास्त्रमा कहीँ कतै उल्लेख भएको पाइँदैन । यो व्रत पानी पनि नखाई बस्नुपर्छ भनेको पनि छैन । पुराणको रचना गर्ने धर्मशास्त्रीहरूले माता पार्वतीले पानी पनि नखाई व्रत बसेको भनेर व्याख्या गरेको पाइन्छ । सोही श्रुतिको आधारमा समाजमा यस्तो चलन चलेको हुनसक्छ ।

पार्वतीले व्रतको अघिल्लो दिन दरिलो किसिमको सात्विक भोजन गरेको प्रसङ्ग पाइन्छ । त्यही दरिलो भोजनलाई ‘दर’ नाम दिइएको हो । अहिले त्यही दरको निहुँ गरेर धेरै दिन अघिदेखि भोज गर्दै हिँड्दा समाजले अलि असहज मान्दै आएको विदुषी शान्ता सुवेदीको ठम्याइ छ । उहाँका अनुसार धार्मिक विधिशास्त्रले पुरुषलाई व्रत बस्न कहीँ कतै वर्जित गरेको छैन । धार्मिक विधिशास्त्रले जुनसुकै पुण्यका कर्म गर्दा पनि पति र पत्नी समानरूपमा सहभागी हुनुपर्छ नै भनेको पाइन्छ ।

तीजमा पनि पतिको दीर्घायुको कामना गरेर पत्नीले व्रत बस्छिन् भने पतिले पनि पत्नीको दीर्घायु, सुस्वास्थ्य र सफलताको कामना गरेर व्रत बस्न सक्छन् । आपसमा गहिरो प्रेम सम्बन्ध भएका पुरुष वा युवाले बस्दै आएको पनि पाइन्छ । यद्यपि समाजमा महिलाले बस्ने व्रत भनेर चित्रित गरिएका कारण त्यस्ता पुरुषले खुलेर आफूले पत्नीका लागि यो व्रत बसेको भन्न सकिरहेका छैनन् । धर्मशास्त्रमा त पत्नी गर्भवती छिन्, सुत्केरी अवस्थामा वा अन्य कुनै रोगले अशक्त छिन् भने उनको सट्टा पतिले उक्त व्रत बस्नुपर्ने व्याख्या गरिएको पनि पाइन्छ ।

व्रत नै नबसे पनि उक्त दिन पत्नीलाई के–कसरी सहयोग गर्न सकिन्छ भनेर पति लागेको देखिन्छ । यसबाट उनीहरूबीचको आपसी प्रेम थप प्रगाढ हुन्छ भने त्यसलाई आधुनिकताको नाउँमा विरोधका लागि विरोध नै गर्नुपर्छ भन्ने पनि छैन । महिनामा एकाध दिन आफैँले सक्दो व्रत बस्नु स्वास्थ्यको दृष्टिकोणबाट पनि त्यति नराम्रो होइन । यो चिकित्साविज्ञानबाट पनि पुष्टि भएकै विषय हो ।

सामाजिक दृष्टिकोणबाट हेर्दा पनि यही पर्वको नाउँमा एकाध दिन भए पनि माइती, साथीसँगी, दिदीबहिनी भेट भएर रमाउन र नाचगानमा आनन्दित हुनुलाई त्यति धेरै नकारात्मक रूपमा हेरिनु न्यायसङ्गत नहुने उपप्राध्यापक डा. रमा भट्टराईको धारणा छ । उहाँका अनुसार यही पर्वले माइती चेलीबेटीबीच सम्बन्ध सुमधुर बनाउँछ, आपसी महŒवलाई बढाउँछ भने त्यसलाई अन्यथा व्याख्या गरिरहनुपर्दैन । यसै पनि हाम्रो मौलिक संस्कारमा परिवारका हरेक सदस्यको महŒव जनाउने दिन र पर्वहरू त छँदैछन् । बुबालाई सम्मान गर्ने कुशेऔँसी, आमालाई सम्मान गर्ने मातातीर्थ औँसी, दाजुभाइलाई सम्मान गर्ने तिहार जस्तै तीज माइतीले दिदीबहिनीाई सम्झने र सकेको सम्मान दिने दिन हो ।

यसरी हेर्दा सामाजिक र पारिवारिक सम्बन्धमा एक अर्काको महŒव आभास गराउँदै, सम्मान गर्ने अन्य चाडवाडसरह नै तीज प्रसिद्ध छ । विरोध गर्नेहरूले पनि यस दिन महिलाहरूले उन्मुक्त भएर नाचगान गरेको विषयलाई भने खासै विरोध गर्दैनन् । यो पक्षलाई भने महिलाको रमाउन पाउने अधिकारको रूपमा व्याख्या गरिएको पाइन्छ । पछिल्ला केही दशक यता आर्थिक रूपमा केही सक्षम महिलाहरू घरपरिबारबाट बाहिर निस्केर आफ्ना साथीसँगीसँग रमाउन थालेका छन् । यो प्रवृत्तिले पर्वलाई व्यावसायिक पनि बनाएको छ । केही हदसम्म अर्थतन्त्रलाई थप चलायमान बनाउन सहयोग पुगेको छ । यो चलनलाई पनि विकृतिको आरोप लाग्ने गरेको छ । गाेरखापत्रबाट साभार गरिएकाे ।



Leave a comment

Your email address will not be published.


*