घरकी देवी किन अछूत ?

          |   प्रकाशित मितिः बुधबार, अशोज ६, २०७८     ::: 134 पटक पढिएको   |  

यमुना अर्याल-दसैं अक्सर गरी शक्तिकी प्रतिमूर्ति देवी दुर्गाको पूजाआजा र आराधना गरी मनाइन्छ । विभिन्न शक्ति पीठमा नौ दिनसम्म देवी दुर्गाको आराधना, भक्ति गरिन्छ र दसौं दिनमा आसुरी शक्तिमाथि माता दुर्गाले विजय प्राप्त गरेको भन्दै खुसीमा विजयादशमी पर्व मनाइन्छ । दसैं हिन्दू नेपालीको सबैभन्दा ठूलो चाड हो । वालबालिकाको सबैभन्दा रमाइलो पर्व पनि यही हो । दसैंमा धेरै दिन बिदा हुने भएकाले पनि बालबालिकाहरू यो पर्वमा औधी रमाउँछन् । दसैंमा पुरुष र महिलाको कामको प्रकृति छुट्याइएको हुन्छ । घरका लोग्नेमान्छेहरू चाडपर्वको रौनकमा रमाइरहेका हुन्छन् तर महिलाहरू ती पुरुषहरूलाई रमाउने वातावरण तयार गर्दिन व्यस्त भइरहेका हुन्छन् । पुरुषहरूले रमाइलो गर्नुपर्छ तर महिलाहरू चुलोचौकाबाट फुर्सद नपाउने अवस्था दसैंमा एकाध अपवादबाहेक जहीँतहीँ छ ।

यहाँ संघीय राजधानीको कुरा गरौं । यहाँ देवी दुर्गाको भव्य पूजाआजा गरिन्छ तर हामीले जन्माएका छोरी, हामीलाई जन्माउने आमा, हामीले घरमा भित्र्याएका बुहारीलाई महिनामा चार दिन अछूतको व्यवहार गरिन्छ । वर्तमान परिस्थितिलाई आँकलन गर्दा यो तत्कालै रोकिएलाजस्तो देखिन्न । महिनाभरि छोरी वा महिला देवी हुन् भने महिनावारीमा किन देवी हुन सक्दिनन् ? हामी मनका देवीलाई पूजा गर्छौं, उनै देवीको आराधना गर्छौं तर महिनामा पच्चीस दिन चोखो हुने, पवित्र मान्ने तिनै छोरी चार/पाँच दिन किन अछूतको सिकार बन्न पुग्छिन् ? किन हामी महिनावारी भएका छोरीहरूलाई परको व्यवहार गर्छौं ? अझ पर सरेको भनेर तल्लो स्तरको व्यवहार गर्छौं ?

काठमाडौंका केही स्थान, जहाँ आफन्त, साथीभाइ छन् त्यहाँको वस्तुस्थिति नियाल्दा महिनामा चार दिन शौचालयसमेत अलग्गै प्रयोग गर्नुपर्ने बाध्यता भएको पाइयो । महिनावारी भएका छोरी–बुहारीलाई सबै कुराबाट अलग गराइन्छ । सुदूरपश्चिमको छुवाछूतलाई छाउपडी भन्नेहरूले राजधानीको यो विभदेलाई के भन्ने ? पहिलोपटक महिनावारी भएका छोरीलाई ऋषिपञ्चमीका दिन मन्दिरमा लगेर पाप मोचन गराउने शिक्षित र सचेत आमाहरूलाई के भन्ने ? राजधानीका यी आमा र दुर्गम गाउँका आमाको सोचमा कत्तिको अन्तर छ ? हिजो त्यही महिनावारी रोकिएका कारण संसार देख्न पाएको र अहिले आफूलाई महान् मान्ने, धार्मिक मान्ने अगुवाले कलिला छोरीलाई महिनावारीको पाप मोचन गर्ने मन्त्र सुनाइरहेका हुन्छन्, शिक्षित आमाहरूले कलिला छोरीलाई यसो गर, उसो गर भनिरहेका हुन्छन् ।

पढेलेखेका, सहरमा बसेका छोरीलाई राम्रोसँग थाहा छ तैपनि बाउआमाको सामुन्ने उनीहरूको केही चल्दैन । मामु पिरियड एउटा प्राकृतिक कुरा हो, यो भएन भने संसार चल्दैन भन्ने थाहा छ तैपनि मलाई किन अपराधीजस्तै व्यवहार गर्नुहुन्छ ? मैले के पाप गरेकी छु र ? हरेक छोरीहरू उमेर पुगेपछि महिनावारी हुन्छन् यो त गर्वको कुरा हो यसमा पापको कुरा कसरी आयो ? पाप भए शास्त्रमा मासिक धर्म किन भनिन्छ ? छोरीले एकपछि अर्को प्रश्न तेर्साउँदा आमाले सम्झाउनुको साटो सातो खाने गरी हप्काएका धेरै उदाहरण छन् । हामीले आफूमाथि पर्न वा आफू ठूलो बन्नका लागि हप्काएर होइन सम्झाएर छोरीहरूलाई कुरा स्पष्ट पार्न सक्छौं । यतातिर ध्यान नदिने अनि सधै पापसँग जोडेर छोरीहरूलाई अगाडि बढाउन खोज्यौं भने भोलिको अवस्था कस्तो होला ? महिनाभरि छोरीलाई देवी, दुर्गा वा लक्ष्मीका रूपमा चिनाउनेहरूले महिनावारीमा किन अछूतको व्यवहार गर्छन् ? महिनावारीमा पनि तिनै हिजोकी छोरी देवी नै हुन् यसो भन्न हिच्किचाहट नमानौं, अलमल नगरौं ।

महिला अधिकारकर्मीले जतिसुकै चर्का नारा लगाए पनि, अभियानका ब्यानरले सहरका मार्गहरू रंगाए पनि सरकारले ऋषिपञ्चमी पर्वमा बिदा दिएको छ । सुदूरपश्चिमका जिल्लाहरू छाउगोठ भत्काउँदै हिँड्ने, महिनावारी भएको बेलामा जबर्जस्ती बार्न लगाउनेलाई कारबाही गर्न लगाउने उर्दी जारी गर्ने तर महिनावारी भएको पाप पखाल्न सरकारले औपचारिक रूपमा बिदा दिनुले के सन्देश दिन्छ ?

दुर्गाको पूजा गर्नेले आफ्ना घरका दुर्गाहरूलाई किन बुझ्न सक्दैनन् ? अझ अचम्मको कुरा त के छ भने छिमेकी जिल्ला भारतको एउटा मन्दिर रहेछ कामाख्या मन्दिर । हरेक वर्ष त्यो मन्दिरमा देवी रजश्वला भएको भन्दै त्यो पवित्र दिनमा मन्दिरमा दर्शन गर्न धाउने पुरुष भक्तहरूको संख्या धेरै हुने रहेछ । एकदिन सद्गुरुको यसै बारेमा एउटा प्रवचन सुन्ने सौभाग्य मिल्यो, कोही भक्तले महिनावारीका बारेमा प्रश्न गरेका रहेछन् । यसको जवाफमा सद्गुरुले जवाफ दिएका थिए, महिनावारी अपवित्र हो भने हामी कोही पनि पवित्र होइनौं । त्यही महिनावारी रोकिएकै कारण आजसम्म सृष्टि चलेको छ र जतिसम्म यो चक्र चलिरहन्छ त्यो यही महिनावारीकै कारण चल्नेछ । आमा अपवित्र हुन् भने तिनै आमाले जन्माएका सन्तान कसरी महात्मा बन्छन् ? मेरी आमा अपवित्र हुन् भने म कसरी पवित्र हुँ त ? उनको यो भनाइ निकै मर्मस्पर्शी लाग्यो ।

नौ महिनासम्म गर्भमा राखेर जन्माउने आमालाई आफ्नै छोराले अपवित्र मान्न थाल्नुको उपज के हो ? हामी आफ्नी जन्मदाता आमालाई कसरी अछूत भन्न सक्छौं ? आमा अछूत हुने भए तिनै आमाले जन्माएको छोरा कसरी महात्मा बन्छन् ? कसरी विद्वान् बन्छन् ? होला कुनै परिस्थितिजन्य कारणले परापूर्वकालमा सामाजिक नियम बनाइयो, यसको अर्थ सधैभरि यही नियम बिरालो बाँधेर श्राद्ध गरेजसरी गरिरहनुपर्छ भन्ने छैन । परिवर्तित समाजमा नयाँ परिवर्तन अँगालेर पनि प्रथालाई कायम राख्न सकिन्छ ।

राजधानीको कुरा गर्दा, काठमाडौंबाहिर छाउपडी भनिन्छ, उतातिरको निकै चर्चा हुन्छ तर राजधानीका नेवार समुदायमा पहिलोपटक महिनावारी भएकी छोरीलाई गुफामा राख्ने चलन छ । गुफाबाट निकालिसकेपछि सूर्य दर्शन गराइन्छ, ठूलै भोजभतेर गरिन्छ, समाजमा सबैखालका मान्छेहरूलाई आमन्त्रण गरिन्छ । आफूलाई मै हुँ भन्ने र सचेत भन्नेहरू नै यस्तो भोजमा सरिक हुन्छन् । अब कसैले यो प्रचलन ठीक छैन, साना छोरीलाई महिनावारी भएकै कारण यस्तो विभेद गर्न पाइँदैन भन्न थाल्यो भने ऊ समाजबाट एक्लिनुपर्ने हुन्छ । आफूलाई अभियन्ता ठान्नेहरू पनि छोरीको गुफा निकालेको भोजमा निम्ता बाँडिरहेका हुन्छन् ।

समाज र सामाजिक रीतिलाई सजिलै बदल्न सकिँदैन । राजधानीमा गुफा राख्ने र अछाममा छाउगोठमा राख्ने चलनमा के अन्तर छ ? भौगोलिक अन्तरबाहेक ? दसैंमा हामी देवीको कति धेरै पूजाआजा गर्छौं तर त्यही आसपासमा कति धेरै महिलाहरू अन्यायमा परिरहेका हुन्छन्, हिंसामा पिल्सिरहेका हुन्छन्, आफ्नै घरका महिलाहरूको आर्तनाद कसले सुनिदिने ? घरका देवीलाई देवीका रूपमा कहिले मान–सम्मान र इज्जत दिने ? आफ्नै भन्नेहरूबाट छोरीहरू असुरक्षित भइरहेका छन् । देवी र दुर्गाको पूजाआजामा भक्तिभाव राख्नेहरू आना छोरी–चेलीको इज्जत लुटिँदा बेखबर भइदिन्छन् । यही देशमा महिला राष्ट्रपति छन्, महिला प्रधानन्यायाधीश भए, महिलाहरू मन्त्री, सांसद छन् तर विडम्बना यहीँका छोरीहरू एकातिर पुजिन्छन् अर्कातिर चुँडिन्छन् र लुटिन्छन् ।

निर्मला पन्त पनि एउटा घरका लागि छोरी थिइन्, देवी थिइन् र लक्ष्मी थिइन् तर यिनै चेलीको वीभत्स हत्या भयो, इज्जत लुटियो तर कारण भेटिएन, अपराधी पत्ता लागेन । मरेर जाँदा पनि अबोध बालिकाले न्याय पाउन सकिनन्, परिवारजनले छोरीको हत्यामा संलग्न अपराधी पत्ता लागेको समाचार सुन्न पाएनन् । मरेपछि पनि न्याय नपाउने कस्तो देशका छोरी हामी ? धेरै छोरीहरू सकभर गर्भमा आउन पाउँदैनन्, आइहाले पनि धर्तीमा पाइला टेक्नै पाउँदैनन् । जेनतेन धर्तीमा पाइला टेके पनि राम्रोसँग फुल्न, फक्रिन र फैलन पाउँदैनन् अनि हामी देवीको पूजा गर्नेहरूले ती अबोध देवीका रूपहरूको किन पूजा गर्न सकेनौं ? अझ रमाइलो कुरा त के छ भने गर्भपतन गराउँदै छोरीको हत्या गर्ने महान् आत्माहरू देवी भागवत्को पूजा लगाइरहेका हुन्छन् । मनको कालो पखाल्न बाहिर देवीको पूजा गरेर के गर्छौ मनुवा ? आखिर तिमीहरूको मनमा त खिल गडेको पक्कै पनि छ, तर पनि बाहिर किन देवीका पूजक हुन्छौ ? किन आफूलाई भक्तिभावमा लीन गराउँछौ ? पहिले आफ्नी साक्षात् देवीको इज्जत गर, मनकी देवी त आफै खुसी हुन्छन् नि होइन र ?

दसैंमा हामीले मन्दिरमा पूजा गर्ने देवीकै रूप हुन् घरका कन्याहरू पनि । दुर्गा मातालाई आमाको सम्मान दिन्छौं भने घरका आमा दिदी–बहिनीहरूलाई पनि इज्जत दिन सिकौं । छोरीको, दिदी–बहिनीको, आमा, भाउजू, बुहारीको इज्जत गर्न सक्यौं भने हाम्रा देवीहरू सुरक्षित हुन सके भने, हाम्रा देवीहरू हिंसामा पर्न पाएनन् भने हामीले पूजा गर्ने दुर्गा भवानीले हामी सबैको कल्याण गर्नुहुनेछ । (लेखकको निजी विचार हो)  Narimag बाट ।



Leave a comment

Your email address will not be published.


*