समाज कल्याण परिषद्का सात पदाधिकारीले दिए राजीनामा

समाज कल्याण परिषद्का सात पदाधिकारीले दिए राजीनामा

काठमाडौँ : समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा बुझाएका छन् ।परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले बिहीबारै राजीनामा दिएको परिषद्का उपसचिव दुर्गाप्रसाद भट्टराईले जानकारी दिए । उनीहरूलाई एक वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

पदाधिकारीहरूले भने सरकारले राजनीतिक प्रतिशोध राखेर अप्रत्यक्ष रूपमा राजीनामाका लागि दबाब दिएको आरोप लगाएका छन् । उपाध्यक्ष खतिवडाले मन्त्री नभएको अवस्थामा प्रधानमन्त्री नै परिषद्को अध्यक्ष हुने र अध्यक्षबाटै वार्षिक नीति, कार्यक्रम तथा अन्य गतिविधिको स्वीकृति लिनुपर्ने भएकाले त्यस क्रममा राजनीतिक टसल परेपछि राजीनामा दिएको बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ । ‘नीति तथा कार्यक्रम र बजेट नै स्वीकृत भएन । कर्मचारीलाई तलबसमेत खुवाउन सकेनौँ । यतिसम्म कि हरेक वर्ष ६ असोजमा मनाइने सामाजिक सेवा दिवससमेत मनाउन पाइएन,’ खतिवडाले भने, ‘त्यही कारण राजीनामा दिएर बाटो खुला गर्यौँ ।’

प्रतिक्रिया