विशेष सम्पादकीय : बोझ होइनन् ज्येष्ठ नागरिक !

विशेष सम्पादकीय : बोझ होइनन् ज्येष्ठ नागरिक !

ज्येष्ठ नागरिकले परिवार, समाज र राष्ट्रलाई दिएको योगदान, उहाँहरूको अनुभव र क्षमताको कदर तथा सम्मान गर्दै उहाँहरूको सहज जीवनयापनका लागि प्रतिबद्धता जनाउने दिन, अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ।

‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने नारा सहित आज दिवस मनाईदैछ । सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । त्यसयता हरेक वर्ष अक्टोबर १ लाई अन्तर्राष्ट्रिय स्तरमै ज्येष्ठ नागरिक दिवस मनाइँदै आएको छ । नेपालमा पनि यो दिवस मनाइन्छ । यस बर्ष पनि नेपालभर विविध कार्यक्रमहरु तय भएका छन् ।

नेपालको संविधान २०७२ को धारा ४१ मा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्थामा गरिएको छ । यद्धपी ज्येष्ठ नगारिकहरुले संविधान, ऐन र नियमावली अनुरूप पाउने सेवा सुविधा अझै प्राप्त गर्न सकिरहेका छैनन् । यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जानुपर्छ । ज्येष्ठ नागरिकका लागि सेवा सुविधा सुनिश्चित गर्नु र अधिकार संरक्षण गर्नु राज्यको दायित्व हो । तर, नेपालका हजारौँ ज्येष्ठ नागरिकहरुले सुरक्षित र मर्यादित जीवनयापन गर्न पाईरहेका छैनन् । अझैँ पनि कयौ जेष्ठ नागरिकहरुले सडक पेटीमा दैनिकी गुजारिरहनुपरेको छ । जेष्ठ नागरिकहरु सुरक्षित बास, हेरचाह तथा सहज रुपमा स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरेको छ । त्यसैले जेष्ठ नागरिकहरुको सम्मानपूर्वक बाँच्न पाउने हक तथा अधिकारलाई राज्यबाट नै सुनिश्चित गरिनुपर्ने आवश्यकता देखिन्छ ।

अर्कोतर्फ ज्येष्ठ नागरिकमा रहेका विषयगत ज्ञान, सीप, क्षमता र अनुभवको अधिकतम सदुपयोग गर्ने नीति बनाएर कार्यान्वयन गर्ने हो भने ज्येष्ठ नागरिकहरू सामाजिक तथा आर्थिकरूपमा पनि बोझ नभई वरदान सावित हुनेछन् । ज्येष्ठ नागरिकको ज्ञान, सीप, क्षमता र अनुभव वर्तमान र भावी पुस्ताको लागि पनि ठूलो प्रेरणाको स्रोत बन्न सक्छ । ज्येष्ठ नागरिकलाई समाजको आदर्शको रूपमा लिन सकिन्छ । यी तथ्य मनन गर्दै आवश्यक नीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्न राज्यले सधैं प्राथमिकतापूर्वक बजेट विनियोजन गर्ने हो भने ज्येष्ठ नागरिकको जीवन सुरक्षित मात्रै नभई मर्यादितसमेत हुनेछ ।

समग्रमा बोझ होइनन् ज्येष्ठ नागरिक । त्यसैले, ज्येष्ठ नागरिक मैत्रि समाज निर्माण गरौं । ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा हार्दिक आह्वान गर्दै अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको दीर्घायू, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनको लागि ज्वाला सन्देश अनलाइन हार्दिक शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया