चाडपर्व भनेर खाद्य सन्तुलन बिगार्नु नै रोग निम्त्याउनु हो

चाडपर्व भनेर खाद्य सन्तुलन बिगार्नु नै रोग निम्त्याउनु हो

कविता महर्जन नेपाल क्यान्सर हस्पिटलकी पोषण विभाग प्रमुख हुन् । यसबाहेक खाद्य–सन्तुलन र पोषणबारे परामर्श दिनु पनि उनको नियमित कर्म हो । दशैं, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा खाद्य सन्तुलन कसरी मिलाउने भन्नेबारे उनले यस्तो बताइन् :

०००

चाडपर्व भन्नेबित्तिकै नेपालीहरू विशेष परिकारहरूमा जोड दिन्छन् । दशैंमा पनि  बढी माछामासु, मिठाइमा जोड दिइन्छ । यससँगै पेय पदार्थमा पनि जोड दिने चलन बढ्दै गएको छ ।

पहिलाजस्तो मासु खानलाई चाडबाड नै आउनुपर्ने अवस्था अहिले छैन । तर अझै पनि चाडपर्वमा नियमित मासुका परिकार र तेलमा तारेका, झानेका खानेकुरा खाइन्छ । घरमा मात्र नभई आफन्तकहाँ जाँदा पनि यस्तै परिकारमा जोड गरिन्छ । यसले गर्दा एकदेखि दुई सातासम्मै खानेकुराको सन्तुलन नमिल्दा स्वास्थ्य समस्या देखिन थाल्छ ।

सन्तुलन नमिलाई चाडपर्वमा खाना खानुको कारण व्यक्तिले आफ्नो ‘हेल्थ स्टाटस’ थाहा नपाएर हो । जस्तो माछामासु वा विशेष परिकार खाइरहँदा ब्लड प्रेसर के छ,  सुगर कति छ हामीलाई थाहा हुँदैन । हामी आफ्नो शारीरिक अवस्था थाहा नपाइकन आफूखुसी जे मन पर्छ त्यही खाइरहेका हुन्छौं ।

आफुखुसी खाँदा पत्तै नपाई नसर्ने रोग निम्त्याइरहेका हुन्छौं । तौल बढ्नु पनि रोग निम्त्याउनु नै हो । तौल बढ्दा शरीरको बोसो पनि बढ्दै जान्छ । यसपछि रगतको बाक्लोपन वा पातलोेपन पनि बढ्ने–घट्ने हुन्छ । सँगै शरीरमा सोडियम, फ्याटजस्ता तत्त्व शरीरमा बढ्दै जान्छ ।

चाडपर्वमा हामी नियमित पानी पिउन बिर्सिन्छौं । कसरत नगर्नाले प्यास पनि लाग्दैन । अर्को महत्तवपूर्ण कुरा पेय पदार्थ हो । मेरो अनुभवले के भन्छ, जो सोसियल ड्रिंकर (विशेष उत्सव वा अवसरमा मात्र पिउने) हो उसलाई खासै असर गर्दैन । किनभने यस्ता कार्यक्रम एकाध महिनामात्र पर्छन् ।

सँगै महिला र पुरूषको लागि जति मात्रा तोकिएको छ त्योअनुसार एक पेग रक्सी वा एक गिलास वाइन, बियर खाँदा पनि असर गर्दैन । तर कुनै पनि डाक्टर वा पोषणविद्ले रक्सीलाई जोड दिँदैनन् । मैले यो किन भने भनेँ दशैं, तिहार वा चाडपर्वमा मानिसहरू बढी नै रक्सी पिउँछन् । उनीहरूमा डर पनि हुन्छ तर त्यो बिर्सेर पिउँछन् । यसरी नडराउन भन्नाका लागि मेरो अनुभवका आधारमा थोरै मदिरा पिउँदा आँत्तिनुपर्दैन भनेको हुँ ।

तर व्यक्ति सामान्य स्वास्थ्य अवस्थामा हुँदामात्र पिउन मिल्छ । दीर्घरोग, सुगर प्रेसरका बिरामीले खानु हुँदैन ।

विकल्पमा के त ?

सामान्यतः माछा–मासुभन्दा हरियो तरकारी राम्रो हो । तर तरकारी पनि अचेल विषादीले गर्दा निकै बिग्रिसकेको छ । भन्न त हामी ‘अर्गानिक’ तरकारीमा जोड दिनुपर्छ भन्छौं । तर अर्गानिक भनिएका तरकारी पनि कसरी फलाइएका छन् हामीले जाँचेको देखेका छैनौं ।

घर वरपर जग्गा हुने वा कौसी हुनेले सकेसम्म आफैंले उत्पादन गरेका तरकारी खाने गर्नुपर्छ । थोरै भएपनि आफैंले उत्पादन गरेका गोलभेडा, लसुन, धनियाँ, खुर्सानी, फर्सी, भन्टा, सागजस्ता तरकारी पोषणका लागि उपयुक्त हुन्छन् ।

पहिला समुदायमा कुपोषणको समस्या बढी हुन्थ्यो । अहिले तौल बढी हुनेदेखि कम हुने दुवै रोग लिएर बिरामी आउने गर्छन् । यो सबै ‘खाद्य उपभोगको सन्तुलन’ नमिलेर भएको हो ।

जस्तो, कार्यालयमा काम गर्नेहरूमा पनि यही समस्या देखिन्छ । टिफिन (खाजा) खाँदा उनीहरू फास्टफुडमा जोड दिन्छन् । वा समय कम हुँदा जे उपलब्ध छ त्यही खाइदिन्छन् । थकाइ लाग्यो भन्दै रिफ्रेस हुने ड्रिंक वा चकलेट खाइन्छ । यस्ता कुरा खानै नहुने भन्ने होइन । तर कुन चिज कतिबेला खाने हामीले जानेका छैनौं । वा कति मात्रामा खाने हो त्योबारे जिज्ञासा राख्दैनौं ।

अचेल सहरबजारमा महिलाहरू जुम्बा (एकप्रकारको नृत्यजस्तै कसरत) जान्छन् ।  तर ‘जुम्बा छाडेपछि गुम्बा हुन्छ’ भन्ने कहावत नै चलेको छ । अर्थात् महिलाहरू जुम्बा जान्छन् र बीचमा नै छाड्छन् । यसपछि घरमा कसरत गर्दैनन् । यसो गर्दा फेरि पुरानै समस्या बल्झिन्छ । जिमको, जुम्बाको विकल्पमा गर्नुपर्ने कसरत सिकेन भने यस्तो हुन्छ ।

यसैले चाडपर्वमा निम्न तीनवटा काम गर्यौं भने हामी स्वस्थ हुन सक्ने सम्भावना धेरै रहन्छ । ती हुन् :

१. निष्क्रिय नबस्ने अर्थात् कसरत, योगा नियमित गर्ने ।

२. पानी वा झोल पदार्थ प्रशस्त पिउने ।

३. अर्गानिक वा विषादी नहालेका हरियो तरकारीमा जोड दिने ।

कसरी जान्ने त ?

खाद्य सन्तुलन मिलाउन अस्पताल वा क्लिनिक धाएर पोषणविद् (न्युट्रेसनिस्ट) नै भेट्नुपर्छ भन्ने छैन । अस्पताल जानुपर्छ भन्ने छैन । स्वास्थ्य मन्त्रालयदेखि विश्वासिला सञ्चार माध्यममा डाक्टरले भनेका कुरा ध्यानपूर्वक सुने पनि पुग्छ । जीवनशैलीसँग सम्बन्धीत म्यागेजिन वा पत्रिका पढे हुन्छ ।

आफूले खाने हरेक चिजको तौल र त्यसभित्रका तत्त्वबारे जानकारी राख्नुपर्छ । कुन खानेकुरा कति मात्रा खाने भन्ने टिपेर राख्नुपर्छ । जस्तो जुस खाँदा कति खाने, दुध आफूलाई कति चाहिन्छ वा कहिले पिउने । कुन तरकारी कुनबेला खाने वा नखानेजस्ता कुरामा सामान्य चासो दिँदामात्र पनि हामी स्वस्थ बन्न सक्छौं ।

प्रतिक्रिया