कात्तिक २५ देखि जनगणना, गणकलाई असहयोग गरे दुई महिना जेल

कात्तिक २५ देखि जनगणना, गणकलाई असहयोग गरे दुई महिना जेल

काठमाडौं : तपाईंको घरमा विवरण संकलनका लागि बिहीबारदेखि गणकहरु आउँदैछन् । उनीहरुले आवश्यकताका आधारमा ५५ देखि ८० वटा प्रश्न सोध्नेछन् । यदी तपाईंले उनीहरुलाई असहयोग गर्नुभयो, मागेको सूचना दिन इन्कार गर्नुभयो वा झुटो सूचना दिनुभयो भने कारबाहीमा पर्न सक्नुहुन्छ ।

कानुनतः जनगणनामा असहयोग गर्नेलाई दुई महिना कैद वा दुई सय रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । जानी जानी त्यस्तो खबर वा विवरण तोकिएको म्यादभित्र नदिएमा वा दिन इन्कार गरेमा, जानीजानी कुनै झुट्टा खबर वा विवरण दिएमा वा दिलाएमा कानुन बमोजिम कारबाही हुन्छ ।

तथ्याङक ऐन २०१५ मा भनिएको छ, ‘दफा ३ वा दफा ४ वा दफा ५ अन्तर्गत कुनै खबर वा विवरण दिनुपर्ने कर्तव्य भएका कुनै व्यक्तिले देहायको कसूर गरेमा निजलाई त्यस्तो प्रत्येक कसूरको निमित्त दुईसयसम्म जरिवाना वा दुई महिनासम्म कैद वा दुवै सजाय हुनेछ।’

यस्तै, जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउने केन्द्रीय तथ्याङक विभागले जनाएको छ । यही कात्तिक २५ देखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाको नतिजा आगामी फागुन पहिलो सातामा आउनेछ ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले गणना सकिएको तीन महिनाभित्र प्रारम्भिक नतीजा आउने बताए। उनले भने,‘ गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक तयारी अवस्थामा हुनुहुन्छ । सुरुको तीन महिनाभित्र नेपालको कुल जनसंख्या, महिला पुरुषको संख्या आउँछ। ’

यसपटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समवेश गरिएको छ । एक गणकलाई करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको विभागले जनाएको छ । यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्याङक तयार गर्नेछ।

प्रतिक्रिया