चामलका लागि हुम्लाका जनप्रतिनिधिले बुझाए अर्थ र गृह मन्त्रालयमा ज्ञापन पत्र

चामलका लागि हुम्लाका जनप्रतिनिधिले बुझाए अर्थ र गृह मन्त्रालयमा ज्ञापन पत्र

काठमाडौँ : चामल अभावपछि काठमाडौं आएका हुम्लाका जनप्रतिनिधिले मंगलबार अर्थ र गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । हुम्लाका सांसद छक्कबहादुर लामा तथा नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङ जिल्लामा भएको खाद्यान्न अभावलाई लिएर मन्त्रीहरुको ध्यानाकर्षण गराउन मंगलबार सिंहदरबार छिरेका थिए ।

तर सिंहदरबारमा मन्त्रीहरुसँग उनीहरुको भेट हुनै सकेन । अर्थमन्त्री जनार्दन शर्मासँग भेट नभएपछि उनीहरुले आफ्नो ज्ञापन पत्र दर्ता शाखामा बुझाएर गृहमा फर्किए । गृहमन्त्री बालकृष्ण खाणसँग पनि उनीहरुको भेट भएन । खाण गृहजिल्ला रुपन्देहीमा छन् ।

हुम्लामा खाद्यान्न ढुवानीका लागि भएको बोलपत्रमा महँगो दर तोक्नेलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले छनौट गरेको भन्दै उच्च अदालतसम्म मुद्दा पुगेको छ । तर जिल्लामा भने खाद्यान्नको चरम अभाव भएको छ । साउनमै ढुवानी हुनुपर्नेमा अहिलेसम्म नहुँदा जिल्लामा चामलको अभाव भएको हो ।

‘खाद्यले जेठमा एकपटक ढुवानी गर्यो, त्यो चामल साउनमै सकियो । त्यसपछि ढुवानी भएको छैन । साउनमा ढुवानी गर्नुपर्ने अहिलेसम्म यत्तिकै अड्किएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले भने, ‘हुम्लामा बेहाल भयो, विवाह, व्रतबन्ध, काजकिरिया लगायत काम उम्काउन पनि चामल नपाइएर बिजोग छ ।’

प्रतिक्रिया