दैलेख काँग्रेस अधिवेशन : देउवा समूहबाट घनश्याम भण्डारीको उम्मेदवारी घोषणा, पौडेल समुहका तीन आकांक्षी

दैलेख काँग्रेस अधिवेशन : देउवा समूहबाट घनश्याम भण्डारीको उम्मेदवारी घोषणा, पौडेल समुहका तीन आकांक्षी

दैलेख : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत क्षेत्रीय अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबार (भोली) जिल्ला अधिवेशन हुँदै छ । सोही अनुसार दैलेख जिल्लामा पनि अधिवेशन हुन लागेको हो । दैलेखमा प्रतिनिधीसभा निर्वाचन क्षेत्र २ वटा छन् । यी क्षेत्रहरुमा अधिवेशन सम्पन्न भैसकेको छ । संस्थापन (देउवा) समुह र संस्थापनइतर (पौडेल) समुह निकट प्यानलसहित निर्वाचनमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये क्षेत्र नं- १ मा पौडेल समुह र क्षेत्र नं -२ मा देउवा समुह विजय भएका छन् ।

दैलेख जिल्ला कार्यसमितिको शनिबार हुने अधिवेशनमा सभापतिका लागि चार जना आकांक्षी छन् । देउवा समुहबाट घनश्याम भण्डारीको उम्मेदवारी घोषणा भैसकेको छ । भण्डारी दुल्लू नगरपालिकाको नगरप्रमुख हुन् भने उनले क्षेत्रीय अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधीतर्फ सर्वाधिक मत लिई विजय भएका थिए ।

यस्तै, संस्थापनइतर पौडेल समुहबाट जिल्ला सभापतिका लागि तीन जना आंकाक्षी रहेका छन । जिल्ला पार्टी सचिव समेत रहेका भुपेन्द्र शाही, गणेश उपाध्याय र मणिराम रेग्मी हुन् । शाही क्षेत्र नं- २ का हुन् भने उपाध्याय र रेग्मी क्षेत्र नं -१ का हुन् । क्षेत्रीय अधिवेशनबाट शाहीले ३८१, उपाध्यायले ४०८ र रेग्मीले ५१९ मत प्राप्त गरी केन्द्रीय महाधिवेशन प्रतिनिधी विजय भएका थिए । रेग्मीले प्राप्त गरेको मत क्षेत्र नं- १ बाट महाधिवेशन प्रतिनिधीका लागि सर्वाधिक थियो ।

रेग्मीले क्षेत्रीय अधिवेशनबाट सर्वाधिक मत पाएकोले पनि आफु सभापति हुनुपर्ने अडान राखेका छन् । उनले कार्यकर्ताबाट अनुमोदित मतलाई सम्बोधन गर्नकै लागि सभापति नछाड्ने बताए । ‘क्षेत्रीय अधिवेशनबाट प्राप्त मतलाई आधार मानी मेरो उम्मेदवारी छ ।’ रेग्मीले भने‘मैले सर्वसहमतको प्रस्ताव पनि गरेको छु । दुई समुहबीच शिर्ष नेताहरुको छलफलको निश्कर्ष बमोजिम उम्मेदवारी हुनेछ ।’

सभापतिका लागि रेग्मीले सर्वसहमत प्रस्ताव गरेपनि उनलाई स्वीकार गर्न नसकिने पौडेल समुुहकै अर्का उम्मेदवार भुपेन्द्र शाहीले बताएका छन् । शाहीले आफु कुनैपनि अवस्थामा सभापतिबाट पछि नहट्ने बताए । ‘पौडेल समुहका नेता र आकांक्षी उम्मेदवारबीच छलफल हुँदै छ ।’ उनले भने, ‘छलफलबाट साथीहरुले मलाई सहमत नगरे मेरो उम्मेदवारी जसरी पनि हुन्छ ।’

यस्तै, पौडेल समुहकै अर्का उम्मेदवार गणेश उपाध्यायले पनि सभापतिको उम्मेदवारका लागि तयारी थालेका छन् । यसअघि क्षेत्रीय सभापति भईसकेकोले जिल्ला सभापतिमै उम्मेदवारी दिने उपाध्यायको जोड छ । यसरी, पौडेल समुहबाट तीन जनाको उम्मेदवारी हुने भएपछि देउवा समुहका एकल उम्मेदवार घनश्याम भण्डारीले बाजी मार्ने सम्भावना बढेको छ ।

पौडेल समुहको दैलेखमा खड्का–विसी प्यानल

पौडेल समुहको दैलेखमा पूर्व राज्यमन्त्री गणेश बहादुर खड्का र पार्टी सभापति कृष्ण कुमार विसी प्यानल बनेको छ । प्रतिनिधीसभा निर्वाचन क्षेत्रीय अधिवेशनसम्म आन्तरिक प्यानल बनेपनि जिल्ला अधिवेशनमा बाहिरिन थालेको छ ।

पौडेल समुहबाट सभापति पदका आकांक्षी तीन जनामध्ये गणेश उपाध्याय र भुपेन्द्र शाही पार्टी सभापति विसी निकट हुन् भने मणिराम रेग्मी खड्का निकट हुन् ।

पार्टीको बाह्रौं महाधिवेशनमा विसीलाई सभापति बनाउन खड्काले निकै जोडबल गरेका थिए । पार्टी सभापति जितेका विसी खड्काविरुद्ध पटक–पटक लागेपछि १३ औं महाधिवेशनमा खड्काले मणिराम रेग्मीलाई विसीविरुद्ध सभापतिमा प्रतिस्पर्धा गराएका थिए । तत्कालिन अवस्थामा विसी स्वतन्त्र उम्मेदवारबाटै पार्टी सभापति बनेका थिए ।

विसीलाई खड्काको साथ नभएपछि बदला लिन विसीले खड्कालाई अनुसाशन समितिबाटै कारबाही गर्न पत्राचार समेत गरेका थिए । उनै विसी र खड्काले १४ औं महाधिवेशनमा फरक–फरक उम्मेदवारको तयारी गरेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया