जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु, २७ घाइते

जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु, २७ घाइते

जाजरकोट : आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका–३ करुवाका २५ वर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका-९ की १८ वर्षीया अनिला नेपाली र सप्तरीका ४० वर्षीया गंगाराम यादवको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ । यादव जाजरकोटकै दीपेन्द्र आधारभूत विद्यालयमा कार्यरत कर्मचारी हुन्

बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो । जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए । दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस दुर्घटनाको कारण खुलेको छैन । चालक प्रहरी नियन्त्रणमा रहेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया