को हुन् काँग्रेस दैलेखको सभापतिमा निर्वाचित मणिराम रेग्मी ?

को हुन् काँग्रेस दैलेखको सभापतिमा निर्वाचित मणिराम रेग्मी ?

दैलेख : मणिराम रेग्मी, पञ्चायतकालमा २०३६ को जनमत संग्रहको बेला नेपाल मजदूर किसान पार्टीको तर्फबाट राजनीतिक जागरण अभियान सहभागी भए । उनि लुकीछिपी पार्टी संगठन बनाउन जुट्दै २०३८ देखि शिक्षण पेशा संलग्न भए ।

शिक्षण पेशाको बेला त्रिभुवन मावि दैलेख बजारमा नेपाल रेडक्रस युवा सर्कलको शिक्षक नायवको भूमिका निर्वाह गरेका रेग्मी २०४७ सालमा शिक्षकको जागिर छोडेर २०४८ को संसदीय निर्वाचनमा नेपाल मजदूर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा निकटम् प्रतिद्वन्द्वी बने ।

उनि संसदीय निर्वाचनमा पराजित भएपछि २०४९ को स्थानीय निर्वाचनमा नेपाल मजदूर किसान पार्टीको तर्फबाट तत्कालिन बेलासपुर गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए । तर २०५० मा गाविस अध्यक्ष पद सहित उनी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

उनले प्रतिनिधित्व गरेको भूगोल बेलासपुर समेत त्यतिबेलाका ५ गाविस नारायण, बसन्तमाला, त्रिवेणी र सरस्वती गाविस मिलाएर २०५३ मा नारायण नगरपालिका गठन भएपछि २०५४ को स्थानीय निर्वाचनमा मेयर पदमा उम्मेदवार भएर एमालेका रबिन्द्रराज शर्मासंग हार बेहोरेका थिए ।

२०६२ माघमा राजाको प्रत्यक्ष शासनको बेला भएको नगरपालिका निर्वाचनमा काँग्रेस लगायतका दलतहरुले निर्वाचन बहिस्कार गरे पनि उनी स्वतन्त्र उम्मेदवार बनेर ३ महिना मेयर पद सम्हालेका थिए । २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापनापछि उक्त निर्वाचन अवैद्य घोषणा भएको थियो ।

शाही शासनमा सहभागी भन्दै झण्डै डेढ बर्ष भूमिका बिहीन भएपनि पार्टी केन्द्रले आममाफी गरेपछि काँग्रेसको राजनीतिमा पुनः जोडिएका थिए । राजाको शासनकाल स्वीकारेको गल्तीको मार २०७२ मा भएको नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा जिल्ला सभापति पदमा उम्मेदवार हुँदा कृष्णकुमार बीसीसंग उनले हारेका थिए ।

त्यसबेलाको हारलाई रेग्मीप्रति सहानुभुती राख्नेहरुले ‘पीडित नेता’ को उपमा दिएका थिए । कानून संकायमा प्रवीणता अध्ययन गरेका रेग्मी आमा बालकुमारी र बुबा पुण्यप्रसाद रेग्मीको कान्छो सुपुत्रको रुपमा २०२१ जेठ ५ गते जन्मेका हुन् । उनका श्रीमति, १ छोरा र २ छोरी  छन् ।

प्रतिक्रिया