कांग्रेसकाे १४ औं महाधिवेशन : प्रचार ब्यानर सार्वजनिक

कांग्रेसकाे १४ औं महाधिवेशन : प्रचार ब्यानर सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ । प्रचार ब्यानर सार्वजनिकसँगै महाधिवेशन पुर्वको एक हप्ते प्रचार अभियान प्रारम्भ भएको केन्द्रीय प्रचार प्रसार समितिले जनाएको छ।

ब्यानरमा नेपालको नक्साभित्र दुई युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको, चुनाव चिह्न रुख तथा बिपी कोइरालालगायतका अग्रज नेतृत्वको तस्बिर अङ्कित छ । सो प्रचार ब्यानरको छोटो भिडियो भने दुई दिनपछि सार्वजनिक गरिने कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए। कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ।

कांग्रेसमा भावी नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ। जिल्ला अधिवेशनदेखि नै संस्थापन शेरबहादुर देउवा र संस्थापन इतर पक्षले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन्। ६१ जिल्लाको अधिवेशन सम्पन्न हुँदा संस्थापन पक्ष बलियो देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि सशक्त रूपमा आएको छ। १६ जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने निर्णय कांग्रेसले गरेको छ।

पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल (देउवा र इतरसमूह) बीच जिल्ला नेतृत्वमै कडा प्रतिस्पर्धा भएको छ। केही जिल्लामा तेस्रो धारका कृष्ण सिटौला पक्षले पनि नेतृत्व हात पारेको छ। कतिपय जिल्लामा देउवा र सिटौला पक्ष मिलेर पौडेल समूहसँग प्रतिस्पर्धा गरेका छन्। देउवा पक्षले ३२ वटा जिल्लामा सभापति जितेको छ भने देउवा र इतर पक्षले २७ जिल्लामा नेतृत्व लिएको छ। दुई जिल्लाका सभापतिमा सिटौला पक्षले जित निकालेको छ। महाधिवेशन प्रतिनिधिमा पनि देउवा र इतर पक्षबीच कडा प्रतिस्पर्धा भएका छन्।

प्रतिक्रिया