नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौँ : नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको बी.१.१.५२९ भेरिएन्टलाई २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले ‘भेरिएन्ट अफ कन्सर्न’ भन्दै ओमिक्रोन नामाकरण गरेको थियो । अहिलेसम्म दक्षिण एसियाका भारत र श्रीलंकासहित विश्वका ३९ देशमा कोरोनाको यो भेरिएन्ट फैलिइसकेको छ । भारतमा पनि २१ जनामा यो भेरिएन्ट पुष्टि भइसकेको छ ।

३० पटकभन्दा बढी उत्परिवर्तित भएको भनिएको ओमिक्रोन भेरिएन्ट कति संक्रामक छ र खोप कति प्रभावकारी छ भन्नेबारे भने प्रस्ट भइसकेको छैन । ओमिक्रोन भेरिएन्टले कोरोनाको अर्को लहर निम्तिन सक्ने भन्दै विश्वका अधिकांश देशले अफ्रिकी देशहरूबाट हुने यात्रामा रोक लगाएका छन् ।

प्रतिक्रिया