कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका मतदान सुरु

          |   प्रकाशित मितिः सोमवार, मंसिर २७, २०७८     ::: 140 पटक पढिएको   |  

काठमाडौँ : कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।

मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।

राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् । प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डको प्रांगणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका सार्थक हुनेमा आशावादी छन् ।



Leave a comment

Your email address will not be published.


*