दोस्रो चरणको निर्वाचन : प्रकाशमानको समर्थन देउवालाई

दोस्रो चरणको निर्वाचन : प्रकाशमानको समर्थन देउवालाई

काठमाडौँ : पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटाएपछि साथ खोज्दै हिँडेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशमान सिंहको साथ पाउने भएका छन् । उनीहरुबीच केहीबेर अघि मात्रै चाक्सीबारीमा भएको भेटघाटमा देउवालाई समर्थन गर्ने सहमति भएको हो । भेटपछि सिंहले पत्रकारहरूसँगको कुराकानीमा देउवालाई आफ्नो समर्थन रहने बताएका हुन् ।

देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएकोले आफूले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको उनले बताए । समर्थनबारे जानकारी दिँदै उनले भने, ‘देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यस पटक मलाई हेल्प गर्नुस् भन्नुभएको छ । विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।’

महाधिवेशन प्रतिनिधिको मतलाई अगाडि बढाउने र पार्टीमा परिवर्तन गर्नुपर्ने कुरामा देउवा सहमत भएकाले आफूले समर्थन गरेको सिंहको भनाइ छ । यसअघि उम्मेदवारी घोषणा गर्दै सिंहले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको आलोचना गरेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाएका थिए ।

सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए । महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमध्ये ७६ मत बदर भएको थियो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ । कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया