कांग्रेसको कमान्ड देउवाकै काँधमा

कांग्रेसको कमान्ड देउवाकै काँधमा

काठमाडौं : कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। राजधानीमा जारी १४औं महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदानबाट सभापतिको टुंगो नलागेपछि दोस्रो चरणमा देउवाले दोस्रो पटक जितेका हुन्। कांग्रेस इतिहासमा कोइराला परिवारभन्दा बाहिरबाट सभापतिमा दोहोरिने देउवा पहिलो नेता हुन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार पाँचौं पटक प्रधानमन्त्री रहेका देउवाले २ हजार ७ सय ३३ (५९.२२ प्रतिशत) मत प्राप्त गरेका छन्। सभापतिका अर्का प्रत्यासी डा. शेखरप्रसाद कोइरालाले १ हजार ८ सय ५५ (४०.७७ प्रतिशत) मत प्राप्त गरेका छन्। ४ हजार ६ सय २३ मत खसेकामा ३५ वटा बदर भएको समितिले जनाएको छ।

पहिलो चरणको मतदानमा देउवाले २ हजार २ सय ५८ मत पाएका थिए। त्यसपछि डा. कोइरालाले १ हजार ७ सय २, प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याणकुमार गुरुङले २२ मत पाएका थिए। पहिलो चरणमा जित्न उम्मेदवारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपथ्र्यो। त्यसरी मत नल्याएको अवस्थामा सबैभन्दा बढी मत ल्याउने दुई प्रत्यासीबीच पुन: मतदान गराउनुपर्ने व्यवस्थाअनुसार दोस्रो चरणमा निर्वाचन भएको हो।

बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला कांग्रेसको राजनीतिमा पहिलो पुस्ता मानिन्छन्। दोस्रो पुस्ताका रूपमा कांग्रेसभित्र थुप्रै नेता जन्मिए। तर, शेरबहादुर देउवा मात्र जहिल्यै ‘शेर’ बनिरहेका छन्।

समकालीन नेताहरू राजनीतिबाटै अलग भइसकेका बेला देउवाले १३औं महाधिवेशनबाट कोइराला परिवारको विरासत अन्त्य गरे। पार्टीको नेतृत्व खोसेर आफ्नो हातमा लिए। त्यसलाई जोगाउँदै १४औं महाधिवेशनबाट पुन: चार वर्षका लागि सभापति निर्वाचित भएका छन्। संयोग नै मान्नुपर्छ, १३ औं महाधिवेशनमा झैं यसपटक पनि पहिलो चरणबाट नभई दोस्रो चरणको निर्वाचनबाटै देउवा सभापति बनेका हुन्।

कसैलाई नहोच्याउने र सबैलाई सम्मान गरी अघि बढ्ने स्वभाव र शैलीकै कारण दोस्रो पुस्तामा देउवा मात्र सरकार र पार्टीको कार्यकारी पदमा पुग्न सफल भएको कांग्रेस नेताहरू बताउँछन्। ‘उहाँसँग राजनीतिमा सबैलाई एकीकरण गरेर लैजान सक्ने क्षमता छ’, देउवालाई नजिकबाट चिन्ने नेता रमेश लेखक भन्छन्, ‘कुन साथीभाइलाई कुन स्थानमा मिलाएर सबैलाई समेटेर लैजान सकिन्छ त्यो ठाउँ उहाँले नयाँ बनाएरै भए पनि सबैलाई एक जुट हुने वातावरण मिलाउन सक्नुहुन्छ। यो नै उहाँले पाउने सफलताको मूल सूत्र हो।’ देशसँगै पार्टीलाई अघि बढाउँछु भन्ने एजेन्डा अघि सारेरै फेरि चुनाव जितेका देउवाका चुनौती भने बग्रेल्ती छन्।

देउवा झन् शक्तिशाली

शेरबहादुर देउवा १३औँ महाधिवेशनको भन्दा पनि शक्तिशाली बनेका छन् । अघिल्लो महाधिवेशनमा उनको साथमा नभएका ‘सिनियर’ नेताहरूसमेत यसपटक उनीसँगै उभिएका छन् । जसले उनलाई आगामी दिनमा पार्टी चलाउन सहज हुने देखिन्छ । १३औँ महाधिवेशनमा देउवाले सभापतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका थिए । निर्वाचन दोस्रो चरणमा गएपछि सिटौलाको समर्थन पाएर उनी सहजै निर्वाचित भएका थिए । त्यतिवेला पौडेलको प्यानलबाट उपसभापति लडेका प्रकाशमान सिंह पनि अहिले देउवाको पक्षमा उभिएका छन् ।

सभापतिको उम्मेदवार बनेका सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरे । त्यस्तै, अघिल्लो महाधिवेशनमा सँगै प्रतिस्पर्धा गरेका पौडेल यसपटक तटस्थ बस्दा देउवालाई सहयोग हुने वातावरण बन्यो । त्यति मात्रै होइन, परिवारकै सदस्य डा. शेखर कोइराला उम्मेदवार हुँदा पनि निवर्तमान महामन्त्री तथा बिपीपुत्र शशांक कोइरालासमेत तटस्थ बसे । यसले पनि देउवालाई बलियो बनायो । लामो समय देउवाकै गुटमा रहे पनि यसपटक उनीबाट टाढिएर सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधिसँगको सम्बन्ध पनि दोस्रो चरणको निर्वाचनले सुमधुर बनाइदियो र उनी पनि देउवाकै पक्षमा उभिए ।

प्रतिक्रिया