नेपालीपन : एउटा विविधता भित्रको एकता !

नेपालीपन : एउटा विविधता भित्रको एकता !

मेलमिलाप दिवस विशेष

महेन्द्र कुमार राना

बहुभाषिक, बहुसंस्कृति, बहुपहिचान भएको यो सानो तर सिङ्गो पुर्ण देश नेपालमा बिभिन्न जातजाति धर्म समुदाय सम्प्रदाय अनि प्रजातिका मानिसहरु नेपाली मनले बनेको एक शुत्रमा बाँधिएर बसेका छौ । यसरी धेरै भन्दा धेरै प्रकारका मानिसहरु एकै ठाँउमा मिलेर बसेको उदाहरण युक्त देश नेपाल हाम्रै हो । उदाहरणका लागि नेपाली क्यालेन्डरलाई एक पटक नियालेर हेर्दा एक वर्षमा कति प्रकारका चाडपर्वहरु, बिशेश अवसरहरु अनि दिवसहरु मनाई रहेका छौं ? नेपालीपन भनेको एउटा विविधता भित्र को एकता हो । यो एकता अनि सदासयता कायम गर्न हामी नेपालीहरुको एक अर्का प्रतिको सद्भाव शान्त चरित्र शालिन अभिव्यक्ति लगायत मेलमिलापको लामो ईतिहास अनि वर्तमान आकंक्षा अत्यन्त महत्वपूर्ण छ ।

आज यही मेलमिलाप अनि सदासयताको राष्ट्रिय दिवस हो । युग नेता विश्वेश्वरप्रसाद कोईरालालाई नेपाली कांग्रेस को राजनीति अनि एउटा पार्टीगत छविबाट मात्रै नहेरिकन स्वतन्त्र नेपाली वैचारिक योद्धाका रुपमा नियाल्ने हो भने मेलमिलापको राष्ट्रिय नीति उहाँको महत्वपूर्ण योगदानको रुपमा लिन सकिन्छ । उनिद्धारा स्थापित यस सद्भाबनात्मक विचारको कदर स्वरुप हरेक वर्ष आजैका मिति पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाइन्छ ।

ईतिहास पल्टाएर हेर्ने हो भने तत्कालीन राजतन्त्रात्मक शासन पद्धतिले मृत्युु दण्ड सुनाए पश्चात प्रवासमा रहेका बहुदलका पक्षधर अनि प्रजातन्त्रका सेनानी नेताहरु ३०३३ साल आजकै दिन मेलमिलापको अवधारणा लिएर स्वदेश फर्केका थिए । यस मेलमिलापको नीति अनुरुप सम्पुर्ण नेपाली राजनीतिक दलहरु र राज संस्था मिलेर नेपालीपनको रक्षा गर्नु पर्ने अवधारणा अगाडि सारेका थिए । आजको नेपाली राजनीतिक संस्कार देख्दा मेलमिलापको आज सम्मको ४१ वर्ष पुरानो नीति अझ सान्दर्भिकता तर्फ लम्केको होकि भन्ने आभास लागिरहेको छ ।

आज सम्पुर्ण राजनीति पार्टी, तिनका भगनी संगठनहरुले प्रजातान्त्रिक अभ्यासमा इतिहासको ती विशेष काल खण्डका महान जन नेताहरु विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई आदिका तस्बिरहरूमा माल्यार्पण गर्दै राष्ट्रिय मेलमिलापमा उहाँहरूको योगदानको चर्चा गर्दछौ ।
२०६२/०६३ पछि पहिचानको एउटा दौडनै शुरु भएको छ । यसर्थ पहिचानको यस दौडमा हामीले हाम्रो सामुदायिक, धार्मिक, भाषिक तथा भौगोलिक पहिचानको पैरबी त गर्याै तर नेपालीपनको सक्कल पहिचान कतै ओझेलमा परेको त होईन ? सोचनिय छ ।

राजनीतिक पार्टी, समुदाय, सभ्यता, धर्म अनि भाषा लगायतका कुराहरुमा मेलमिलाप र सदासयताको भावना नेपाली जनमनमा मिठास बनि घुलि रहोस् । एकताको विगुल फुकोस, सबै नेपाली एक हौं । बादल, चरा, नदि अनि बतासलाई कुनै सीमानाले छेक्न सक्दैन् । नेपालीपन त्यस्तै विशाल शक्ति हो जुन सदैव नेपाली हुनुमा गर्व गर्ने ताकत गर्दछ अनि यो भावना सर्वदा जिवित रहोस्, जिवन्त रहोस । तराईलाई दुख्दा हिमालले सहयोग गरोस्, पहाडका घाउहरुमा हिमाल र तराई मिलेर ओखती गरून् । नेपाल साच्चिकै पनि एउटा स्वर्गको टुक्रा हो । मेलमिलाप र एकताको भावनाले यो अनुपम स्वर्गलाइ अझ उज्यालो पार्ने शक्ति आजको दिनले प्रदान गर्नेछ, आजको दिनको सम्पुर्ण नेपालीमा शुभकामना ।

प्रतिक्रिया