ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखमा पुर्नःस्थापना

ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखमा पुर्नःस्थापना


झण्डै पाँच दशकपछि सुर्खेतबाट दैलेख ल्याईएको सुन्दरी तोप ।

दैलेख : जिल्ला सदरमुकामको पुरानोबजारस्थित कोतगढीमा परापूर्वकाल देखि नै ‘सुन्दरी र अर्गा’ नामका दुईवटा तोपहरु थिए । त्यसबेला बडादशै लगाएतका महत्वपूर्ण चार्डपर्वहरुमा तोपको बढाईपछि मात्र पुजाआजा तथा टिका थाप्ने चलन थियो । तत्कालिन समयबारे जानकार ७६ बर्षीय खगेन्द्र मल्ल भन्छन् ‘फूलपातीको दिन कोतगढीबाट स्थानीय टुँडिखेलमा ल्याएर तोपलाई दूल्लुतर्फ फर्काएर पड्काएपछि पुजाआजा सुरु हुन्थ्यो ।’ वि.स. २०२८ ताका भोकमरीले दैलेखलाई पनि प्रभावित पा¥यो । भोकमरी धान्न नसक्दा तत्कालिन समयमा जिल्लास्थित नेपाली सेनाको ज्वाला दल गणलाई दैलेखबाट सुर्खेत सारियो । सेनाको गणसँगै सुन्दरी र अर्गा तोप पनि सुर्खेत पुगे । त्यसयता झण्डै पाँच दशकसम्म तोपहरु गुमनाम रहे ।

संघीयतापछि राजनीतिक दल, नागरिक समाज लगाएत जिल्लाबासीले दैलेखसँग जोडिएको ऐतिहासिक तोपहरु फिर्ता हुनुपर्ने माग राखेपछि स्थानीय सरकारले खोजी सुरु भयो । नारायण नगरपालिका–१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ भन्छन् ‘हामीले नेपाली सेनासँग समन्वय गरेर तोपहरु खोज्ने क्रममा सुर्खेतस्थित राजदल गणमा सुन्दरी तोप फेला प¥यो ।’ नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको तोपहरुमध्ये सुन्दरी तोपलाई बुधवार दैलेख ल्याईएको छ । उक्त तोप झण्डै ५० बर्षपछि दैलेखमा पुर्नःस्थापना गरिएको हो । दैलेखको काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले जंगी अड्डाले सुर्खेत राजदल गणमा राखिएको सुन्दरी तोप दैलेख पुनःस्थापना गर्न स्वीकृत दिएपछि तोप दैलेख ल्याईएको बताए । उनका अनुसार सुन्दरी नामक तोप र ८१ थान गोला दैलेख ल्याईएको छ ।

उक्त तोप अहिले नेपाली सेनाको इन्द्रदल गुल्म काँडाचौरमा राखिएको छ । कोतगढीमा मर्मत तथा जीर्णोद्धारको काम सकिएपछि तोपलाई कोतगढीमा राखिने बताईएको छ । कोतगढी नेपाली सेनाको स्वामित्व छ । ऐतिहासिक कोतगढीमा तोप गोला राख्न आवश्यक पूर्वाधार निर्माण भइरहेको नारायण नगरपालिकाले जनाएको छ । विसं १८४६ सालमा बहादुर शाहको पालामा उक्त तोप बनेको इतिहास छ । सुन्दरी तोप पितलबाट बनेको हो ।

दुई वटा तोपहरु ‘सुन्दरी र अर्गा’ मध्ये अर्गा तोप अझै गुमनाम जस्तै छ । अर्गा तोप कहाँ छ भन्नेबारे अझै एकिन हुन नसकेको वडाध्यक्ष तिर्थनारायण श्रेष्ठले बताए । अर्गा तोप तामाबाट बनेको छ । तत्कालिन समयमा तोप भगवतीको मुर्ती समेत रहेको जानकारहरु बताउँछन् । ‘हामीले नेपाली सेनासँगको समन्वयमा सुन्दरी तोप दैलेख फिर्ता ल्याउन सफल भएका छौँ,’ वडाध्यक्ष श्रेष्ठले भने ‘अर्गा तोप र भगवतीको मुर्तीको पनि खोजी गरिरहेका छौँ ।’
तोप पुर्नस्थापनाले दैलेखको पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने अधिवक्ता खड्गबहादुर सिजापती बताउँछन् । ‘तोप जिल्लाको लागि अमूल्य सम्पत्ति हो, अहिले एउटा तोप ल्याईएको छ, त्यसलाई अलपत्र पारिनु हुँदैन्, सुरक्षित राख्नुपर्छ,’ उनले भने ‘अर्गा तोपको खोजी गरेर दैलेख ल्याउनुपर्छ ।’

प्रतिक्रिया