बयलकाँडा गढीमा पृथ्वीनारायणको सालिक अनावरण

बयलकाँडा गढीमा  पृथ्वीनारायणको सालिक अनावरण

तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

सुर्खेत : पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा सुर्खेतको पुरानो सदरकुमाम, बयलकाँडा गढीमा शाहको सालिक अनावरण गरिएको छ । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टर निमारे सुर्खेतका कमाण्ड सेनापति उपरथी प्रेम शाहीले शाहको सालिक अनावरण गरेका हुन् ।

नेपाल एकीकरणमा प्रयोग भएका देशभरका ऐतिहासिक गढी संरक्षण गर्दैआएको नेपाली सेनाले यसअघि गढी प्रवेशद्वारमा गेट निर्माण गरेर शाहको तस्बिर राखेको थियो । शाहको सालिक राखेर संस्कृति संरक्षण गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यअनुसार सालिक स्थापना गरिएको सेनापति उपरथी शाहीले बताए ।

नेपालको रक्षा गर्न र देशलाई एकताको सुत्रमा बाँध्न यस्ता गढीहरूले महत्वपूर्ण योगदान गरेकाले ऐतिहासिक धरहरा र सांस्कृतिक सम्पदाको संरक्षणमा सेना फरक मार्गबाट लागेको शाहीले उल्लेख गरे । हाल पश्चिम कमाण्डले नेपाल एकीकरणमा प्रयोग भएका ऐतिहासिक गढीहरूमध्ये डडेल्धुराको अमरगढी, दैलेखको कोतगढी, डडेलधुराकै पातलगढी र पातलकोटलाई संरक्षण गरेको जनाएको छ ।

गढी क्षेत्रमा पूरातत्व विभागले बाहेक अन्य निकायले उत्खनन र पुनर्निर्माण गर्न नमिल्ने भएकोले नयाँ सबुज गण कपासे ब्यारेकले सेनाले पहिलो चरणमा पाँच लाखको लागतमा स्वागतद्वार निर्माण गरेको थियो । उनका अनुसार रणनीतिक महत्व बोकेका देशभरका ऐतिहासिक गढी तथा किल्लाहरूको ‘राष्ट्रिय एकीकरण मार्ग’ अन्तर्गत गढीको संरक्षण गर्ने अभियानलाई पनि निरन्तरता दिएको कमाण्ड सेनापति उपरथी शाहीले उल्लेख गरे ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ गोठीकाँडामा रहेको बयालकाँडा गढी ५ कठ्ठा १३ धुर जग्गामा रहेको छ । गढीको संरक्षणबाट गोठीकाँडा क्षेत्रको ऐतिहासिक, पूरातात्विक र पर्यटकीय महत्व बढ्ने नेपाली सेनाको विश्वास छ ।

प्रतिक्रिया