नेपाली भूमीमा भारतले सडक बनाउँदा गठबन्धनले आँखामा पट्टी बाँधेको छ

नेपाली भूमीमा भारतले सडक बनाउँदा गठबन्धनले आँखामा पट्टी बाँधेको छ

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालले पाँच दलीय गठबन्धनलाई राष्ट्रको अस्मितामाथि खेलवाड गर्ने छुट नभएको बताएका छन्। रिजालले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले सडकलगायतका संरचना बनाउँदा पनि सरकार मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले भनेका छन्, ‘जनादेशबाट नभई परमादेशबाट आएको हुनाले जनताप्रति त्यति उत्तरदायित्व नभएपनि सरकारकै नाममा स्थापित भएकाले पाँच दलीय गठबन्धनलाई आफ्नो सत्ता स्वार्थका लागि राष्ट्रको अस्मितामाथि खेलवाड गर्ने छुट छैन।’

रिजालले केपी ओलीले नेपाली भूमि आफ्नो नक्सामा राख्दै संविधान संशोधन गर्दा भाउन्न भएपछि ‘कागजमा ल्याएर हुन्छ ? जमिन पो ल्याउनुपर्छ’ भन्नेहरु अहिले आँखामा पट्टी बाँधेर बसेको टिप्पणी गरेका छन्। ‘केपी ओलीले राष्ट्रिय सहमति कायम गरेर नेपाली भूमि आफ्नो नक्सामा राख्दै संविधान संशोधन गर्दा भाउन्न भएपछि ‘कागजमा ल्याएर हुन्छ ? जमिन पो ल्याउनुपर्छ’ भन्ने मित्रहरु अहिले सत्तामा भएको बेला भारतले खुलेआम सडक बनाइरहेको छ ।’ उनले भनेका छन्,‘तर, उहाँहरुले आँखामा पट्टी बाँध्नुभएको छ, मुखमा दही जमाउनुभएको छ ।’

मंगलबार नै प्रमुख प्रतिपक्षी दल एमालेले भारतीय पक्षबाट नेपाली भू–भागमा सडकसहितका संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ,’ एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले विज्ञप्ति जारी गरी भनेका छन्, ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भू–भागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ।’

प्रतिक्रिया