पेट्रोलको मूल्य इतिहासकै उच्च

पेट्रोलको मूल्य इतिहासकै उच्च

काठमाडौँ : पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३/३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोल १ सय ४२, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्यवृद्धिमा इतिहासकै सर्वाधिक हो ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सूचीअनुसार बढेको जनाउँदै निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । २०७० फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ पुगेको थियो । तर त्यसपछि मूल्य घटेर २०७३ साउनमा प्रतिलिटर ९७ रुपैयाँसम्म भएको थियो । मूल्यमा पुन: उतारचढाव हुँदै २०७६ चैतमा प्रतिलिटर ९६ रुपैयाँ पुगेको थियो । त्यसयता बढ्न थालेको मूल्य उपभोक्तालाई राहत हुने गरी घटेको छैन ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ वृद्धि गरिएको छ । मंगलबार मूल्य समायोजन गर्दा ग्यासको मूल्य १५ सय ७५ नै यथावत् राखिएको छ । तर, यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । आन्तरिक हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँ बढाएर एक सय १६ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सय डलरले बढाएर एक हजार ९५ डलर निर्धारण गरिएको छ ।

यसअघि ३० फागुन ०७० मा कायम पेट्रोलको मूल्य मंगलबारसम्म सबैभन्दा बढी थियो । त्यतिवेला एक सय ४० रुपैयाँ कायम गरिएको पेट्रोलको मूल्य आठ वर्षपछि तोडिएको हो । त्यतिवेला प्रतिलिटर एक सय नौ रुपैयाँ तोकिएको डिजेल र मट्टीतेल भने यसबीचमा पटक–पटक महँगिँदै आएको छ ।

३० फागुन ०७० मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलका भाउ प्रतिब्यारेल एक सय सात डलर आसपास थियो । तर, डलरको विनिमय दर भने अहिलेको तुलनामा धेरै कम थियो । जसकारण कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य धेरै भए पनि डलरको सटही दर कम भई नेपालमा मूल्यवृद्धिको ठूलो असर परेको थिएन । निगमले बिस्तारै मूल्य घटाउँदै गरेको थियो ।
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढेका कारण नेपाली बजारमा मूल्य समायोजन गर्नुपरेको निगमको तर्क छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढेर सोमबार ९१.२१ डलर प्रतिबिन्दुसम्म पुग्यो । मंगलबार साँझ भने ८८.६१ डलर प्रतिब्यारेलमा झरेको छ ।

चालू आर्थिक वर्षमा मात्रै निगमले मंगलबारसहित पाँचौँपटक मूल्य समायोजन गरेको हो । यसअघि ७ भदौ, १२ कात्तिक, २४ कात्तिक र ५ माघमा मूल्यवृद्धि गरेको थियो । यस अवधिमा पेट्रोल, डिजेल र मट्टीतेल समान १४ रुपैयाँ र आन्तरिक हवाई इन्धनको ३० रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि भइसकेको छ । बाह्य हवाई इन्धन प्रतिकिलोलिटर तीन सय २५ डलर र खाना पकाउने एलपी ग्यास एक सय २५ रुपैयाँ प्रतिसिलिन्डरले महँगिएको छ ।

प्रतिक्रिया