एमसीसी सभामुखले रोक्न मिल्दैन : कांग्रेस प्रवक्ता महत

एमसीसी सभामुखले रोक्न मिल्दैन : कांग्रेस प्रवक्ता महत

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसी र सरकारी विधेयकहरु सभामुखले रोक्न नमिल्ने बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको सानेपामा बिहीबार बसेको बैठकपछि प्रवक्ता महतले सभामुखले आफ्नो दायित्व निर्वा गर्नुपर्ने र सरकारले पठाएका विधेयकहरु रोक्न नमिल्ने बताएका हुन् ।

‘सभामुखको काम नै सरकारले पठाएका विधेयकहरु सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनुहुन्न, प्रवेश नै नगराएपछि के हो, के हो भन्ने अन्योल बढ्यो, त्यसले यसलाई धेरैले अन्योलमा राख्नुहुन्न, संसद्‌मा छलफल गराउनुपर्छ’, महतले भने ।

एमसीसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको महतले सुनाए । उनले भने ‘एमसीसीको बारेमा पनि छलफल भएको छ । अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ । संसद्‌मा एमसीसी लानुपर्छ भन्ने निष्कर्ष रहेको छ ।’

सत्ता गठबन्धनमा मतभेद कायम रहँदा एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेको छैन । बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसलाई सशक्त बनाउने, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको म्याद सकिएको र रिक्त रहेकोमा के गर्ने भन्नेमा छलफल भएको प्रवक्ता महतले बताए । उनका अनुसार बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी सकिएको छ ।

प्रतिक्रिया