संसदबाट एमसीसी पारित गर्ने कांग्रेसको निर्णय

संसदबाट एमसीसी पारित गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको छ। मंगलबार बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमसीसी संसदमा टेबल गरेर पारित गर्ने निर्णय गरेको हो। बैठकले एमसीसी सम्झौता संसद् बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र एमसीसीको सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले ओली सरकारको नेतृत्व रहँदा पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने धारणा राखेको स्मरण गराए। उनले भने, ‘संसद एमसीसी सदनमा प्रस्तुत गरेपछि एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा आउँछ भन्ने कुराको बैठकले विश्वास लिएको छ।’ उनले देउवा सरकारले नाफा घाटा जे भएपनि कर्तव्य पूरा गर्ने बताए। उनले भने, ‘सम्भवत: भोलिको संसद् बैठकमा एमसीसी पेस हुने प्रधानमन्त्री देउवाले विश्वास लिनुभएको छ।’ थापाले प्रधानमन्त्रीले सभामुखलाई एमसीसी टेबल गर्न भनिसकेको जानकारी दिए।

कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबारको संसद बैठकमा एमसीसी टेबल हुने बताए। उनले भने, ‘सम्भवत: भोलिको सदनमा एमसीसी पेस हुन्छ।’

बैठकमा पूर्व अर्थमन्त्री एवम् कांग्रेसका नेता डा. रामशरण महतले एमसीसी राष्ट्रहितमा रहेकाले अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए। महतले एमसीसी पारित हुँदा रोजगारी बढ्ने, आर्थिक गतिविधि र लगानी बढ्ने धारणा राखेका हुन्। महतले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर सम्बन्ध बिगार्न नहुने पनि दाबी गरे। उनले भने, ‘यो राष्ट्रको हितमा छ। राष्ट्रको हित विपरीत हामीले निर्णय गर्नु हुँदैन।’ एमसीसीले दिएको फागुन १६ गते भित्रै नेपालमा अनुमोदन गराउनुपर्ने उनको भनाई छ।

 

प्रतिक्रिया