आज ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस : ‘गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ’

आज ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस : ‘गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्छ’

 

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छिन् । उनले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट वास्तविक परिवर्तनको अनुभूति जनतालाई गराउनुपर्नेमा जोड दिएकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले सधैँ स्मरण गर्नुपर्दछ, प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्दछ, हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मान्दछ ।’ राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न कालखण्डमा भएका सङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिको संरक्षण र रक्षामा सबैले जोड दिनुपर्ने बताएका छन् ।

प्रजातन्त्रकै जगमा गणतन्त्र : देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको युगान्तकारी राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्न जरुरी रहेको बताएका छन् । प्रधानमन्त्रीले त्यसका लागि हामीले सबै लोकतान्त्रिक विधि, पद्धतिप्रति प्रतिबद्ध भएर अघि बढ्नुपर्ने खाँचो औल्याएका छन् । प्रजातन्त्र प्राप्तिको २००७ को राजनीतिक क्रान्तिले नेपालको इतिहासमा दूरगामी र ऐतिहासिक महत्त्व राख्ने क्रान्ति भएको बताउँदै प्रधानमन्त्रीले प्रजातन्त्रकै जगमा त्यसपछि विभिन्न क्रान्ति सम्पन्न भई लोकतन्त्र, गणतन्त्र र सङ्घीय शासन प्रणालीसम्मको यात्रा पूरा गरेको उल्लेख गरेका छन् ।

नेपाली काँग्रेसको अगुवाइमा तत्कालीन राजा त्रिभुवन, विभिन्न राजनीतिक दल र नेपाली जनताको संयुक्त प्रयासमा एकतन्त्रीय शासनको अन्त्य भई जनताको हक अधिकार, स्वतन्त्रता र विधिको शासन स्थापना गर्न २००७ सालमा आजकै दिन प्रजातन्त्रको घोषणा भएको थियो । आजको दिन जनतालाई रैतीबाट नागरिक बनाउन, उनीहरूको मौलिक हक अधिकार स्थापित गर्न र शासन व्यवस्थामा जनताको प्रतिनिधित्व सुनिश्चित गराउन सफलता प्राप्त भएको दिनका रूपमा इतिहासमा स्मरणीय छ । राज्यको सबै तह र संरचनामा आम नागरिकको जुन प्रकारको पहुँच स्थापित हुन सकेको छ, यो सबै २००७ सालको क्रान्तिको जगमा सम्भव भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘२००७ सालको राजनीतिक परिवर्तनकै जगमा आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना भएको हो, यसलाई अब हामी सबैले थप सबल र सुदृढ बनाउन आवश्यक भएको छ ।’ विभिन्न आन्दोलनबाट हामी आज स्वतन्त्र देशका सम्मानित र सार्वभौम नागरिक भएको बताउँदै प्रधानमन्त्री देउवाले राजनीतिक रूपमा मुलुकले ठूलो फड्को मारेको धारणा राखेका छन् ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवार निकायबाट लोकतान्त्रिक अभ्यासको व्यावहारिक पुष्टि भए मात्र जनस्तरमा यसप्रति गहिरो विश्वास पैदा हुने बताएका छन्, उनले सन्देशमा भनेका छन्, ‘लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व हामी सबैको हो, सात दशकयताका सबैखाले सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको साँचो अर्थमा कार्यान्वयनको चरणमा मुलुक रहेको छ ।’ प्रजातन्त्र दिवस शनिबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइँदैछ ।

प्रतिक्रिया