चिनियाँसहित ३७ जना पक्राउ

चिनियाँसहित ३७ जना पक्राउ

काठमाडौँ : गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना व्यक्तिहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरु ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) हरी बहादुर पालका अनुसार प्रहरीले उनीहरूमाथि अहिले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने र त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको पाइएको छ । साथै अन्य गैरकानुनी काम गरेको पनि प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिक अनलाइन जुवा खेलाउने र धम्क्याउने गिरोहका मुख्य नाइके हुन् । अन्य ३६ जना नेपालीहरू भने तिनै चिनियाँको निर्देशनमा काम गर्ने गरेको पाइएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको एआईजी पालले बताए । २ वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए । उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ‘डिपोर्ट’ गरेको थियो ।

साथै अभद्र व्यवहारको कसुरमा समेत दोषी देखाई ती नागरिकलाई जरीवाना तिराएको थियो । गएराति पक्राउ परेका ३७ चिनियाँ नागरिकको हकमा कुन कसुर लगाउने भन्ने सम्बन्धमा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा निर्क्यौल हुने एआईजी पालले जानकारी दिए ।

प्रतिक्रिया