यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिन्न : प्रचण्ड

यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिन्न : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर फर्किएका छन्। बिहीबार बिहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार गएको प्रचण्ड सचिवालयले पुष्टि गरेको हो । संसद् बैठक बस्नु अगाडि कांग्रेसबाहेकका सत्ता गठबन्धनका तीन दलको बैठक बसेर छलफल गरेपश्चात प्रचण्ड बालुवाटार गएका हुन्।

भेटमा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने बताए। उनले भने, ‘एमसीसी संसद्मा टेबल भइहाल्यो। अब अनुमोदन गर्न हतार नगरौं।’

गठबन्धनभित्र कांग्रेस जसरी पनि अमेरिकी अनुदान सहायता सम्झौता अनुमोदन गरी अघि बढ्ने पक्षमा छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तत्काल सम्झौता अनुमोदनको पक्षमा देखिएका छैनन्। प्रमुख प्रतिपक्ष दल एमालेले सत्ता गठबन्धनको स्पष्ट धारणा नआइ आफ्नो धारणा सार्वजनिक नगर्ने भन्दै पछिल्लो समय तठस्थ देखिएको छ। नेताहरुको द्वैध चरित्रले एमसीसीबारे जनतामाझ पनि अन्योल रहेको छ।

फागुन १६ को समयसीमा भएको एमसीसी पारित गर्न सरकारले सबै विकल्पमा छलफल गरेर त्यस अगावै पारित गर्ने तयारी गरेको छ। कांग्रेस एमसीसीको पक्षमा दृढ भएर उभिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई दिएका छन्। एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि प्रधानमन्त्री देउवा क्रुद्ध छन्। यसले गठबन्धन पनि बचाउने र एमसीसी पनि विफल बनाउने दाहाल–नेपाल रणनीति पूरा हुने सम्भावना न्यून हुँदै गएको छ।

कांग्रेसले गठबन्धन दलका नेताले विपक्षीमा भोट हाले गठबन्धन टुट्ने बताउँदै आएका छन्। तर बिहीबार बिहान पनि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेतृत्वले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने प्रयास भए आफूहरु त्यसको विपक्षमा उभिने समान धारणा बनाएका छन् ।

२०७४ भदौ २९ मा भएको अनुदान सहायता सम्झौतापत्र’ पारित गर्न २०७८ फागुन ८ गतेको संसद् बैठकमा  एमसीसी सम्झौता सम्बन्धि प्रस्ताव टेबल भएको थियो। प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

प्रतिक्रिया